२९ आश्विन २०८३, बिहिबार

तातोपानी जोड्न ट्र्याक खोलिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bati Pahiroसिन्धुपाल्चोक, २३ साउन । छ दिनअघि सिन्धुपाल्चोक मांखा पहिरोले टुटाएको चीनसँगको एकमात्र चल्तीको व्यापारिक नाका तातोपानी दसैंअघि नै सञ्चालनमा आउने भएको छ।

पहिरोले क्षतविक्षत अरनिको राजमार्ग पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन समय लाग्ने देखिएपछि सुनकोसी पारिबाट ट्र्याक खोलेर बेलिब्रिजले अरनिको राजमार्गसँगै नाका जोड्ने तयारी गरिएको हो।

सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीका अनुसार पुरानो राजमार्ग सञ्चालन कहिले हुन्छ, टुंगो छैन। तत्कालका लागि हाल राजमार्ग रहेको सडकबाट पारिपट्टि वैकल्पिक बाटो खन्न लागिएको हो।

‘पानी निकाल्न र पहिरो पूरै हटाउन लामो समय लाग्ने देखिन्छ,’ कार्की भन्छन्, ‘सकेसम्म छिटो तातोपानी नाका जोड्न ड्याम साइटदेखि जंगलतर्फबाट दाबीखोलासम्म करिब साढे दुई किमि नयाँ ट्र्याक खोल्ने काम एक–दुई दिनमै सुरु हुन्छ।’

उनका अनुसार वैकल्पिक मार्गका रूपमा अब अरनिको राजमार्गको खाडीचौरस्थित दोलखाको मुढे–चरिकोट जाने पुलबाट सवारीसाधन पारिपट्टि लगिनेछ।

त्यहाँबाट नेपाल विद्युत प्राधिकरणको सुनकोसी जलविद्युत केन्द्रले बनाएको पुरानै पक्की बाटो प्रयोग गरी पहिरोस्थल ड्याम साइटसम्म सवारीसाधन पुर्यातइनेछ।

ड्यामसाइटबाट पहिले पैदल हिँड्ने जंगलै जंगलको गोरेटो पहिल्याउँदै करिब साढे दुई किमि ट्र्याक खोलिनेछ। ट्र्याकलाई बाटोमा पर्ने दाबीखोला तार्न बेलिब्रिज राखिने र त्यहाँबाट फेरि करिब तीन किमि लामो पुरानो ट्र्याक फराकिलो बनाउँदै भोटेकोसी–सुनकोसी दोभानसम्म पुर्यारइनेछ। सुनकोसीमा अर्को बेलिब्रिज राखेर फेरि वारिपट्टि अरनिको राजमार्गमै जोडेर चीन नाका खुलाउने तयारी अघि बढेको छ।

‘ खोल्नेबारे नेपाली सेनासँग छलफल भइसकेको छ,’ कार्कीले भने, ‘सेनाको एउटा र सडक विभागसँग रहेको अर्को बेलिब्रिज ट्र्याक जोड्न प्रयोगमा ल्याउँछौं।’

शनिबार बिहानै आएको मांखा चट्टाने पहिरोले अरनिको राजमार्गको करिब तीन किमि सडक अवरुद्ध पारेपछि छ दिनदेखि नेपाल–चीन नाका ठप्प छ।

पहिरोले करिब एक किमि सडक भत्काएको छ भने बाँकी दुई किमि सडक सुनकोसी थुनिएर बनेको तालमा डुबेको समाचार आजको नागरिक दैनिकले छापेको छ। बाटो अवरुद्ध हुँदा दसैंका सामानसमेत उतै अड्किएका कारण सरकारले चाँडो वैकल्पिक सडक खोल्ने तयारी गरेको हो।