काठमाडौं, २८ साउन । बैंकर रविना देशराज श्रेष्ठले अन्तर्राष्ट्रिय अवार्ड जित्नुभएको छ ।
मेगा बैंक नेपाल लिमिटेडकी नायब महाप्रबन्धक समेत रहेकी श्रेष्ठले मलेसियाबाट प्रदान गरिने एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ जित्नुभएको हो ।
अवार्ड आउने भदौ २१ गते मलेसियाको राजधानी क्वालाम्पुरस्थित दि प्यालेस अफ गोल्डेन हर्सेसमा भव्य समारोहकाबीच प्रदान गरिनेछ । एसियाका एक उत्कृष्ट महिलालाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए । देशको आर्थिक विकास, मानवीयता तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई छनौट गरिएको फेडेरेशनले जनाएको छ ।
अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताउनुभयो । ‘बैंकिङ क्षेत्र, अझ त्यसमा पनि ग्रामीण बैंकिङमा निरन्तर दुई दशकसम्म मैले पुराएको योगदानको कदरका रुपमा मैले यसलाई लिएको छु,’ खुसी हुँदै श्रेष्ठले भन्नुभयो, ‘यो म जस्ता संघर्षशील सबै नेपाली महिलाको जित हो ।’ अवार्ड लिन परिवारको साथ मलेसिया जाने उहाँले बताउनुभयो ।
श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर मानिनुहुन्छ । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गर्नुभएकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसक्नुभएको छ । यसअघि पनि उहाँले बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाइसक्नुभएको छ ।
नेपाली महिलाले यो अवार्ड पाएको पहिलो हो । इप्लानेट प्रालिका सन्तोष सापकोटाको आधिकारिक पहलमा नेपालको तर्फबाट श्रेष्ठको नाम मनोनयनका लागि पठाइएको थियो ।
‘रविनाजीको यो सफलताले हामीलाई अझ बढी हौसला प्रदान गर्दै दायित्व बोध गराएको छ, महिलाहरुको स्वपहिचान तथा अवसरको सिर्जना गर्न यो कार्यक्रमले महत्वपूर्ण योगदान दिँदै आएको छ । आगामी दिनमा अन्तर्राष्ट्रिय जगतमा अझ बढी शसक्त उपस्थिति जनाउनेछौं ।’ सापकोटाले भन्नुभयो ।
सन् २०११ मा स्थापित एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले विभिन्न देशका महिलामध्येबाट उत्कृष्ट महिलालाई छानेर हरेक बर्ष यो अवार्ड प्रदान गर्ने गर्छ । मलेसियामा मुख्यालय रहेको एइइएफका संस्थापक प्रोफेसर डाटो सेरी पादुका र डा. रोविन तान हुन् । संस्थामा मलेसियाबाहेक चीन, हङकङ र ताइवानका व्यक्तिहरु आबद्ध छन् ।
















प्रतिक्रिया