२९ आश्विन २०८३, बिहिबार

श्रवणकुमारभन्दा कम छैनन् कमल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Gorkhaगोरखा, २३ साउन । उनी बिहान सबेरै उठ्छन्, आफू हातमुख धुन्छन् र आमाको पनि हातमुख धोइदिन्छन्। आमालाई दिसापिसाब गराउँछन्, चिया बनाएर खुवाउँछन् अनि आफू पनि खान्छन्।

हो, हामीले कथामा सुन्दै आएका त्रेतायुगका श्रवणकुमारभन्दा कम लाग्दैनन् बुंकोट २ खाब्जी भन्ज्याङका १९ वर्षीय कमल थापामगर।

श्रवणकुमारले आँखा नेदेख्ने आमाबुबालाई बोकेर तीर्थव्रत गराएका थिए र जीवनभरि स्याहार गरेका थिए। यी कमलले पनि शारीरिक रूपमा अशक्त आमा ४० वर्षीया बालकुमारी थापालाई उठाउने, बसाउने, सुताउने, खुवाउने, दिसापिसाब गराउने मात्र गर्दैनन्, बिहानबेलुका छाक टार्ने खर्च पनि आफैं जुटाउँछन्।

बिहान पाँच बज्दा उनी आफ्नो नित्य कर्म सक्छन् र आमालाई सघाउँछन्। ‘त्यसपछि खाना बनाउँछु र बिहान ६ बजे कामका लागि मेलातिर जान्छु। मेलाबाट नौ बजे फर्केर हतारहतार आमालाई खाना खुवाउँछु अनि आफू पनि खाएर स्कुल जान्छुु, कमलले भने, ‘स्कुलबाट आएर घरधन्दा गर्छु, खाना बनाएर आमालाई खुवाउँछु अनि आफू पनि खान्छु। भाँडा माझ्छु अनि गृहकार्य सकेर सुत्छु।’ सधैं त्यही दिनचर्या दोहोरिन्छ उनको।

कमल स्थानीय सहिद स्मृति उच्चमाविमा कक्षा नौमा पढ्छन्। उनले सानैदेखि आमालाई स्याहार गर्दै आएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

उनले आफ्नो दुस्ख सुनाए, ‘एकदुई कक्षा पढ्दादेखि नै अर्काको काम गरेर कमाएको पैसाले कापीकलम किन्दै आएको हुँ। अहिलेस म पनि स्कुल ड्रेस र कापीकलम आफैंले कमाएर किन्दैछु। चामल, तरकारी, भुटुन, मसला सबै आफ्नै कमाइले किन्छु।’