‘तपाईंहरू अँध्यारोमा रुमल्लिएको बेला हामी उज्यालोमा रमाउन सक्दैनौँ । तपाईंहरू भोक र शोकले छट्पटिएको बेला, हामी आरामले निदाउन सक्दैनौँ । नेपाल र भारतको सम्बन्ध भनेको हिमाल र गंगाको सम्बन्ध हो । जो परापूर्वकालदेखि दुई देशका जनताको मन मनमा बगेको छ ।’
यसरी कवितामय शैलीमा धाराप्रवाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभाको बैठकलाई सम्बोधन गरिरहँदा सभा हल तालीको गड्गडाहटले गुन्जिएको थियो । मोदीको शब्द, शब्दमा नेपालप्रतिको माया, स्नेह झल्कन्थ्यो । भारतीय प्रधानमन्त्रीको रुपमा पहिलो पटक पशुपतिको पाउँमा आइपुगेका मोदीको भाषणले आम नेपाली जनतामा आशा र भरोसाको दियो प्रज्वलित भएको छ ।
भारत भन्ने शब्द सुन्नासाथ नाक खुम्च्याउने अनुहार पनि केही हँसिलो देखिन थालेको छ । सायद, यही हँसिलो मुहार नै नेपाल–भारत सम्बन्धका लागि नयाँ आयाम हो । जसको ढोका प्रधानमन्त्री मोदीले खोलिदिए । अब व्यवहारमा उतार्ने जिम्मा भारत र नेपालकै हो । भाषणले मात्रै देश विकास हुने भए, आज नेपालको आर्थिक विकासले अमेरिकालाई उछिन्ने थियो । तर, मोदीको जीवनमा भाषण भनेको व्यवहार हो । भारतको गुजरातमा मोदीले यो सत्य व्यवहारमै उजागर गरिदिएका छन् । त्यही विश्वासले सिंगो भारत आज मोदीमय बनेको छ ।
‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा…’ स्वरसम्राट नारायणगोपालको गीतजस्तै मोदीबाट भारतले मात्रै होइन, छिमेकी राष्ट्र सबैले परिवर्तनको आशा गरेका छन् । त्यसको संकेत मोदीले नेपाल भ्रमणबाट दिएका छन् । नेपालको जस्तै सम्बन्ध उनले दक्षिण एसियाका मुलुकसँग स्थापित गर्न सफल भए भने दश वर्षमा सार्क क्षेत्र विश्वकै समृद्ध बन्ने कुरामा दुईमत छैन । यही ‘भिजन’का साथ छिमेकीहरूसँग हातेमालो मात्रै होइन, सहकार्यको संस्कृति पनि उनले सुरु गर्नु पर्ने हुन्छ ।
नेपाल भूमिमा आएर मोदीले वीर गोर्खा भनेर शिर झुकाएर नमन गरे । त्यही वीर गोर्खाका सन्तान हामी मोदीले आज बुद्धको देश नेपाल हो भन्दा ताली ठोक्नुपर्ने, सार्वभौम नेपाल भन्दा गौरन्वान्वित हुनुपर्ने अवस्थाले हामीलाई लज्जित तुल्याएको छ । हामी मानसिक रुपमा कति कमजोर रहेछौँ भन्ने कुरा यो घटनाले उजागर गरिदिएको छ । किनभने, हामी जहिले पनि विगतमा भारतीय शासक र त्यहाँको मिडियाबाट पीडित भयौँ । अब भने ढुक्क भए हुन्छ, मोदीले नै यसो भनेपछि बुद्ध नेपालमा जन्मिएको र नेपाल एक स्वतन्त्र, सार्वभौम राष्ट्र भएको कुरामा विवाद गरिरहनु परेन ।
सार्वभौम संसदको कठघरामा उभिएर मोदीले नेपालको विकासमा धेरै सम्भावनाहरू देखाइदिएका छन् । अब हामीले पनि २१ औँ शताब्दीको सोच सहित आर्थिक विकासका एजेन्डामा भारतसँग सहकार्य गर्नुको विकल्प छैन ।
मोदीले संसद भवनमा सम्बोधन गरिरहँदा मोदीभन्दा पनि पाका, जेलनेल भोगेका नेताहरूको उपस्थिति थियो । तर, पनि मोदी त्यहाँ हाइहाइ भए । किन ? किनभने मोदी जनतालाई गुमराहमा राखेर गुलेलीले क्रान्ति गर्न हिंडेका नेता होइनन् । उनी वर्तमान विश्व बुझेका त्यस्ता नेता हुन्, जसमा अदृश्य समृद्धिका सपना छन् । त्यही सपना र समृद्धिका लागि उनले युद्ध र बुद्धको शब्द संसदमा उच्चारण गरे । सायद, युद्धको धङ्धङीमा रहेका नेताहरूका लागि यो एउटा पाठ हुन सक्छ । अब नेपालीले त्यो पाठ विश्वलाई सिकाउनुपर्ने चुनौती हामीसामु छ । मोदीको आशा पनि त्यही नै हो ।














प्रतिक्रिया