काठमाडौं, २२ साउन । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अठारौं शिखर सम्मेलन मंसिर १० र ११ गते नेपालमा आयोजना हुने भएको छ ।
सार्कका सबै सदस्य राष्ट्रसँगको परामर्शमा सम्मेलनको मिति निर्धारण गरिएको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शिखर सम्मेलनअघि सार्क मन्त्रिपरिषद्को छत्तिसौँ बैठक मङ्सिर ९ गते, स्थायी समितिको एकचालिसौँ बैठक मङ्सिर ७ र ८ गते र कार्यक्रम समितिको छयालिसौँ बैठक मङ्सिर ६ गते हुने उक्त मन्त्रालयले जनाएको छ ।
शिखर सम्मेलनमा सदस्य मुलुकका राष्ट्राध्यक्ष वा सरकारप्रमुखले आ–आफ्ना मुलुकका प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ भने परराष्ट्रमन्त्रीहरूले मन्त्रिपरिषद् बैठकमा आ–आफ्नो देशको नेतृत्व गर्नेछन् ।
त्यसैगरी, स्थायी समितिको बैठकमा सदस्य राष्ट्रका परराष्ट्र सचिवहरू र कार्यक्रम समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिवहरूले नेतृत्व गर्नेछन् ।
नेपालले सार्क शिखर सम्मेलन आयोजना गर्न लागेको यो तेस्रो अवसर हो । यसअघि नेपालले तेस्रो र एघारौँ शिखर सम्मेलन क्रमशः २०४४ र २०५९ सालमा आयोजना गरिसकेको थियो ।
केही दिन अघि मात्र नेपालको दुई दिने नेपाल भ्रमण सम्पन्न गरेर दिल्ली फर्किनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कको अठारौं शिखर सम्मेलन भाग लिन पुःन नेपाल आउने घोषणा गर्नुभएको छ । उहाँले शिखर सम्मेलनमा भाग लिन नेपाल आउँदा लुम्विनी र जनकपुरको भ्रमण गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।














प्रतिक्रिया