३० आश्विन २०८३, शुक्रबार

शान्ति बाल उद्यान ‘लागुऔषध दुर्व्यसनीको अखडास्थल’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shanti-Bal-Uddhyan-Jhapa-540x280

यज्ञराज आङदेम्बे

दमक, २९ साउन । झापाको दमक–१५ स्थित निर्माणाधीन शान्ति बाल उद्यानको योजना अलपत्र बन्न पुगेको छ ।

स्थानीय बासिन्दाको करोडौँ मूल्य पर्ने जग्गामा थालिएको बाल उद्यानको काम ६ वर्षदेखि अलपत्र बन्न पुगेको हो ।

वडा नम्बर १४ र १५ का दाताले व्यवस्थित बाल उद्यान बनाउन एक बिघा १२ कट्ठा पाँच धुर जग्गा नगरपालिकालाई उपलब्ध गराएका थिए । तर नगरपालिकाले बाल उद्यान बनाउन चासो नदिएका कारण बाल उद्यानको काम लथालिङ्ग बनेको स्थानीयको गुनासो छ । अहिले उद्यान परिसरमा बनेका संरचना भत्किएर जीर्ण अवस्थामा रहेका छन् ।

उद्यान निर्माणको कामलाई तीव्ररूपमा अघि बढाउनुपर्नेमा दुई वर्षअघिदेखि नगरपालिका र बाल उद्यानबीच उत्पन्न विवादले पूरै समिति निष्क्रिय रहेको थियो । नगरपालिकाले उद्यान निर्माण समितिलाई बेरुजु देखाएपछि समितिले काम अघि बढाउन सकेको थिएन । नगरपालिकाले बेवास्ता गरेपछि राजनीतिक दल र सरोकारवालाले निर्माणमा ध्यान नदिँदा उद्यानको अवस्था नाजुक बन्न पुगेको हो ।

नगरपालिकाले बुधबार यहाँ आयोजना गरेको सर्वपक्षीय भेलामा जग्गादाताले नगरपालिकाबाट नियमित बजेट उपलब्ध गराएर व्यवस्थित उद्यान बनाउने काममा प्राथमिकता नदिँदा निर्माणाधीन काम अलपत्र बन्न पुगेको आरोप लगाएका छन् । सहभागीहरूले उद्यान बेवास्ताका कारण ती क्षेत्रका संरचना काम नलाग्ने अवस्थामा पुगेको गुनासो गर्दै निर्माणमा जोड दिन आग्रह गरेका छन् ।

तत्कालीन नगरपालिका र जग्गादाताबीच उद्यान निर्माणमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जग्गादाताका सदस्य मीना श्रेष्ठले भने, ‘नगरपालिका उद्यानका लागि काम नगर्दा योजना अलपत्र बनेको हो ।’

नगरपालिका कार्यकारी अधिकृत नुरहरि खतिवडाले सबैको सहयोगबिना बाल उद्यान बनाउन नसकिने भन्दै बाल उद्यानमा थप रकम जुटाएर काम अघि बढाउन पहल गरिने बताए ।

बाल उद्यान समितिका अध्यक्ष लक्ष्मी बरालले बाल उद्यानमा हालसम्म ३६ लाख ३३ हजार खर्च भइसकेको जानकारी दिए ।

उनले भने, ‘जनताले दिएका जग्गामा नगरपालिकाले थालेको योजना तुहिएको छ, यसमा सम्बद्ध पक्षको ध्यान जानुपर्छ ।’

तत्कालीन दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश प्रसाईंले उद्यान निर्माण कामलाई तदारुकता दिनका लागि नगरपालिकाले अगुवाइ गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस नगर सभापति ढुण्डीराज भण्डारी, एमाले नगर अध्यक्ष अम्बिका खनाल, एकीकृत माओवादीका नेता गगन पुरी, सङ्घीय लिम्बुवान् पार्टी नेपालका रुपक दाहाल, तिलक डाँगीलगायतले विकासका कामका एकमत भएर अघि बढ्नुपर्ने बताए ।

उद्यानमा योजना कस्तो थियो ?

पूर्वको प्रसिद्ध पर्यटकीय बनाउन दूरगामी योजना थियो । उद्यानलाई आकर्षण बनाउन बालबच्चाका लागि बोटिङ, स्विमिङ कम्प्लेक्सका दूरगामी योजना अगाडि सारिएको थियो ।

नगरपालिकाले सो योजनाको काममा सक्रियता जनाउने विश्वास दिलाएपछि ती क्षेत्रका बासिन्दाले उद्यानको नाममा जग्गादान गरेका थिए । नगरपालिकामा सो योजनाको स्टिमेट भए पनि त्यसअनुसार काम हुन सकेको थिएन ।

उद्यानका अध्यक्ष लक्ष्मी बराल उद्यानमा गुरुयोजना बनाइए पनि त्यसैअनुसार काम नभएको गुनासो गरे । उद्यानमा स्थानीय खरखरे खोलालाई आवश्यक तटबन्धन गरी ती क्षेत्रमा बाह्रैमासे आन्तरिक पर्यटक तान्न बोटिङ सञ्चालन गर्नेजस्ता योजना थिए । तर अहिले ती उद्यानमा दुईवटा टिनका घर र एक निर्माणाधीन पक्की हल सञ्चालन नै नआई लथालिङ्ग बन्न पुगेको छ ।

उद्यानको कामका लागि अघिल्ला वर्ष जिल्ला विकास समितिमार्फत छुट्टाएको २० लाख समेत काम नै हुन नपाई फ्रिज हुन पुगेको थियो । नगरपालिका तथा जिविसले यसपटकको बजेटमा उद्यानको काममा कुनै बजेट छुट्याएको छैन ।

उद्यान ‘लागुऔषध दुर्व्यसनीको अखडास्थल’ बन्दै

निर्माणाधीन अवस्थामा नै अलपत्र बनेको सो उद्यान लागुऔषध दुव्र्यसनको अखडास्थल बन्दै गएको छ । ती क्षेत्रमा लागुऔषधका प्रयोगकर्ता सुरक्षित रोजाइ भएको भन्दै उद्यानमा अखडा बनाउन थालेका स्थानीयको भनाइ छ ।

कतिपय तन्नेरी केटाकेटीको डेटिङस्थलसमेत बनेको बताइएको छ । ती उद्यानका घरभित्र चुरोट, रक्सी, सिरिन्ज तथा कण्डमका खोल प्रशस्त भेटिने गरेको स्थानीयवासीले बताए ।

दमक चौकदेखि झन्डै तीन किलोमिटर दक्षिणमा अवस्थित सो उद्यानको तीनवटा संरचनामा लागुऔषध तथा तन्नेरीले उपयोग गर्दै आएको स्थानीय राजु श्रेष्ठले बताए । ‘घरबाट देखिन्छ, हूलका हूल केटाकेटी उद्यानमा विकृति गर्न पस्छन्,’ उद्यानका जग्गादातासमेत रहेका श्रेष्ठले भने ।

उद्यान खुल्ला भएका र यसका केही भाग खोलासँग जोडिएका कारण पनि विकृति चाहनेको क्रिडास्थल बन्दै गएको हो । श्रेष्ठले उद्यानमा यस्ता विकृति नियन्त्रण गर्न कतिपय अवस्थामा प्रहरी बोलाएर धपाउनुपर्नेसमेत अवस्था आएको बताए ।

उनले भने, ‘हामीलाई टेर्दैनन्, टुलुटुलु हेर्नुपर्ने अवस्था आउँछ ।’ आधा दशकअघि नै बनाएका ती उद्यानका घरको ढोका, झ्याल नहुँदा तथा रेखदेख गर्न सम्बन्धित पक्षले चासो नदिँदा उद्यान विकृति गर्नेहरूको क्रिडास्थल बनेको स्थानीयवासीको गुनासो छ । रासस