२९ आश्विन २०८३, बिहिबार

एमालेमा अपशब्द प्रयोग गर्न रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jn Khanal & KP Oliकाठमाडौं, २८ साउन । एमालेले केन्द्रीय कमिटी बैठकमा अमर्यादित र अपशब्द प्रयोग गर्न रोक लगाउने आचारसंहिता तयार पारेको छ। केन्द्रीय कमिटीको मंगलबारको बैठकमा वितरित बैठक सञ्‍चालन आचारसंहितामा अपशब्द प्रयोग गर्न नपाइने उल्लेख छ।

नवौं महाधिवेशनबाट एक सय ५९ सदस्यीय केन्द्रीय कमिटी गठन भएको सन्दर्भमा बैठक व्यवस्थित तथा सार्थक रूपमा सञ्चालन गर्न एमालेले कार्यविधि र आचारसंहिता बनाउन लागेको हो। महासचिव ईश्वर पोखरेलले बैठकमा प्रस्तुत गरेको आचारसंहिताको मस्यौदामा उल्लेख छ, ‘प्रत्येक व्यक्तिले पार्टीको मर्यादा र अनुशासन कायम राख्नुपर्नेछ, अमर्यादित र अपशब्द प्रयोग गर्न पाइनेछैन।’

आचारसंहितामा कुनै वर्ग, जाति/समुदाय, लिंग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा र गरिमामा आँच पुग्ने गरी कुनै अभिव्यक्ति र व्यवहार गर्न नपाइने पनि उल्लेख छ। छलफलमा सहभागी व्यक्तिले शिष्ट र मर्यादित भाषामा आफ्ना धारणा बैठकमा राख्‍नुपर्नेछ। आचारसंहितामा कोही पनि सभ्य नागरिकले कुनै पनि बैठक, भेला वा व्यवहारमा गर्न नहुने कार्य गर्न रोक लगाउने उल्लेख रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

‘बैठकमा अरूले बोलिरहेको समयमा अध्यक्षको अनुमतिबिना बीच/बीचमा बोल्न र टिप्पणी गर्न पाइनेछैन र आफ्नो पालोमा कुरा राख्नुपर्नेछ’, आचारसंहितामा उल्लेख छ, ‘बैठकमा भएको छलफल र बहसलाई सार्वजनिक रूपमा कसैप्रति टिप्पणी गर्न र पूर्वाग्रही व्यवहार गर्न पाइनेछैन।’

लोकतन्त्र, राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्‍भावमा आँच पुग्ने किसिमले कुनै अभिव्यक्ति दिन र व्यवहार गर्न नपाइने पनि मस्यौदामा व्यवस्था छ। पार्टीका राजनीतिक वैचारिक धारणा तथा अन्य कुनै विषयमा चलाइने छलफल र बहस मर्यादित तथा पार्टी एकतामा आँच नपुस्याउने हुनुपर्ने पनि उल्लेख छ।

आचारसंहितामा महाधिवेशनमा निर्वाचनका सन्दर्भमा भएको समूह आबद्धताका आधारमा कसैप्रति व्यवहार गर्न नपाइने पनि उल्लेख छ। यो मस्यौदाले विगत केन्द्रीय कमिटीको बैठकमा केकस्ता विषयमा कसरी छलफल हुने रहेछ भन्ने अनुमान गर्न सकिने एक नवनिर्वाचित केन्द्रीय सदस्यले बताए।