
किरण भट्टराई
सिन्धुपाल्चोक, २८ साउन । सिन्धुपाल्चोकको सुनकोसीमा गत साउन १७ गते आएको पहिरोका पीडितलाई राहतको ओइरो आउने क्रमको तीव्रतासँगै पीडित परिवारले पर्याप्तमात्रामा राहत सामग्री पाउन थालेका छन् ।
राहतका रुपमा आएको खाद्यान्न पर्याप्तमात्रामा रहेकाले अब राहतका रुपमा दैनिक उपभोग्य सामानभन्दा पीडित परिवारलाई पुर्नवासको लागि आवश्यक सामग्रीको आवश्यकता प्रमुख हुन गएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली भन्नुहुन्छ, “विभिन्न संघसंस्था र व्यक्तिले पीडित परिवारलाई आवश्यक दैनिक उपभोग्य सामग्री पर्याप्तमात्रामा दिनुभएको छ, अब तत्काललाई दैनिक उपभोग्यवस्तुको कुनै कमी छैन । ”
उहाँले अब दैनिक उपभोग्य सामग्रीभन्दा पीडितलाई स्थायी पुर्नवासको व्यवस्था गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो ।
पुर्नवासका लागि अध्ययन गर्न कार्यदल गठन गरिसकिएको र कार्यदललाई १५ दिनभित्र आवश्यक विवरण पेस गर्ने कार्यतालिका दिइएको उहाँको भनाइ थियो ।
सुरुका दिनमा प्रशासनले दुई लाख बराबरको दैनिक उपभोग्य सामग्री खरिद गरेर पीडित परिवारलाई राहत वितरण गरे पनि त्यसयता करिब १५० सङ्घ संस्थाले खाद्यान्न, लत्ताकपडालगायत सामग्री सहयोग गरेकाले अहिले पर्याप्तमात्रामा ती सामग्री पीडित परिवारले पाइरहेको उहाँले जानकारी दिनुभयो ।
सुनकोसी पहिरो पीडित राहतकोष २०७१ को नाममा नेपाल बैंक लिमिटेडको चल्ती खाता नं ०५७०००६४०५०१ मा रकम जम्मा गर्न सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनु भयो ।
हालसम्म विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले रु ३५ लाख नगद सहयोग गरिसकेका छन् ।
पीडित कृष्ण लामा पनि आफूहरुलाई राहत सामग्री पर्याप्तमात्रामा रहेको भन्दै अब स्थायी बसोवासको व्यवस्था गरिनुपर्ने माग गर्नुहुन्छ ।
उहाँले आफूहरु अब पहिरो गएका क्षेत्रमा गएर फेरी बस्ने अवस्था नभएकाले उपयुक्त ठाउँमा बसोवासको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
राहत सामग्री वितरण केन्द्रमा वास्तविक पीडितसँगै नक्कली पीडितहरुको पनि भीड लाग्ने गरेको छ ।
वास्तविक पीडितभन्दा नक्कली पीडितहरु ठूलो स्वरमा कराउँदै राहत नपाएको गुनासो गर्ने गरेका छन्, सञ्चारमाध्यम देख्ने बित्तिकै उनीहरु कराउँदै सञ्चारमाध्यमको ध्यान आफूतिर केन्द्रित गर्न खोजेको देखिन्छ ।
पहिरोमा मृत्यु हुनेकोे सङ्ख्या १५६ भए पनि हालसम्म जम्मा ३३ शवमात्रै प्राप्त भएको छ, त्यस्तै विस्थापित सङ्ख्या ४७८, किरीया खर्च बुझ्नेको सङ्ख्या १४३ रहेको छ । पीडितहरुलाई क, ख र ग वर्गमा वर्गीकरण गरिएको,घर भत्केका र परिवारको ज्यान गुमाएकाहरुलाई ‘क’ र घर भत्केकाहरुलाई ‘ख’ र जोखिममा रहेका घरपरिवारलाई ‘ग’ वर्गमा वर्गीकरण गरी राहत वितरण गरिएको जिल्ला विकास समिति,सिन्धुपाल्चोकका सूचना अधिकृत राजेन्द्र प्याकुरेलले बताउनुभयो । रासस















प्रतिक्रिया