काठमाडौं, २८ साउन । प्रेमिका भन्दै अपहरण शैलीमा एक युवतीलाई काभ्रेको दोलालघाट लान खोज्ने तीन युवक प्रहरी फन्दामा परेका छन् ।
उनीहरुले मंगलबार ज्ञानेश्वरबाट धादिङ्गकी सुशिला लामालाई ट्याक्सीमा राखेर जबर्जस्ती लान खोज्दा अनामनगर हनुमानथानमा स्थानीयको सहयोगमा प्रहरीले समातेको हो ।
काभ्रे मदनकुडारीका सुमन लामाले साथीहरुको सहयोगमा त्यस्तो प्रयास गरेका हुन् । सुमनले सुशिला आफ्नी प्रेमिका भएको दाबी गरेका छन् भने, सुशिलाले सुमनसंग सामन्य चिनजानबाहेक अरु केही नभएको बताएकी छन् । सुशिलाले प्रेममा धोका दिएपछि सुमनले अप्हरण गरेको दाबी गरेका छन् ।
महानगरीय प्रहरी वृत सिहदरवारका डिएसपी होविन्द्र बोगटीका अनुसार अपहरित युवतीलाई ट्याक्सीमा राखेर काभ्रेतर्फ लैजादै गर्दा हनुमानथानमा पक्राउ गरेको हो । ‘बा १ ज २२६२ नम्बरको ट्याक्सीमा राखेर उनीहरु (अपहरणकारी)ले दोलालघाट लग्ने योजना बनाएका रहेछन्, युवती कराएपछि सर्वसाधारणले उद्धार गरेका हुनु उनले भने । चालक लालजंग लामालाई समेत पक्राउ गरेको उनले बताए ।
‘चालकलाई ३२ सय रुपैयाँ दिने सहमति भएको रहेछ, चालकपनि शंकाको घेरामा छ, अनुसन्धान छानवीन गर्दैछौ,’ उनले भने । डिएसपी वोगटीले अपहरणकारीले डिल्लीबजारको भित्रीबाटो हुंदै अनामनगरको मोडमा पुर्याएको बताए ।
युवतीले उद्धारका लागि चिच्याएपछि सर्वसाधारणले अपहरणकारीलाई नियन्त्रणमा लिइ कुटपीटसमेत गरेका छन् । सर्वसाधारणको कुटाईबाट सुमन निकै घाइते भएका छन् । उनको मोडल अस्पतालमा उपचार भइरहेको छ ।
अन्य तीन अपहरणकारी ज्ञान लामा, हरि विश्वकर्मा र चालक लालजंगलाई अनामनगर वृतमा राखिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । सुमनले अपहरणमा सहयोगका लागि हरिलाई सर्लाहीबाट काठमाडौं वोलाएका थिए ।
त्यसपछि उनीहरुले सुशिला अपहरणको योजना बनाएको प्रहरी समक्ष उनीहरुले बनाए दिएका छन् । सुशिला सुमनको प्रेमीका भएको र उसले एकतर्फी प्रेम गर्दै आएकोसमेत अपहरणकारीले बनाएको दिएको डिएसपी वोगटीले बताए ।
‘प्रेमीका होला नहोला अलग विषय हो, शैली ठिक भएन, जर्वजस्ती त गर्न पाइदैन,’ उनले भने, ‘योजनावद्ध ढंगले अपहरण गरेका रहेछन्, युवती चिच्याएपछि सर्वसाधारणले थाहा पाए ।’ ज्ञानेश्वरबाट हनुमानथानसम्म पुर्याउँदा युवतीको मुख थुनेर घोप्टो पारेर राखेकोसमेत उनले बताए ।
चालकले अचानक ब्रेक लगाएपछि युवती चिच्याएको भन्दै उनले त्यसपछि चालकले पनि अगाडि बढ्न नमानेको बताए । ‘हनुमानथानमा प्रहरी पनि थिए, सर्वसाधारणको बाक्लो उपस्थिति युवतीलाई अलि सहरा मिलेजस्तो छ, अनि कराईन,’ उनले भने ।
सुमनको अवस्थामा सुधार आएपछि उनीसंग बयान लिई कारवाही प्रक्रिया अघि बढाइने उनले बताए । अपहरणकारीलाई शरीर बन्धक तथा अपहरण मुद्दा चलाइने उनले बताए ।















प्रतिक्रिया