२९ आश्विन २०८३, बिहिबार

पहिरो प्रभावित क्षेत्रमा अनिकालको डर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anikalबाह्रबिसे, २६ साउन । पहिरोले अवरुद्ध सडक दुई सातासम्म पनि सञ्चालनमा नआएपछि बाह्रबिसे र त्यसभन्दा माथिका क्षेत्रमा खाद्यान्‍न तथा दैनिक उपभोग्य सामग्री अभाव हुने डरले स्थानीय बासिन्दा आत्तिएका छन्।

घरमा रहेको अन्न तथा उपभोग्य सामग्री सकिँदै गएको र किन्न जान सडक वा अन्य वैकल्पिक मार्ग नभएका कारण अभाव निम्तिने चिन्ता बढेको हो।

दुई सातायता यस क्षेत्रका बासिन्दा नुनतेल तथा अन्य खाद्यान्न लिन अन्यत्र जान पाएका छैनन्। काठमाडौंबाट खाद्यान्न तथा अन्य राहत सामग्री लिएर आउने संस्था तथा समूह पनि खाँडीचौर आसपासका सुगम क्षेत्रमा मात्रै केन्द्रित देखिन्छन्।

पहिरो गएको मांखा र राम्चेको सीमास्थित जुरेबाट दक्षिणतर्फका १५ गाविसको मुख्य बजार बाह्रबिसे हो। बाह्रबिसेमा ढुवानीका साधन आउजाउ गर्न नसक्दा अभाव बढ्दै गएको व्यवसायी कवितमान श्रेष्ठले बताए। ‘बजारमा खाना पकाउने ग्यासलगायत इन्धनको अभाव भइसकेको छ’, उनले भने, ‘अन्य सामग्री पनि कम हुँदै गएका छन्।’

स्थानीय बासिन्दाका अनुसार अहिले एक सिलिन्डर ग्यासलाई दुई हजार तीन सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म तिर्नुपरेको छ। बजारमा ग्यास नपाएपछि उपभोक्ताले जति पनि तिर्न थालेका छन्।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका निरीक्षक जयश्वर रिमालले भने आपूर्ति नभएकाले बजारमा अभाव देखाउँदै बढी मूल्य लिन नदिन प्रहरीले नियमित बजार अनुगमन गरिरहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । उनका अनुसार बजारमा मूल्य बढी तिरे पनि उपभोक्ताले प्रहरीसँग भने कममा किनेको बताउने गरेका छन्। बजारमा ग्यास अभाव भए पनि अहिलेसम्म अन्य सामग्री भने मौज्दात रहेको उनले बताए।