काठमाडौं, २६ साउन । नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले दिनेश अधिकारी ‘चरी’ हत्याको जिम्मेवारी प्रधानमन्त्री सुशील कोइरालाले लिनुपर्ने बताउनु भएको छ ।
राजधानीमा सोमवार रिपोर्टर्स क्लबले काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अधिवक्ता भट्टराईले ‘चरी’ हत्याकाण्डको छानविन गर्न न्यायिक जाँचबुझ एवं छानविन आयोग गठन गर्नुपर्ने पनि बताउनु भयो । भट्टराईले ‘चरी’को हत्या इन्काउन्टरबाट गरिएको नभई गैरन्यायिक हत्या भएको पनि दाबी गर्नुभयो ।
उहाँले गणतन्त्रमा नागरिकलाई नियन्त्रणमा लिएर हत्या गर्दा मानवअधिकार हनन भएको जिकिर गर्दे ज्यान मार्ने अभियोग लागेका व्यक्तिलाई मार्नुपर्ने कुनै कारण नभएको तर्क गर्नुभयो ।
अधिवक्ता भट्टराईले गृहमन्त्री वामदेव गौतमले प्रहरीद्वारा तयार पारिएको प्रतिवेदन संसदमा पढेर चरी हत्याबारे जनतालाई भ्रममा पारेको आरोपसमेत लगाउनुभयो । प्रहरीले व्यक्तिगत रिसइवीका कारण चरीको हत्या गरेको उहाँको आरोप थियो । ‘यदि चरी इन्काउन्टरमै मारिएको भए गृहमन्त्रीलाई फूलमाला लगाइदिन हामी मानवअधिकारवादी तयार छौँ,’ उहाँले भन्नु्भयो,’ ‘नत्र यो घटना न्यायिक जाँचवुझ ऐन ०५६ अनुसार तरुन्तै न्यायिक छानविन आयोग गठन गरेर छानविन गर्नुपर्छ ।’
चरीको हत्या प्रकरणबारे बोल्दै अनौपचारिक सेवा केन्द्र इन्सेकका अध्यक्ष सुवोध प्याकुरेलले चरी मारिएको घटनाको राष्ट्रिय मानवअधिकार अयोगले छानविन गर्नु पर्ने बताउनुभयो । प्याकुरेलले गैरकानुनी हत्या गर्न नेपाली सुरक्षाकर्मीहरु अगाडि रहेको भन्दै न्यायिक छानविन समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो ।
अधिकारकर्मी एवम अभिवक्ता दिनेश त्रिपाठीले प्रहरीले अदालतलाई विस्थापन गर्न नपाउने बताउँदै अधिकारी हत्याकाण्ड न्यायलयको उपहास भएको बताउनुभयो । उहाँले घटनाको प्रकृति हेर्दा आशंका गर्ने प्रशस्तै ठाउँ भएको भन्दै घटनाको निष्पक्ष छानविन गर्नु पर्ने माग गर्नुभयो ।
इन्काउन्टरमा कसैको पनि छातीमा गोली नलाग्ने दाबी गर्दै उहाँले गृहमन्त्रीले पुलिसको एजेण्टको रुपमा भूमिका निर्वाह गरेको दावी गर्नुभयो ।
















प्रतिक्रिया