२९ आश्विन २०८३, बिहिबार

सरकारी अस्पतालमा गभर्वती हुँदा न्यायो झोला उपहार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

birth-sisu

बागलुङ, २८ साउन । सुत्केरी अवस्थामा आमा र नवजात शिशुको सुरक्षाका लागि न्यानो झोला उपहार दिन थालिएको छ ।

सरकारी सूचीकृत स्वास्थ्य संस्थामा प्रसूति हुन आउनेलाई आमा र नवजात शिशुको स्याहार सुसारमा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले नै न्यानो झोला उपहार दिने कार्यक्रम ल्याएको हो ।

उपहारस्वरुप दिइने न्यानो झोलामा आमालाई एक जोर लुगा, बच्चालाई टोपी, मोजा, र्‍यापर र नेम्फिन दुई–दुई जोरको व्यवस्था गरिएको हुन्छ ।

स्वास्थ्य संस्थामा प्रसूति हुँदा प्रोत्साहन रकमसँगै न्यानो झोला उपहार पाइने भएपछि स्वास्थ्य संस्थामै प्रसूति हुन आउनेको सङ्ख्या बढेको छ ।

सरकारी मान्यता प्राप्त प्रसूति केन्द्रमा प्रसूति हुने महिलालाई न्यानो झोला उपहार दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले जानकारी दिनुभयो।

यो कार्यक्रमले एकातिर स्वास्थ्य सुरक्षा प्रदान गर्ने र अर्कातिर जनचेतना अभिवृद्धि गर्न पनि सघाउ पुर्‍याएको स्वास्थ्य कार्यालयको विश्वास छ । ‘नेपालमा मातृ तथा नवजात शिशु मृत्युदर कम गर्न यस्तो कार्यक्रम ल्याएको हो,’ श्रेष्ठले भन्नुभयो,’ ‘अघिल्लो आर्थिक वर्षदेखि सुरु भएको यस कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको छ, प्रसूति केन्द्रमा आएर सुत्केरी हुने आमालाई थप प्रोत्साहन मिलेको छ ।’

जिल्लामा अहिले धवलागिरि अञ्चल अस्पतालसँगै ग्रामीण भेगका तीनवटा प्राथमिक स्वास्थ्य केन्द्रलगायत गरी कुल ३० वटा सुरक्षित प्रसूति केन्द्र सञ्चालनमा रहेका छन् ।

सबै केन्द्रमा दक्ष र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रसूति सेवालाई ग्रामीण भेगसम्म विस्तार गर्ने योजनाअनुसार थप केही गाविसमा केही समयदेखि प्रसूति सेवा सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालयले दुर्गममा प्रसूति केन्द्र सञ्चालनका लागि पूर्वाधारदेखि आवश्यक बजेट तथा कार्यक्रमका लागि तयारी गरिरहेको जनाएको छ ।