काँकडभिट्टा (झापा), २५ साउन । यातायात सञ्चालनसम्बन्धी विवादका कारण पाँच दिनदेखि जारी मेची–कोसी बन्द आइतबार अपराह्नबाट खुलेको छ ।
झापा जिल्ला प्रशासन कार्यालयको संयोजनमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, शान्ति समिति, सम्बाद समूह र यातायात व्यवसायीसँग भएको वार्तापछि आन्दोलनरत मजदूरहरूले बन्द फिर्ता लिएका हुन् ।
उज्यालो यातायात व्यवसायी सङ्घले काँकडभिट्टाबाट काठमाडौँसम्म बस सेवा सञ्चालन गरेपछि मेची बस व्यवसायी सङ्घलगायत नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घमा आवद्ध विभिन्न सङ्घ तथा मजदूर सङ्गठनले उज्यालोविरुद्ध अनिश्चितकालीन बन्द आह्वान गरेका थिए ।
लगातारको बन्दले पूर्वी नाका काँकडभिट्टालगायत मेची–कोसी अञ्चलमा यातायात ठप्प थियो भने सर्वसाधारणले सास्ती व्यहोरेका थिए ।
आइतबार भएको वार्तामा पक्राउ परेका मजदूर कार्यकर्तालाई आजै छाड्ने र मुद्दा चलाइएका मजदूरहरूलाई कानुनी प्रक्रिया पु¥याएर छाड्ने दुईबुँदे सहमति भएको वार्तामा संलग्न सम्वाद समूह झापाका संयोजक अधिवक्ता दिपेन्द्र भट्टराईले बताउनुभयो ।
वार्तामा प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल, वरिष्ठ प्रहरी उपरीक्षक केशरीराज घिमिरे, प्रहरी उपरीक्षक मुकुन्दराज आचार्य, उज्यालो यातायातका तर्फबाट भूपू राई, केवलराम राई, देवेन्द्र राई र जलकुमार गुरुङ सहभागी थिए । त्यस्तै मेची यातायात संघबाट श्रीप्रसाद मैनाली, एलपी सिटौला, राजेन्द्र रिजाल तथा मजदुर सम्वद्ध संगठनबाट यज्ञप्रताप अधिकारी, सन्त राई र भूपाल सापकोटा सहभागी थिए ।
यसैगरी राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका उपसभापति देउमान थेवे, नेकपा (एमाले)का सचिव चिन्तन पाठक, एमाओवादी अध्यक्ष धर्मशीला चापागाईलगायत थिए ।
















प्रतिक्रिया