काठमाडौ, २४ साउन । पश्चिमाञ्चल क्षेत्रिय सिंचाई निर्देशनालयका इञ्जिनियर मनमुक्त तुलाचन अकूत सम्पत्ति आर्जनको अभियोगमा मुछिए ।
करिव १० लाख रुपैंया अकूत सम्पत्ति कमाएको अभियोगमा परेका उनको आम्दानी करिब ५१ लाख र खर्च ४९ लाख रुपैंया भएको पुष्टि भयो । उनले पत्नीले सञ्चालन गरेको होटलको आम्दानी देखाई आर्थिक वर्ष २०६८/६९ मा आफ्नो सम्पत्ति बैध भएको पुष्टि गराएका थिए ।
महाकाली सिंचाइ आयोजना कञ्चनपुरका सिनियर डिभिजनल इञ्जिनियर चञ्चलसिंह विष्टको सम्पत्ति पनि शंकाको घेरामा पर्यो । २०३९ सालमा अधिकृत स्तरको इञ्जिनियरिङ सेवामा प्रवेश गरेका उनले पारिश्रमिकबाट केबल २५ लाख ७२ हजार रुपैंया आम्दानी गरेको भेटियो । तर उनको कुल सम्पत्ति एक करोड ७५ लाख रुपैंया आर्जन भएको भेटियो ।
विष्टले २१ लाख रुपैंया घरभाडा बापत आम्दानी गरेको दावी गरेका थिए । ‘उक्त छानविनमा घरबहाल बापतको आम्दानीको कुनै औचित्य पुष्टि हुन सकेको थिएन’ दुई वर्षअघि तामेलीमा राखिएको घटनावारे अख्तियार स्रोतले भन्यो, ‘एक करोड ३४ लाख खर्च भएको आधार देखाई उनले छानविनबाट सफाइ पाएका थिए ।’ पछि उनले आर्जनलाई बैध देखाउन १० प्रतिशतले हुन आउने २ लाख १० हजार रुपैंया कर राजस्व कार्यालयमा तिरेका थिए ।
सिंचाई विभाग र मातहतका कार्यालयका इञ्जिनियरहरु विरुद्ध अकूत सम्पत्ति छानविनको अभियोगमा अख्तियारमा हरेक वर्ष उजुरी पर्छ, छानविन पनि हुन्छ ।
तर नतिजा हात लाग्यो शून्य, अर्थात आरोप प्रमाणित हुन नसकेको भनी उजुरी तामेलीमा राखिन्छ । पछिल्लो पाँच वर्षको अभिलेख हेर्दा अख्तियारले हरेक वर्ष सिंचाईका प्राविधिकहरुको अकूत आर्जनको उजुरीको फाइलको चाङ तामेलीमा पठाएको छ ।
सोही वर्ष अख्तियारले अर्को फाइल तामेलीमा पठाउदा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय बाराका प्रमुख भई रानी जमरा सिंचाइ आयोजनाका प्रमुखमा सरुवा भएका अवधेशचन्द्र झाले सफाइ पाएको देखिन्छ ।
छानविनको मितीसम्म तलब र अन्य सुविधा बापत कुल १९ लाख रुपैंया आम्दानी गरेका उनले करिव ३२ लाख रुपैंया खर्च गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । उनले घरभाडा बापतमात्रै १० लाख र खेतीपातीबाट करिव साढे ८ लाख रुपैंया आम्दानी भएको देखाएर सम्पत्तिको बैधता पुष्टि गराएका छन् । र, उनको फाइल पनि विष्टको फाइलझैं तामेली गरिएको हो ।















प्रतिक्रिया