अरबिल (इराक), २४ साउन । अमेरिकी युद्धक विमानले इराकको उत्तरी भागमा जिहादीको क्षेत्रमा बम आक्रमण गरेका छन् । त्यहाँका संघीय र कुर्द सरकारहरूले यसले उनीहरूले गत दुई महिनाको संघर्षमा गुमाएका क्षेत्र पुनः प्राप्त गर्न सघाउने बताएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०११ मा इराकमा अमेरिकी नियन्त्रणको अन्त्य गरेपछि पहिलोपटक त्यहाँ हवाई आक्रमणको आदेश दिएका थिए । इस्लामी स्टेट (आईएस)का लडाकूहरूले हाल जमिनमा निकै उपलब्धि हासिल गरेका छन् । उनीहरूले बाँध आफ्नो नियन्त्रणमा लिएका छन् र धार्मिक अल्पसंख्यकलाई पलायन हुन बाध्य बनाएका छन् ।
कुर्दिस क्षेत्रीय सरकारको सेनाले आफ्नो राजधानी अरबिलको सुरक्षाको प्रयास गरिरहेको अवस्थामा अमेरिकी सेनाले आईएसका लडाकूमाथि आक्रमण गरेको जानकारी पेन्टागनले दिएको छ ।
यसको कही घण्टापछि एक चालकविहीन विमानले मोर्टार राखिएको स्थानमा आक्रमण गरेको छ भने जेट विमानहरूले आईएसका सात गाडीमाथि आक्रमण गरेको छ । त्यसका लागि लेजरको नियन्त्रणमा सञ्चालन हुने बम प्रयोग भएका थिए ।
अमेरिकी विमानहरूले उत्तरी सुख्खा पहाडी भागमा सुन्नी कट्टरपन्थी लडाकूबाट बच्न लुकेर रहेका हजारौँ व्यक्तिका लागि खाना तथा पानी खसाएका थिए । सिनजार पहाडी भागमा गत पाँच दिनदेखि खाना तथा पानीको अभावमा लुकेर बसेका व्यक्तिहरू याजिदी हुन् । उनीहरू चार हजार वर्ष पुरानो आस्थासँग जोडिएका छन् ।
आईएसले याजिदीहरू सैतानका भक्त भएको आरोप लगाएका छन् र अमेरिकी राष्ट्रपति ओबामाले लडाकूले याजिदीलाई प्रणालीगत रूपमा नष्ट गर्न प्रयास गरेको आरोप लगाउनुभएको छ । यसलाई जाति–हत्याको रूपमा लिन सकिन्छ ।
संयुक्त राष्ट्रसंघले चाँडै मानवीय क्षेत्र स्थापना गर्ने बताएको छ । आईएसका जिहादी मोसुलबाट अरबिल पनि आफ्नो नियन्त्रणमा लिन निनेवेहको समथर भागतर्फ अगाडि बढेपछि त्रास बढेको हो । कुर्दिस लडाकूहरूसँग हतियारको कमी छ र उनीहरू जिहादीको आक्रमण रोक्न नसकेर पलायन हुन बाध्य भएका थिए ।
उनीहरू क्रिस्चियन भूमिबाट बुधबार र बिहीबार हटेपछि त्यहाँबाट करिब एक लाख जनता पलायन भएको बताइएको छ । यसकारण पश्चिमी मुलुक कारबाहीका लागि बाध्य भएका हुन् ।
राष्ट्रपति ओबामाले आक्रमण सीमित क्षेत्रमा हुने बताएका छन् । उनले कारबाहीको अन्त्य हुने मिति भने उल्लेख गरेका छैनन् । ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले पत्रकारहरूलाई अमेरिकी संलग्ता लामो सैनिक द्वन्द्व भने नहुने बताएका छन् ।
इराकी सेना प्रमुखले आफूहरू तथा कुर्दिस सेनाले आउँदा केही घण्टामै ठूलो भूमि नियन्त्रणमा लिने बताए । उनले अमेरिकी हवाई आक्रमण आईएसले नियन्त्रणमा लिएको अन्य नगरमा पनि विस्तार हुने बताए । जिहादीहरूले बग्दादबाट पश्चिमी, दक्षिणी तथा उत्तरी भागलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।
कुर्दिस अध्यक्षताको कार्यालयका प्रमुख फाउद हुसेनले शुक्रबार एक पत्रकार सम्मेलनमा अरबिलमा दुई महिनाको अवधिमा करिब १५० कुर्द सैनिक मारिएको जानकारी दिए । उनले अमेरिकी हवाई आक्रमणले कुर्दिस सैनिकलाई पुनर्सङ्गठित हुने, गुमेका क्षेत्रमा पुनर्तैनाथ हुने र विस्थापित भएका जनतालाई पुनस्र्थापना गर्ने मौका दिएको बताए ।
फ्रान्सले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएपछि अमेरिकी राष्ट्रपति ओबामाले उक्त कारवाहीको घोषणा गरेका हुन् । मोसुल बाँध इस्लामी स्टेटका जिहादीहरूले बिहीबार नियन्त्रणमा लिएका हुन् । यसले ठूलो क्षेत्रमा पानी तथा विद्युत आपूर्ति गर्छ । सन् २००७ मा अमेरिकी अधिकारीहरूले गरेको मूल्याङ्कनमा यस बाँधलाई नियन्त्रण गर्न नसके त्यसले टिग्रिस नदीमा बाढी आउने र बग्दादलाई पनि प्रभाव पार्ने बताइएको छ ।
उक्त क्षेत्रमा गत दुई महिनासम्म युद्ध निरन्तर रहेको छ र अमेरिकाले आफ्ना उड्डयन संस्थाहरूलाई इराकमाथि भएर नड्न भनेको छ । बेलायतले कुर्दिस्तानमा रहेका आफ्ना नागरिकलाई उक्त क्षेत्र छोड्न भनेको छ ।
ब्रिटिस एयरवेज तथा लुफ्थान्साले पनि अमेरिकी आदेश स्वीकार गरेका छन् । धेरै युरोपेली विमान सेवाले आफ्ना विमान इराकी आकाशबाट उडाएका छैनन् ।
अमेरिकी राष्ट्रपति ओबामा इराकमा अमेरिकी सैनिक संलग्नता अन्त्य गर्ने दृढता साथ पदमा पुगेका हुन् । उनको पहिलो कार्यकालमै अमेरिकी सेना त्यहाँबाट फिर्ता भएका थिए । ती सेना सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि त्यहाँ रहेका थिए ।
जिहादीहरूले ठूलो भूभाग नियन्त्रणमा लिई सिरिया इराकमा खलिफात स्थापना भएको घोषणा गरेपछि त्यहाँ जातीय तनाव बढेको छ । यस समूहले इराक र सिरियामा ठूलो विजय हासिल गरेको छ । इराकमा प्रधानमन्त्री नुरी अल–मलिकीले जातीय विभाजनलाई संस्थागत गरेको आरोप लगाइन्छ । एएफपी














प्रतिक्रिया