२९ आश्विन २०८३, बिहिबार

दुई चेपाङ बालिका बलात्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balatkarगोरखा, २६ साउन । आँपचौरमा चेपाङ समुदायका दुई बालिका बलात्कृत भएको घटना दुई सातापछि मात्रै बाहिर आएको छ। पीडित पक्षलाई दुई सातासम्म प्रलोभन देखाएर गाउँमै मिलाउने अनेक प्रपञ्च रचिए पनि परिवारले नमानेपछि यो घटना प्रहरीसमक्ष पुगेको हो।

यही साउन ७ गते भुम्लिचोक-७ आँपचौरका सात वर्षीया र नौ वर्षीया चेपाङ बालिका बलात्कृत भएका थिए। आँपचौरकै सुदीप थापाले आफूहरूलाई बलात्कार गरेको बयान ती बालिकाले प्रहरीलाई दिएका छन्। प्रहरीकहाँ नजान गाउँलेले दबाब दिएका कारण पीडित पक्ष यतिका दिनसम्म चुपचाप बस्न बाध्य भएका हुन्।

पीडित पक्षका नौजना आफन्त शुक्रबार गाडी रिजर्भ गरेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएका थिए। पीडित बालिकाकी हजुरआमाले गाउँलेले अनेक कुरा सुनाएर अलमल्याइरहेका बेला विदेशमा रहेको छोराले फोन गरेर जसरी भए पनि प्रहरीकहाँ पुग्नु, गाउँमा नमिलाउनु भनेपछि उजुरी दिन आएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘गाउँको कुरा गाउँमै मिलाऔं, प्रहरीमा नजाऊ भने सबैले। गाउँको काण्ड बाहिर जाँदा अप्ठ्यारो पर्छ भनेर डर देखाए’, उनले भनिन्, ‘तर विदेशमा भएको छोराले जसरी पनि प्रहरीकहाँ जानू भनेपछि गाडी रिजर्भ गरेर आएका हौं।’

जिल्ला प्रहरी प्रमुख डीएसपी रमेश थापाले पीडित पक्षले दोषीलाई कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बताए। प्रहरीले पीडित बालिका तथा परिवारसँग प्रारम्भिक जानकारी लिएर अनुसन्धान अगाडि बढाएको छ।

‘हामी भात खाइराथेम् अनि उसले आइज काली आँप हल्लाउन जाम् भन्यो। हामीलाई जबरजस्ती गर्‍यो’, नौ वर्षीया पीडित बालिकाले प्रहरी कार्यालयमा रुँदै बयान दिइन्, ‘अनि बहिनीलाई पनि ओइ कान्छी आइज म तँलाई बिस्कुट किन्दिन्छु भनेर मटानमा लगेर जबर्जस्ती गर्‍यो।’

पीडित बालिका, उनीहरूकी हजुरआमा, जेठाबुवा तथा अन्य आफन्त न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय आइपुगेका हुन्। ‘घटनापछि बालिका दुई दिनसम्म हिँड्न सकेनन्। दुवै दिदीबहिनी घस्रेर हिँड्न थाले’, हजुरआमाले भनिन्, ‘के भएको छ भनेर सोधेको। ममीलाई भन्छ होला भनेर भन्दै भनेनन्। ल त ममीलाई नभन है भनेर सबै कुरा रुँदै भने।’ बालिकाहरूको गुप्तांग पाकेर अहिलेसम्म सकस भएको हजुरआमाले बताइन्। ‘अहिले पनि पिसाब पोल्छ भन्छन्’, उनले भनिन्, ‘हामीले हेरेको ठूलै घाउ छ।’

गाउँमा दुई दिनसम्म कचहरी गर्दा गाउँले सबैले त्यो केटाले माफी माग्नुपर्छ भन्दा पनि यसले अटेर गरेको हजुरआमाले बताइन्। ‘घरका ठूला मान्छे वनजंगलमा गएका बेला फेरिफेरि पनि यस्तै गर्छ भनेर प्रहरीमा आएको। गाउँलेले त नजा भनेर कराएको थियो’, उनले आक्रोशित हुँदै भनिन्, ‘हामी चेपाङ भएकाले हेपेको होला।’