मार्क ज़ुकरबर्गको क्याफेमा लगभग ५ बर्षपछि ऊ सँग भेट भयो, उसले नजिकैको कुर्सीमा बस्ने अनुमति माग्यो । मैले आफू अगाडिको कुर्सी पहिला नै भरिसकेकोले साइडको कुर्सीमा हल्ला नगरी चुपचाप बस्ने अनुमति दिएँ । पहिला त्यही क्याफेमा घण्टौं घण्टा बसेर गफिने हामी आज चुपचाप बस् भन्दा उसको मनमा पनि एक खालको प्रश्न त पक्कै उब्जियो होला । त्यसैले उसलाई धेरै कौतुहलतामा नराखी भोलिपल्टै त्यो कुरा प्रस्ट पारिदिएँ ।
उमेरले म भन्दा एक बर्ष सानो थियो ऊ । त्यसैले म सँगै सानो फुच्चे हुँ भन्थेँ । हाम्रो देशमा सामान्यतया केटाहरु आफू भन्दा सानै उमेरकी केटीहरुलाई साथी या प्रेमिका बनाउन रुचाउँछन्। सायद त्यसैले होला ऊ भन्दा उमेरमा एक बर्ष ठूली भएपनि म आफूलाई ऊ भन्दा परिपक्व र धेरै नै ठूली भएको महसुस गर्थेँ। सानैदेखि त्यस्तै वातावरणमा हुर्केर होला, हाम्रो मानसिकता पनि त्यस्तै नै हुनेरहेछ । बाहिरी देशहरुमा उमेर, जात र धर्म अनि को ठूलो र सानो भन्दा पनि मन बिचार र आफ्नो व्यक्तिगत खुसीलाई धेरै मान्यता दिइन्छ । तर जवर्जस्ती छ हाम्रो देशको सोच र संस्कृति । जसले मान्छेलाई जबरजस्ती खुम्चाइदिन्छ।
खैर जे सुकै होस । आजकल त्यही क्याफेमा सयौँ केटीहरुले घेरिएको उसलाई देख्दा यस्तो लाग्यो ऊ त हेर्दाहेर्दै जवान भएछ । उसको साइकोलोजीमा कत्तिको परिवर्तन आएछ मलाई बुझ्न मन लाग्यो अनि मैलेँ घुमाउरो पाराले प्रश्न गरेँ । ्
के हो तिम्रो गर्लफ्रेंडहरु त टन्नै रैछन नि ?
उसले उल्टो प्रश्न गर्यो- को गर्लफ्रेंड ?मेरो मनमा हाँसो
मैले जवाफ दिएँ- तिम्रो वरिपरि भएका केटीहरु ।
उसले अली रिसाए जसरी भन्यो – तिनीहरु कोही पनि मेरो गर्लफ्रेंड हैन।
मैले फेरी प्रश्न गरे- अनि को हुन त ?
उसले निर्धक्क भन्यो- जस्ट टाइम पास ।
मेरो मनमा हाँसो उठ्यो अनि आफ्नो मनले आफैलाई भन्यो- अरे वा ! फुच्चे त जवान मात्रै हैन, परिपक्व पनि भइसकेछ ।
ज़ुकरबर्गको यो क्याफेमा जो सुकै मान्छेहरु पनि जोडिन सक्छन। कोही देख्दै नदेखि या प्रत्यक्ष भेट्दै नभेटी कुरैकुराको भरमा नजिक भइदिन्छन्। दुःख सुख साट्ने साथी बनिदिन्छन्। प्रेमी प्रेमिका नै बनिदिन्छन् त कोही जिन्दगी सँगै बिताउने जीवनसाथी। ९० प्रतिशत मान्छेहरुलाई प्रत्यक्ष भेटेको हुँदैन । तर पनि उनीहरुको दैनिक क्रियाकलाप जस्तैः आज उसले के खायो, हिजो ऊ कहाँ घुम्न गयो, उसको कोसँग प्रेम छ, कस्तो केटी बिबाह गर्यो त्यो सब हेर्दाहेर्दै यस्तो लाग्छ ऊ कुनै नजिककै छिमेकी हो, जसका हरेक कुराहरु प्रत्येक दिन आँखाले देखिरहेको छ ।
त्यो क्याफेमा नजिकै बसेर गफ गर्न मान्छेहरु कति आए कति गए पत्तै भएन। हजारौँ साथीहरु कोही भीडमा कोही बिशेष सँधै सम्झनलायक साथी भए । कोही कहिले आए कहिले गए वास्तै गरिएन । तर पनि मेरो फुच्चे साथी खै किन हो ५ बर्षपछि भेट्दा पनि मेरो दिमागमा ताजै थियो। उसका यादहरू र ऊ सँग गरेका कुराहरु हिजोजस्तै लाग्थे। त्यसैले हुनुपर्छ ऊ मेरो बिशेष साथीको लिस्टमा अटाएको थियो।
५ बर्षअघि भर्खरभर्खर खुलेको त्यो क्याफे हामी जस्तै योङ्ग युवायुवतीहरु रमाउने ठाउँ थियो । त्यसैले होला, अलि सुनसान देखिन्थयो। तर आजकल त ८ बर्षको बच्चादेखि ७० बर्षका बृद्धबृद्धा रमाउन सक्ने थलो नै भएको छ अनि भीड़भाड़ पनि मज्जाले बढेको छ । साँच्चै अचम्मको छ जुकरबर्गको यो क्याफे, जहाँ बस्यो भने मान्छेहरु दिन बितेको पनि पत्तो पाउँदैनन। हरेक उमेरका मान्छेहरु रमाउन सक्ने अनि आफ्नो खाली समय सजिलै बिताउन सक्ने। संसारका जुनसुकै कुनामा बसेका आफन्त हुन या साथीहरु यो क्याफेले सबैलाई जोडेर नजिक बनाइदिएको छ। कहिले बर्षौ बर्ष छुट्टिएका आफन्तहरु भेटिन्छन यो क्याफेमा, कहिले बच्चा बेलामा छुट्टिएको साथी पनि यही क्याफेमा फेला पर्छन सजिलै।
यो क्याफेले मान्छे अनुसारको सुबिधा उपयोग गर्ने मौका दिएको छ। कसैलाई दुःखसुख पोख्न होस या कसैलाई माया प्रेम देखाउन यो क्याफे निकै सजिलो भएको छ। पहिला पहिला कोही आफन्त र साथीहरु विवाह बन्धनमा बाँधिए भने उनीहरुका श्रीमान र श्रीमतीलाई हेर्नका लागि बर्षौ कुर्नु पथ्र्यौ । तर, आजकल बेहुलाबेहुली बिबाह मण्डपबाट उठ्न नपाई उनीहरूका तस्बीरले यो क्याफेका भित्ताहरु भरिन्छन।
त्यतिमात्रै कहाँ हो र ? तिनीहरुको पेजमा गएर हेर्नु भयो भने उसको व्यक्तिगत जानकारी मात्रै हैन, उसका ७ पुस्ताको वारेमा जानकारी पाउन सक्नुहुन्छ।
आजकल मान्छेहरु आफ्नो व्यक्तिगत खुसीको लागि भन्दा पनि धेरै कुराहरु यो क्याफे भित्र गएर देखाउनका लागि गर्ने गर्छन। बर्थडेको केक आफ्नो खुसीको लागि भन्दा पनि क्याफेको भित्तामा तस्वीर टाँस्न मनाइन्छ, दशैको टीका लाउँदा ध्यान आशीर्वादमा हैन, त्यो क्याफेका भित्ता कसरी रंगाउने भन्नेतिर नै बढ़ी केन्द्रित हुन्छ। उपहार एक अर्काको खुसीको लागि भन्दा पनि अरुलाई देखाउन र जलाउने मनसायले दिइन्छ। घरमा केही मीठो पकाइन्छ या भोक लागेर रेस्टुरेन्ट गएर केही खाना मगाइन्छ ध्यान भोकमा भन्दा त्यो क्याफेका भित्ता कसरी रंगाउने भन्नेतिर धेरै जान्छ। कँही घुम्न गइन्छ त्यो वरिपरि कस्तो छ के छ केही थाहा हुन्न दिमाग जति सबै त्यही क्याफेका भित्ता कसरी रंगाउने भन्नेतिर नै गएको हुन्छ। नयाँ सारी किनियोस या गरगहना आफू लगाएर रमाउने आफूलाई सजाउने भन्दा पनि हतार त्यही क्याफेको भित्ता कसरी सजाउने टेन्शन हुनथाल्छ। कसैलाई कोहीसँग रिस उठ्यो भने भएजति रिस उस्ले त्यही क्याफेको भित्तामा पोख्छ। कसैको कोहीसँग माया बस्यो भने भएजति मायाका शब्दहरु त्यही भित्तामा छरपष्ट बनाउँछ।
सही सदुपयोग गर्ने हो भने मार्क ज़ुकरबर्गको क्याफेले धेरै राम्रो गरिदिएको छ। टाढा रहेका साथीहरु र आफन्तलाई नजिक बनाइदिएको छ, देश बिदेशका समाचार र सूचनाहरु मिनेटमै थाहा पाउन सकिन्छ । दुरुपयोग गर्नेहरुका लागि अरुलाई देखाउने, प्रतिस्पर्धा गर्ने थलो भएको छ यो क्याफे। अरुका कमी कमजोरीहरु सार्वजनिक रुपमा देखाइदिने, अरुलाई गालीगलौज गर्ने, साथीहरु र आफन्त बीच प्रतिस्पर्धा गर्ने, आफ्ना हरेक खुसीलाई बिर्सेर त्यही क्याफेको भित्ता सम्झेर रमाउने, नराम्रो बिकृति भित्राएको छ यो क्याफेले। मार्क ज़ुकरबर्गको त्यो क्याफेलाई मान्नै पर्छ, जसले संसारका ९० प्रतिशत मान्छेहरुको ध्यान आफूतिर तान्न सफल भएको छ ।
त्यसैले त त्यो मेरो फुच्चेजस्तै फेसबुक प्रयोगकर्ताहरु जानीनजानी आफ्ना नजिकका साथीभाइलाई देखाउनकै लागि धेरै कुरा गरिरहेका हुन्छन्, जसरी फुच्चेले आफ्नो जवानीमात्रै होइन, परिपक्वता पनि देखाइरहेको थियो ।
नोट: मैले माथि उल्लेख गरेको मार्क ज़ुकरबर्गको क्याफेको मतलब फेसबुक भएको सम्पूर्ण पाठकहरुमा जानकारी गराउन चाहन्छु ।














प्रतिक्रिया