काठमाडौं, २३ साउन । कुख्यात ुगुन्डा नाइकेु दिनेश अधिकारी चरीुको मृत्यु भिडन्तमा भएको दाबी प्रहरीले गरेको भोलिपल्टै उक्त घटनाले राजनीतिक भुइँचालो ल्याएको छ।
प्रमुख सत्ता साझेदार एमालेले व्यवस्थापिका संसद्भित्र र बाहिर भिडन्तमा नभएर पक्राउ गरी चरीलाई निर्ममताका साथ मारिएको र त्यसमा संसदीय समितिद्वारा छानबिन हुनुपर्ने माग राखेपछि घटनाक्रमले कांग्रेस र एमालेबीच तनाव बढ्ने संकेत दिएको छ।
संसद्मा सभामुख सुवास नेम्बाङले शुक्रबारै यो घटनाबारे जानकारी दिन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिएका छन्।
सत्ताको नेतृत्व गरेको कांग्रेसले संसद्मा पूर्ण तटस्थता अपनाए पनि एमालेको बढ्दो दबाब र संसदीय छानबिनको मागप्रति उसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने हुन्छ।
कांग्रेसले एसएसपी पुष्कर कार्कीसहितका प्रहरीलाई निलम्बन गर्नुपर्ने एमालेको माग अनुमोदन गर्ने वा सदनभित्र फरक अडान लिने भन्ने निर्णय गर्न बाँकी छ।
यसैबीच कांग्रेस नेता शेखर कोइरालाले यस्तो घुर्की लगाउनुको साटो एमाले प्रतिपक्षमा बस्नु राम्रो हुने बताएका छन्।
एमाले धादिङका नेता र कार्यकर्तालाई पार्टी मुख्यालयमा बिहीबार सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले प्रहरीले अन्यत्रै हत्या गरेर भीमढुंगामा मुठभेडमा मारिएको नाटक गरेको आरोप लगाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
‘गोली हानेर मान्छे मार्दा रगत बग्दैन भने कस्तो मान्छे मारियो’, ओलीले भने, ‘संविधान र कानुन हातमा लिएर चल्ने, नागरिक मार्दै हिँड्ने, फसाउन खोज्ने र पूर्वाग्रह राख्ने प्रहरी हामीले चाहेको हैन।’
अध्यक्ष ओली, उपाध्यक्ष रहेका गृहमन्त्री वामदेव गौतम, धादिङ एमालेका चारैजना सभासद् र धादिङको प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्य बिहीबार दिनभरि नै चरी मारिएका विषयमा केन्द्रित भएका थिए।















प्रतिक्रिया