२९ आश्विन २०८३, बिहिबार

अरनिको राजमार्गमा वैकल्पिक बाटो सुचारू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunkoshiसिन्धुपाल्चोक, २७ साउन । कान्ले पहिरो र सुनकोसी नदी थुनिएर ९ दिनदेखि अवरुद्ध चीन नाका जोड्ने अरनिको राजमार्ग सोमबारबाट वैकल्पिक बाटोले जोडिएको छ।

विकल्पका रूपमा हेरिएका तीन रुटमध्ये ३४ किमि लामो ड्याम–टेकानपुर–तौथली–पिस्कर–धुस्कुन ग्रामीण सडक सोमबारबाट सञ्चालनमा ल्याइएको हो।

पहिलो दिन पाँच–सातवटा साना गाडी खाद्यान्नलगायत अत्यावश्यक वस्तु र केही यात्रु बोकेर बाह्रबिसेनजिकको गाउँ सुनकोसी पुगेका छन्। वैकल्पिक मार्ग सञ्चालनसँगै सुनकोसी माथिल्लो तटीय क्षेत्रका १४ गाविसमा नौ दिनदेखिको नाकाबन्दी आंशिक टुटेको समाचार आजको नागरिक दैनिकले छापेको छ।

यो बाटो खुलेपछि बाह्रबिसेबाट सवारीसाधन परिवर्तन गरेर तातोपानीसम्मै पुग्न सकिन्छ भने त्यताबाट राजधानी र सदरमुकाम चौतारासम्म यातायात सम्पर्क जोडिएको छ। सञ्चार र बिजुलीको उज्यालोबाट भने गाउँ टाढै छन्।

‘वैकल्पिक बाटो आपतकालीन मार्ग हो। दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना हुन नदिनुका साथै बिरामी र अप्ठेरोमा परेका व्यक्तिलाई सहज रुपमा गन्तव्य पुर्याबउनु अहिलेको आवश्यकता हो,’ स्थानीय विकास अधिकारी युवराज कट्टेलले बताए।

घटनास्थलनजिक सुनकोसी जलविद्युत केन्द्रको ड्यामबाट दायाँ मोडिएपछि यो वैकल्पिक मार्गले बाह्रबिसे जोड्छ। ग्रामीण कच्ची सडक साँघुरो भएकाले ‘फोरह्विलु का ट्र्याक्स, जिप, ट्रक बलेरोजस्ता साधन मात्र चल्छन्।

सडक विभागका अधिकारी र स्थानीय विकास अधिकारीले शनिबार वैकल्पिक मार्गको स्थलगत अवलोकनपछि व्यवसायीसँगको सहकार्यमा यातायात साधन सञ्चालनमा ल्याइएको हो।

घटनालगत्तै डिभिजन सडक कार्यालय चरिकोट र जिविस सिन्धुपाल्चोकले यो ट्र्याक मर्मत गरेका थिए। वर्षामा कच्ची सडक अवरुद्ध हुन नदिन दुवै निकायका एक्स्काभेटर र डोजर त्यहाँ तयारी हालतमा राखिएका छन्। ‘व्यापारीले २ सय सिलिन्डर ग्यास राजधानीमा लोड गरी ल्याउँदैछन्। केही गाडी खाद्यान्न आउँदैछन्,’ इलाका प्रहरी कार्यालय, बाह्रबिसेका इन्स्पेक्टर जयश्वर रिमालले भने।