सुनसरी, २९ साउन । पूर्वी पहाडी जिल्लाहरुमा भएको लगातारको बर्षाका कारण बिहीवार बिहान सप्तकोसीमा पानीको बहाव २ लाख ६५ हजार १ सय ९६ प्रतिसेकन्ड क्युसेक पुगेको छ।
पानीको बहाव २ लाख नाँघेपछि ३७ ढोका खोलिएका छन्। कोशी ब्यारेजको पूर्व–पश्चिम दुवैतर्फ खतरा सूचक रातो झन्डा गाडिएको छ।
यो भन्दा अघि सप्तकोशी नदीमा पानीको बहाव २ लाख ३० हजारसम्म पुगेको थियो । सामान्यतया सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार नाघेपछि खतरा मानिन्छ ।
कोशीमा ९ लाख क्युसेक प्रतिसेकेन्ड पानी धान्ने क्षमता भए पनि नेपालतर्फ पर्ने ब्यारेजको माथिल्लो भागमा बालुवा जमेका कारण थोरै पानीमै पनि खतरा हुने गरेको छ।
२०६५ भदौ २ गते १ लाख ६८ प्रतिसेकेन्ड क्युसेक हुँदा पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएर कोशीले सुनसरीका चार गाविसको मानव बस्ती ध्वस्त पारेको थियो।
नदीको बहाव बढेसँगै सुनसरीको बराहक्षेत्र, महेन्द्रनगर, प्रकासपुर, मधुवन, पश्चिमकुसाहा, हरिपुर, श्रीपुर लौकही गाविसमा कटान शुरु गरेको हो ।
भारतले ३७ वटा मात्र ढोका खोल्दा नदीको पानी पूर्ण रुपमा जान नपाएर नेपाल तर्फको भू–भाग कटान शुरु गरेको स्थानीय प्रशासनले जनाएको छ ।
उता, भारतले पनि विहार राज्यको विरपुर ग्राम पञ्चायतमा बाढिले जुनसुकै बेला पनि घर बगाएर ठुलो धनजनको क्षति पु¥याउन सक्ने भन्दै सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरेको छ ।
















प्रतिक्रिया