काठमाडौं, २६ साउन । एमाओवादीले विवाद मिलाउन आन्तरिक रुपमा ‘द्वन्द्वविराम’ गरेको छ । संस्थापन र नेता बाबुराम भट्टराई पक्षबीच चर्किएको विवाद मिलाउन दुवै पक्षले आ-आफ्ना गतिविधि स्थगित गर्ने सहमति बनेको हो ।
संस्थापनले एकलौटी रुपमा चलाउदै आएका प्रशिक्षण रोक्ने र भट्टराई पक्षले समानान्तर समिति गठन बन्द गर्ने सहमति भएको छ ।
पार्टीभित्र विवाद चर्किदै जादा संविधान निर्माणलाई समेत असर पर्ने महसुस गर्दै दुबै पक्ष बिवाद मिलाउन लागेका हुन । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको दुई पक्षका नेताको आइबारको बैठकले हालका लागि पार्टीभित्र ‘द्वन्द्वविराम’ गरी मंगलबारको स्थायी समिति र वैचारिक व्यवस्थापन समितिको बैठकबाट विवाद कसरी हल गर्ने भन्ने विषयको अन्ति टुंगो लगाउने सहमति भएको छ ।
‘अब आ-आफ्ना ढंगले होइन, सामूहिक ढंगले काम गर्नुपर्छ भन्ने कुरा भयो,’ बैठकपछि उपाध्यक्ष पोष्टबहादुर बोगटीले भने, ‘छलफल सकरात्मक रुपमा अघि बढेको छ ।’
दाहाल र भट्टराईबीच विवाद समाधानका लागि तीन दिनदेखि निरन्तर छलफल भएको थियो । दुबै पक्षका नेताहरुले विवादास्पद अभिव्यक्ति नदिने र पार्टीको निर्णय कार्यान्वयन गर्ने समहति भएको छ । ‘विवाद भएका जिल्लामा पार्टीले गठन गरेको कार्यदलको काम थाल्ने छ,’ बोगटीले भने, ‘कारवाहीमा परेका नेताबारे पनि छलफल भएको छ । त्यसबारे पनि सोच्न आवश्यक छ ।’
करिब एक दर्जन जिल्लामा देखिएको बिवाद समाधान गर्न सचिव वर्षमान पुनको संयोजकत्वमा समिति बनाइसकेको छ ।
संस्थापनले भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरेपछि चुलिएको विवाद मिलाउन दुई नेताबीचमात्र कुराकानी भएको हो ।
भट्टराईले फरक विचार राख्नेहरुलाई कारवाही गर्दै जाने कदम गलत भएको बताएका थिए । दाहालले पार्टी अघि बढाउन विधि र विधान सबैले पालना गर्नुपर्ने उल्लेख गर्दै छलफलबाट समाधान गर्नुपर्ने बताएका थिए । श्रेष्ठलाई तीन र यादवलाई एक महिना केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ ।
संस्थापनले उचित पद नदिएका कारण भट्टराई पक्षले सिन्धुली, धुनषा, पर्सा, बैतडी, गोरखालगायतका जिल्लामा समानान्तर समिति गठन गरेको थियो । भट्टराई पक्षका नेताहरुले श्रेष्ठ र यादवको कारवाही फिर्ता लिनुपर्ने, संस्थापनले चलाउँदै आएका प्रशिक्षण स्थगित गर्नुपर्ने माग गरेको समाचार आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘पहिले निलम्बन फिर्ता लिनुपर्यो,’ भट्टराई पक्षका नेता देवेन्द्र पौडेलले भने, ‘त्यसो नगरे विवाद मिलाउन गाह्रो हुन्छ ।’ संस्थापनको कदमबारे छलफल गर्न बसेको भट्टराई पक्षको भेलाले विवाद मिलाउन अपिल गरेको थियो । भट्टराई पक्षले केन्द्रीय समिति बैठक बोलाई समस्या समाधान गर्न माग गरेको छ ।















प्रतिक्रिया