धुर्कोट (गुल्मी), २७ साउन । गुल्मीको हर्मिचौरमा एक व्यक्तिले ६० वर्षीया वृद्धाको बलात्कार पछि हत्या गरेका छन् ।
ठूलोलुम्पेक गाविस वडा नम्बर १ घर भई अर्बेनी– २ मा अस्थायी बसोवास गर्दै आएका ४० वर्षीय देवबहादुर थापाले हर्मिचौर गाविस वडा नम्बर ३, तल्लोपोखरा निवासी देउरुपा सापकोटाको बलात्कार पछि हत्या गरेका हुन् ।
गत साउन २२ गते बिहान वृद्धाको हत्या गरी फरार रहेका थापालाई स्थानीय बासिन्दा र प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । थापाले साउन २२ गते बिहान ती वृद्धालाई कोदालाको पासोले प्रहार गरी हत्या गरेको लम्सालले बताउनुभयो ।
उक्त दिन बिहान वृद्धाका श्रीमान् लक्ष्मीपति सापकोटा बेँसी गएको अवस्थामा बोल्न नसक्ने देउरुपालाई निजले सुरुमा घरमा आई चिया पकाउन लगाएको र पछि नाकको फुली खोस्दै बलात्कार गर्न खोज्दा उनी चिच्च्याएपछि निजले नजिकै रहेको कोदालोको पासोले टाउकोमा प्रहार गरी मारेको स्वीकार गरेका लम्सालले बताउनुभयो ।
मृतकको परिवार निकै गरिब भएकाले सदरमुकामसम्म आउने खर्चसमेत नभएपछि गाउँलेले सहयोग गरेको स्थानीय चतुर्भुज पाण्डेले बताउनुभयो । उहाँका अनुसार ७९ वर्षीया श्रीमान् लक्ष्मीपति गाउँमा मेलापात गर्ने र एक छोरा काठमाडौँमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
बाटोमा लडेर एकको ज्यान गयो
यता, गुल्मीको दिगाम गाविस– ६ का ५९ वर्षीय डुकबहादुर कामीको बाटोमा लडेर ज्यान गएको छ ।
सोमबार दिउँसो छोरीको घरमा गएका कामीको घर फर्कने क्रममा सोही गाविस–७ स्थित बाटोबाट करिब तीन मिटर तल खसेर ज्यान गएको ऋङ्गा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक घनश्याम ढकालले जानकारी दिनुभयो ।
उनी मदिरा सेवन गरी लडेको हुन सक्ने भन्दै प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल तम्घास पठाएको छ ।
















प्रतिक्रिया