
काठमाडौं, २७ साउन । डेढ वर्ष अगाडि दिनेश अधिकारी ‘चरी’ खुश्वु ओलीलाई भाउजु भन्थे। किनकी चरीका साथी अर्पण कोइरालाले खुश्वु ओलीलाई आफ्नी श्रीमतीका रुपमा चिनाएका थिए। अर्पण खुश्वुकै घरमा घरज्वाईजस्तै गरी विगत ५ वर्षदेखि लिभिङ टुगेदरका रुपमा बस्दै आएका थिए। गाँजा खाने, क्यासिनो जाने र मोजमस्तीमा पैसा उडाउने अर्पणले परिवारको सम्पत्ति खुश्वु र मोजमस्तीमा सिध्यासकेका थिए। अर्पणले लण्डन हुँदा नै मासिक १७ सय डलर तिरेर महंगो फ्ल्याटमा खुश्वुलाई राखेका थिए। नेपाल फर्किएपछि पनि त्यही रुपमा खुश्वुका लागि खर्च गर्न थालेपछि उनी बिग्रिदै गएका थिए।
चरीको संगतले अर्पण क्यासिनो पनि जाने गर्दथे। दरबारमार्गको अन्नपूर्ण कफि सप उनको अखडा हुन्थ्यो। नयाँ-नयाँ युवतीलाई लिएर चरी र अर्पण त्यहाँबाट घुम्न निस्कने गर्दथे। खासमा चरीले नै उनका लागि नयाँ–नयाँ युवतीसँग परिचय गरिदिने गर्दथे। अर्पणलाई अर्की युवतीसँग भुल्याएर खुश्वुसँग आफू एक्लै भेट्न उनले त्यो जुक्ति अपनाएका थिए। अर्पण अरु युवतीहरूसँग रमाउदै गर्दा चरी र खुश्वु नजिक हुँदै गए। चरीले खुश्बुलाई आफूतिर आकर्षित गर्न जे भन्यो त्यही किनिदिन थालेपछि खुश्वुले अर्पणसँग झगडा गर्न थालिन्। झगडाको क्रममा उनीहरू छुट्टिए, चरी खुश्वुको प्रिय बने। खुश्वुका लागि किनिदिएको गाडी तथा बिशालनगरमा अनाथालय खोल्नका लागि किनिदिएको जग्गा सबै खुश्वुका नाममा थिए। त्यसपछि अर्पण बिक्षिप्त भए। खुश्वु र मोजमस्तीमा परिवारको सम्पत्ति सबै सिध्याएपछि उनी लागूऔषधको लतमा फसे। अर्पण सकिँदा खुश्वुका दिन सुरु भए। चरी उनको लागि जे गर्न पनि तयार भए। एमालेको राजनीतिमा लागेर सुध्रने प्रयासमा लागेका उनी खुश्वुसँग लागेपछि राजनीतिबाट फेरी अपराधको दुनियाँमा फर्किए। पैसा र खुश्वु, त्यतिमात्र उनको दुनियाँ हुनथाल्यो। निकटस्थका अनुसार खुश्वुुसँग नजिकिएपछि पैसाका लागि उनी जे पनि गर्न थाले।
पछिल्लो सयम ठुला व्यापारीलाई उनले धम्काउन थालेका थिए। जसको उजुरी माथिल्लो तहसम्म पुगिसकेको थियो। आफूलाई सहयोग नगर्ने नेता र प्रहरीलाई समेत धम्काउन थालेपछि उनी प्रहरीको तारो बनेका थिए। जसरी पनि पक्राउ गर्न, भाग्न खोजे इन्काउन्टर गर्न निर्देशन आएपछि झन्डै एक महिना लामो प्रयासपछि गत साउन २१ गते उनको इन्काउन्टर भयो।
यो प्रकरणलाई खुश्वुले आफूसँगको प्रेमको परिणाम भएको बताउने गरेकी छिन्। तर, चरीका सहयोगीहरू खुश्वुले चरीलाई थप अपराधी बनाएको र त्यही कारण उनको इन्कान्टर भएको बताउँछन्। चरी उनको जीवनमा आएसँगै बढेको उनको आर्थिक हैसियतले पनि त्यो कुराको पुष्टि हुन्छ। खुश्वु कुनै काम गर्दिनन्। उनका बुबा श्याम ओली नेपाल प्रहरीका भगौडा असई हुन्। उनले नेपाल बिद्युत् प्राधिकरणमा पाँचौ तहमा स्थायी हुन नसकेपछि जागिर छाडेका थिए।
३/४ वर्ष अघिसम्म उनीहरूको कीर्तिपुरमा सानो घर थियो। अर्पणसँगै बस्न थालेपछि महाराजगंजको चुनदेवीमा उनीहरूले घर किनेका थिए। अर्पणकै सहयोगमा घर र गाडि किनिएको स्रोत बताउँछ। जब खुश्वुको जीवनमा चरी आए त्यसपछि उनीहरू धापाखेलस्थित डेढ करोड पर्ने सिभिल होममा बस्न थाले। प्रहरीले अस्वभाविक देखिएको स्रोतको छानबिन थालिसकेको छ। वान्टेड भएपनि चरीले मोबाइलमा नेपाली नम्बर प्रयोग गर्न छाडिसकेका थिए। बेलायतको नम्बरबाट भाइबर चलाउने गर्दथे। जसबाट खुश्बु ओली र उनका एकदमै निकट व्यक्तिहरूलाई मात्र उनले सम्पर्क गर्दथे। त्यसकारण प्रहरीलाई छक्याउन उनी सफल भएका थिए।
तर, प्रहरीले चरीको कमजोरी अर्थात् खुश्वुलाई नै अनुसन्धानको आधार बनाएको थियो। खुश्वुका मोबाइल नम्बर तथा उनको घरमा प्रहरीले रेकी थालेको थियो। सोही आधारमा गत बुधबार धादिङ जाने क्रममा चरी मारिएका हुन्। ‘यदी खुश्वुको पछाडी चरी नलागेको भए यो घटना सायद हुदैन थियो,’ चरीका एक साथी भन्छन्,’खुश्वुसँग पागल भएपछि चरी बिग्रिए, असुली धन्दा चर्काएर खुश्वुलाई खुशी बनाउन लाखौँ पोसे, त्यसकै परिणाम उनको इन्काउन्टर भयो।’ स्रोतका अनुसार चरीले खुश्वुलाई ८० हजार रुपैयाँ पर्ने झोला नै गिफ्ट दिएका थिए। चरीसँग नजिकिएपछि उनी म्यूजिक भिडियोहरूमा पनि खेल्न छाडिसकेकी थिइन्, किनकी उनको लागि चरीले जति पनि खर्चको जोहो गरिदिन थालेका थिए।

त्यसो त केही महिनाअघिसम्म चरीलाई आफ्नो ब्याइफ्रेन्ड भन्न समेत खुश्वु रुचाउन्न थिइन्। उनीहरूको सम्बन्ध बारे दृष्टि साप्ताहिकले समाचार लेख्दा उनले दृष्टिविरुद्ध गाली बेइज्जती मुद्दा हालेकी थिइन्। उक्त मुद्दा दृष्टिको पक्षमा गत महिना फैसला भएको थियो। अहिले चरीको मृत्यु भइसकेपछि चर्चा कमाउन र घटनालाई अतिरंजित गर्न मात्र उनले आफ्नो प्रेमका लागि हत्या भएको भन्दै आरोप लगाएको प्रष्ट हुन्छ। चरीका एक साथी भन्छन्,’पैसाकै लागि खुश्वुले चरीसँग प्रेमको नाटक गरेकी थिइन्, साँच्चिकै माया गर्ने मान्छेले आफ्नो ब्यायफ्रेन्ड मारिदा सञ्चार माध्यममा हाँसीहाँसी अर्न्तवार्ता दिन सक्छ?’ यस घटनाले पनि खुश्बुको नियत के थियो भन्ने स्पष्ट हुन्छ। (दृष्टि साप्ताहिकबाट)
यो पनि पढ्नुहोस्:
अर्पण टाट पल्टिएपछि ‘चरी’सँग लागेकी थिइन् खुस्बु, ‘चरी’को अर्की पनि गर्लफ्रेण्ड













प्रतिक्रिया