२८ आश्विन २०८३, बुधबार

लुकीलुकी दूतावास धाउने संस्कारले हामी कमजोर भयौँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vesh-bahadur-thapa

लामो समय राजदुतका रुपमा तपाईले भारतमा रहेर काम गर्नुभयो । त्यो सँगै तपाई अमेरिकालगायतका देशमा पनि राजदुतकै रुपमा रहेर कुटनीतिका क्षेत्रमा निक्कै लामो अनुभव बटुल्नु भएको छ । तपाईले भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमणलाई कसरी लिनु भएको छ ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा नेपालमा रहँदा जे–जस्ता खालका अभिव्यक्तिहरू आए अथवा उहाँ नेपाल भ्रमणमा आउनु अघि पनि जुन खालका धारणाहरू भारतीय र नेपाली सञ्चार माध्ययम मार्फत बाहिर आएका थिए । ती सबै अभिव्यक्तिमा भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा केही न केही परिवर्तन आउँछ भन्ने संकेत गरेको छ ।

त्यही क्रममा मोदीको दुई दिने नेपाल भ्रमण भयो । त्यो भ्रमणले नेपालप्रति केही आशा जगाएको छ । तर, नजिता कस्तो आउँने हो त्यो भने समयले बताउँदै जानेछ । नेपाल–भारतको सम्बन्ध निक्कै पुरानो हो । हामीले नेपाल–भारतसम्बन्ध केलाउँने हो भने नेहरूले लामो समय भारतमा प्रधानमन्त्री भएर विताएको कालसम्म फर्किनु पर्नेहुन्छ । त्योसँगै छोटो समय लालबाबु शास्त्रीले चलाएको प्रधानमन्त्री कालहुँदै आई के गुजरालसम्म अनि, अहिलेको मोदीकाल अघिसम्म हेर्ने हो भने पनि अहिलेसम्म उनीहरूको धारणाले नै प्राथमिकता पाउदैँ आएको छ । अर्थात भारतले आफुलाई नै सर्वेसर्वा ठान्दै आएको छ । १९५० को सन्धी होस वा बाणिजय सन्धीहरू नै किन नहुन्, ती सबैमा नेपाल थिचोमिचोमा पर्दै आएको यथार्थ हाम्रासामु छर्लङ्ग छ ।

त्यो बीचमा पनि त नेपाल–भारत सम्बन्धका बारेमा केही सुधारका प्रयासहरू त भएका थिए होलन नि ?

लालबाबु शास्त्रीका पालामा नेपाल–भारत सम्बन्धका बारेमा केही प्रयास भएको थियो । उहाँ तत्कालिन समयमा नेपाल भ्रमणमा रहेका बेला केही सुधारको संकेत गर्नुभएको थियो । उहाँ पनि त्यति बेला प्रधानमन्त्री बन्ने वित्तिक्कै नेपाल भ्रमणमा आउनु भएको थियो । भारतले नेपालप्रति हेर्ने धारणमा केही सुधार आउने संकेत त्यतिवेला गरिएको थियो । तर, त्यसले सार्थकता पाउन सकेन । त्यसपछि फेरि दुई देशबीच पुरानै धारणाको विकास भयो । नेपाल गुनासो गरिरहने भारत कानमा तेल हालेर बसिरहने प्रवृत्तिको पुनरावृत्ति भयो । गुजराल प्रधानमन्त्री हुँदा छिमेकीको सम्बन्धमा नयाँ आयम थप्ने घोषणा गर्नुभएको थियो । छिमेकीसँग समान व्यवहार गर्ने उहाँले उद्घोष पनि गर्नुभएको थियो । उहाँले भने जस्तै छिमेकीसँगको सम्बन्धमा केही सुधार पनि अवश्य भएको थियो ।
नयाँ बाणिज्यसन्धि र नयाँ पारवहन सन्धि पनि त्यही बेला भएको थियो । जलस्रोतका विषयमा पनि त्यतिबेला गम्भीररुपले कुराकानी अघि बढेको थियो ।
भारतमा सरकार परिवर्तनसँगै छिमेकको सम्बन्धमा पनि केही फेरवदल विगतदेखि नै देखिदैँ आएको छ भन्ने तपाईको भनाई हो ? अवश्य पनि, भारतमा गुजराल नेतृत्वको सरकारपछि स्थायी सरकार बन्न सकेन । पटक–पटक मिलिजुली सरकार बनाउनु पर्ने बाध्यताका कारण पनि भारतले छिमेकसँगको सम्बन्धमा साहसिक कदम चाल्न नसकेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । त्यसैकारण पनि नेपालको सम्बन्ध भारतसँग राजनीतिक उचाइमा पुग्न नसकेको हो भन्ने मेरो अनुमान छ ।
नेपाल–भारत सम्बन्धकाबीचको अर्को समस्या भनेको जहिले पनि भारतले नेपाल–भारतका विषयमा गरिने छलफलमा पर्दा पछाडिका मानिस र कुटनीतिका क्षेत्रका व्यक्तिलाई मात्र अघि सार्‍यो । तर, नेपालका राजनीतिक दल चाँही तिनीहरूका पछिपछि मात्र दगुर्न बाध्य भए । यही कारणले गर्दा दुईदेशबीच हुने सम्बन्धमा नसुहाउँदिलो खालको अवस्था देखा पर्‍यो । नेपालका राजनीतिक दलका नेता लुकीलुकी भारतीय राजदुतलाई भेट्न जाने परम्पराको विकास पनि त्यही कारणले भयो । आफ्नो मर्यादाक्रमलाई नेपालका नेताहरूले विर्सने कुराको विकास पनि त्यही कारण वृद्धि भयो । यो कुटनीतिका लागि र दुईदेशको सम्बन्धका लागि पनि नसुहाउने कुरा थियो । त्यस्ता कुराको अनुकरण संसद्मा पनि भयो । त्यसले नेपालको कुटनीति झन–झन कमजोर बन्दै गयो । त्यसको परिणाम स्वरुप हाम्रो राष्ट्रियता, स्वतन्त्रता र कुटनीतिमाथि अरुले चलखेल गर्ने अवसर प्राप्त गरे ।

भनेपछि नेताहरूको कमजोरीकै कारण नेपालको कुटनीति, राष्ट्रियता र स्वतन्त्रता कमजोर बन्दै आएको हो ?

हो, अहिले पनि कताकता नेताको कार्यशैली, राज्य संचालनको प्रक्रियामा कमजोरी जस्ता कुरा देखा परेका छन् । त्यति मात्र होइन यही कारण विदेशीको चलखेल बढ्ने अवसर पनि प्राप्त भएको छ । जसका कारण विदेशीहरू नेपालमा हावी भए ।

आफू प्रधानमन्त्रीमा विजयी हुनु भन्दा अघिदेखि नै छिमेकीसँगको सम्वन्धमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्दै आउनु भएका मोदीको नेपाल भ्रमण समग्रमा हेर्ने हो भने उपालव्धीपूर्ण रहेको देखिन्छ । सपथ ग्रहण कार्यक्रमदेखि नै छिमेकीसँगको सम्बन्धमा एक खालको नयाँ आयम ल्याउने संकेत उहाँले गर्नुभएको थियो । उहाँको नेपाल भ्रमण पनि त्यसकै एक प्रयास हो भन्ने मैले अनुमान गरेको छु । विगतमा छिमेकीसँग भएको मनमुटावलाई सुधार गर्न उहाँले देखाएको उत्साह र गरेको प्रयास सकारात्मक छ भन्ने मैले ठानेको छु ।

नेपालका राजनीतिक दलले हामी भारतको हस्तक्षेपबाट कहिल्यै मुक्त हुनसकिएन भनेर काकोहोलो मच्याई रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकै संसद्मा हामी छिमेकीलाई हस्तक्षप गर्ने पक्षमा छैनौँ भनेर गरेको सम्बोधनलाई चाँही के भन्ने नि ?

म व्यक्तिगत स्वतन्त्रलाई सबैभन्दा माथि ठान्ने व्यक्ति हुँ । त्यसैले म कुनै राजनीतिक दलसँग आवद्ध पनि छैन । त्यसकारण यो विषयमा तटस्थ भएर भन्ने हो भने अर्थात नेपालका राजनीतिक दलले के गरिदिएको भए हुन्थ्यो वा मोदीजीले के भनेको भए वा गरेको भए हुन्थ्यो भन्ने कुरामा मेरो आफ्नै खालको तर्क छ । मोदीले नेपालको संसदमा जे अभिव्यक्ति दिनु भयो त्यहाँ दिएका केही अभिव्यक्ति कुटनीतिक हिसावले भन्ने हो भने नभनेको भए उचित हुने थियो ।

नेपालको राजनीतिक मुद्धामा मोदीले जसरी नेपालको संसदमा बोल्नुभयो त्यो नवोलेको भए उचित हुने थियो । कुटनीतिमा उत्ताउलो र हिनता बोकेर हिड्ने दुबै कुरा स्वीकार हुँदैनन् । त्यो बाहेकका सन्र्दभमा कुरा गर्ने हो भने उहाँले नेपाल–भारत सम्बन्धका लागि अहिले नयाँ ढोका खोलिदिनु भएको छ । विदेश नीतिमा भारतले छिमेकलाई साथ दिन्छ भन्ने जुन खालको अभिव्यक्ति मोदीजीले दिएर जानुभयो, त्यो नेपाल–भारत सम्बन्धको नयाँ आयमका संभावनाका रुपमा हेर्नुपर्छ । यसलाई वार्ता र संवादका माध्ययमबाट समाधान गरेर अघि बढ्नुपर्छ । यो भयो भने हामी उद्देश्यमा पुग्न सक्छौँ ।

२००७ सालदेखि ०६२–०६३ सालसम्म भएका जुनसुकै परिवर्तन पनि भारतको अहम् भूमिका रहेको देखिन्छ । त्यस क्रममा भएका भएका सम्झौतामा पनि आ–आफ्नै स्वार्थलाई केन्द्रमा राखिएको पाइन्छ । त्यही स्वार्थका कारण भएका सम्झौताले नेपाललाई एउटा दुर्बल राज्यका रुपमा चिनिएको छ र त्यही क्रमले निरन्तरता पनि पाएको छ । आगामी दिनमा पनि नेपालका राजनीतिक दलहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सम्झौता गर्नुपर्ने आवश्यकता देखिन्छ । अहिले पनि हामीले हाम्रो सही पहिचान देखाउन सकेका छैनौ । विश्वले नै हामीलाई संक्रमणकालबाट बहिर निस्कन नसकेको मूलुकमा रुपमा हेरेको छ । संक्रमणमा परेको अरुको मुख ताकेर बसेको र आफु अघि बढ्ने गृहकार्यमा कहिल्यै नलागेको मुलुकमा रुपमा पनि विश्वले नेपाललाई चिन्नु पर्ने अवस्था छ । एक हिसावले भन्ने हो भने नेपाल दया, माया र स्नेहको पात्र बनेको छ । यसबाट माथि चढ्नका लागि अहिले नेपालका ठूला पार्टीले पार्टीभित्रको र बाहिरको कलहलाई अन्त्य गरेर अघि बढ्न आवश्यक छ । त्यति मात्र होइन नेपालले दरिलो प्रशासनयन्त्र निर्माण गर्ने गरी अघि बढ्नु पर्ने आवश्यकता छ ।

मोदीले संसदमा गौतम बुद्धको जन्म, नेपालको जलस्रोतलगायतका विषयमा मोदीले संसदमा दिएको अभिव्यक्तिलाई चाहिँ तपाईले कसरी लिनुभएको छ ?

नेपालीलाई विझेको कुराप्रति म सकारात्मक र गम्भीर छु भनेर उहाँले दिएको अभिव्यक्ति हो त्यो । त्योसँगै उनले नेपालप्रति देखाएको सद्भाव पनि हो । जसरी मोदीजीले संसदमा सुरुमा नेपालीमा सम्बोधन गर्नुभयो । त्यो पनि नेपालीप्रतिको सद्भाव नै हो । यो कुराको बोध राजनीतिक दलहरूमा हुन आवश्यक छ । यो कुराको बोध राजनीतिक दलमा भयो भने आगामी दिनमा नेपाल–भारत सम्बन्धको आयाम नयाँ ढंगले अघि बढ्नेमा दुईमत छैन ।