काठमाडौं, २७ साउन । नेकपा (एमाले) को आजबाट सुरु भएको दोस्रो पूर्ण बैठकमा नवौँ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्तावसम्बन्धी कार्यदलको प्रतिवेदन टेबुल भएको छ ।
यही साउन २ गतेको पहिलो बैठकले महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधानलाई महाधिवेशनको निर्णयअनुरूप सम्पादन गरी केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रस्तुत गर्न दुई कार्यदल गठन भएका थिए ।
राजनीतिक प्रतिवेदन सम्पादन कार्यदलको संयोजक अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भने सङ्गठनात्मक प्रस्ताव र विधानका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।
एमालेका नेता प्रकाश ज्वालाका अनुसार राजनीतिक दस्तावेज अध्यक्ष ओली, सङ्गठनात्मक प्रतिवेदन महासविच पोखरेल र विधान संशोधनको प्रतिवेदन उपमहासचिव विष्णु पौडेलले टेबुल गर्नुभएको हो ।
बुधबारदेखि ती प्रस्तावमा छलफल हुनेछ । महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर ती प्रतिवेदन तयार गरिएका हुन् । तर विधानमा पार्टीका स्थायी कमिटी र पोलिटब्युरोमा उम्मेदवार हुन वरिष्ठतालाई आधार बनाउने कि सबैलाई योग्य मान्ने भन्नेमा विवाद देखिएको छ ।
केन्द्रीय सदस्य हिक्मत कार्कीले केन्द्रीय कमिटीमा निर्वाचिन भएपछि लोकतान्त्रिक मान्यताअनुसार सबैले पोलिटब्युरोमा उम्मेदवार बन्न पाउनुपर्ने तर्क आफूहरूको रहेको बताउनुभयो ।
बैठकले महाधिवेशनमा बराबर मत ल्याउने चार केन्द्रीय सदस्यका उम्मेदवारलाई मनोनितको कोटा कटौती हुने गरी निर्वाचित भएको घोषणा गरेको छ ।
केन्द्रीय निर्वाचन आयोगको पटकपटकको प्रयास गर्दा पनि गोला प्रथा गराउन नसकेपछि यस्तो निर्णय भएको हो । अब केन्द्रीय कमिटीमा बाँकी १४ जना मात्र मनोनित हुनेछन् ।
महाधिवेशनमा खुल्लातर्फको केन्द्रीय सदस्यमा खिमलाल भट्टराई र नागेन्द्र चौधरीले ९८६ र मुस्लिमतर्फको सदस्यमा मोहम्मद महफुज अन्सारी र सिराज अहमद फारुकीले ९६४ मत ल्याउनुभएको थियो । उहाँहरू चारै जनाले भोलिको बैठकमा सपथ गर्नुहुनेछ ।
मंगलबारको बैठकमा सपथ दिन बाँकी सदस्यहरु राधा ज्ञवाली, कर्णबहादुर थापा, विक्रम शाही र निरा जैरुले सपथ ग्रहण गर्नुभयो । केन्द्रीय सदस्य सूर्य थापाले मंगलबारको बैठकले महासचिव, उपमहासचिव र सचिवहरू रहेको आठ सदस्यीय सचिवालय गठन पनि गरेको जानकारी दिनुभयो ।
चालू बैठकका लागि महाधिवेशनको समीक्षा, महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन, केन्द्रीय कमिटीको बैठक सञ्चालन कार्यविधि तथा आचारसंहिता निर्माण, पोलिटब्युरो तथा स्थायी कमिटीको निर्वाचन, केन्द्रीय कमिटीका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादाक्रम निर्धारण, कार्य विभाजन, कार्ययोजना, राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा, सरकार, संविधानसभा तथा व्यवस्थापिका–संसदको कामलगायत कार्यसूची तय गरिएको छ । बैठक बुधबार दिउँसो १ बजे पुनः बस्नेछ ।
















प्रतिक्रिया