२९ आश्विन २०८३, बिहिबार

खासा जोड्ने बाटोका ५ विकल्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi-13काठमाडौं, २८ साउन । सरकारले सिन्धुपाल्चोक माङ्खाको जुरेमा साउन १७ मा पहिरो गएपछि अवरूद्ध काठमाडौं-तातोपानी सडक खण्ड कहिलेदेखि सुचारू हुने अझै अन्योल छ ।

तर भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले भने त्यसलाई मध्यनजर गरेर ५ वटा वैकल्पिक सडक बाटो प्रयोगमा ल्याउन सकिने जनाएको छ । तर सरकारले देखाएको पाँचै वैकल्पिक सडक बाटोहरू कुनै लामो छन् त कतै धेरै नै खन्नु पर्ने खालको छ ।

कुनै कहिलेसम्म खुलाउन सकिन्छ यकिन छैन । त्यसमा पनि चार पाङ्गे्र गाडीमा मात्र यात्रा गर्न सकिने अवस्था छ ।

पहिरोले ७ सय मिटर सडक बगाएको छ भने एक किलो मिटर सडक डुबानमा छ । पहिरोले गर्दा सुनकोशी थुनिएपछि पोखरी बनेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘हामी थुनिएको पानी सकिएलगतै ३ दिन भित्रमै सडक पूर्ण रूपमा ठिक पार्छौ,’ भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका सचिव तुलसी सिटौलाले भने, ‘तर पानी कहिले सकिन्छ भन्नेमै यकिन छैन ।’

सडक अवरूद्ध हुँदा हजारौं सर्वसाधारणले दुःख पाएका छन् । यसको असर नेपालको तातोपानी भन्सार नाकासम्म परेको छ । भौतिक मन्त्रालयका ५ विकल्पमध्ये पहिलो तथा लामोसडक खण्ड लामोसाँघु-सिलढुंगा हुदै तौथलीबाट सुनकोशी झोलुङ्गे पुलसम्म पुग्नेछ ।

लामोसाँघु-सिलढुंगा १८ किलो मिटर पक्की सडक छ भने बाँकी २८ किलो मिटर सडक खण्ड कच्ची छ । सुनकोशी पुलबाट बाह्रबिसेसम्म पुग्न ४ किलो मिटर यात्रा गर्नु पर्ने हुन्छ ।

दोस्रो वैकल्पिक बाटो भने पुरै कच्ची छ । सुनकोशी ड्याम तरेर तौथली हुँदै सुनकोशी पुलमा पुग्न सकिन्छ । यो बाटो ३४ किलोमिटरको छ । यो बाटोमा गाडी गुड्न निकै कठिन छ ।

तेस्रो वैकल्पिक बाटो पहिरोको ठिक माथिबाट गई बाह्रबिसे निस्किन्छ । यो ३० किलो मिटरको छ । ‘त्यो स्थानीयहरूले खनेको बाटो हो । जुन निकै ठाडो र भिरालो छ,’ सचिव सिटौलाले भने, ‘यो प्रयोग गर्न निकै कठिन हुन्छ ।’

चौथो विकल्पको रूपमा १५ किलो मिटर बाटो छ । यो नदीको पूर्व भागबाट गएर सुनकोशी नदीको पुलमा पुग्छ । तर ३ किलो मिटर पुरै खन्नुपर्ने अवस्था छ । पाँचौ विकल्पको रूपमा पहिरोबाटै सञ्चालन गरिने सचिव सिटौलाले बताए । ‘तर यो तत्कालै संभव देखिन्न,’ उनले भने ।