२८ आश्विन २०८३, बुधबार

मोदीको भ्रमणलाई फर्केर हेर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shanker-pokhrelभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुचर्तित नेपाल भ्रमण सम्पन्न भएको छ । संक्रमणकालीन नेपाली राजनीतिले निकास नपाइरहेको समयमा भएको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले निकै चर्चा पायो । भारतको पछिल्लो लोकसभा चुनावका समयमा नै नरेन्द्र मोदी नेपाली छापाहरूमा निकै चर्चामा रहेका थिए ।

गुजरातको विकास मोडेललाई अघि सारेर उनले भारतीय जनतामा समृद्धिको सपना जगाए । उनको नेतृत्वमा लोकसभा चुनावमा उत्रिएको भाजपाले भारतीय लोकसभामा एकल वहुमत हासिल गर्न सफल भएपछि उनी विश्व स्तरमै चर्चित बन्न पुगे । तिनै नरेन्द्र मोदीको नेपालमा आउदा उनी प्रति नेपालीहरूमा उत्सुकता र आकर्षण देखिनु कुनै अनौठो विषय होइन । सत्तामा पुग्नासाथ सबैभन्दा पहिलो जोड नै भारत भ्रमणलाई दिने नेपालको शासकीय मानसकिता सामु १७ वर्ष पछिको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले विशेष महत्व पाउनु स्वभाविक नै हो । तर भ्रमणको जे जति चर्चा भयो, त्यसवाट के उपलव्धि हासिल भयो भन्ने कुरा हेर्नका लागि सार्क सम्मेलनका समयमा हुने उनको दोस्रो भ्रमणको प्रतिक्षा गर्नु उपयुक्त हुन्छ । तर यस दुई दिने नेपाल भ्रमणका क्रममा भने नरेन्द्र मोदीले नेपाली जनताको मन भने राम्ररी नै जित्न सफल भएका छन् । विशेष गरी व्यवस्थापिका संसदको सम्वोधनका क्रममा उनी जे जसरी प्रस्तुत भए, त्यसले उनको नेतृत्व कौशललाई मात्रै उजागर गरेको छैन । संगसंगै नेपाली जनतामा रहेको भारतीय शासकहरू प्रतिको संशयलाई समेत एकहदसम्म कम गरिदिएको ठान्न सकिन्छ । मिठो भाषणका भरमा सवै कुरा सकारात्मक भयो भनेर भनिहाल्ने स्थिति छैन । किनकि नेपालले चाहेको विद्युत व्यापार सम्झौता यस भ्रमणका क्रममा हुन सकेन । एकसय अरवको सहुलियपूर्ण ऋण प्रदान गर्ने कुरा वाहेक यस भ्रमणका क्रममा भएका भनेर ठोस उपलव्धि भनेर देखाउने विषय चाँही रहेन । तर पनि भ्रमणका क्रममा मोदीले नेपाली जनताको मन भने राम्ररी नै जित्न सफल भएका छन् ।

यद्यपि जुनसुकै काल र समय परिस्थितिमा नेपाल भारत सम्वन्ध ऐतिहासिक र अविच्छिन्न छ । परापूर्वकाल देखि नै भारतीय उपमहाद्धिप र महाचिन बीचको सम्वन्धको सेतुको रुपमा नेपाल रहँदै आएको हो । आधुनिक सूचना प्रविधि र यातायातको विकास नभएको बेलामा पनि नेपाल दुई सभ्यतालाई जोड्ने सेतुका रुपमा उभियो । त्यसबाट लाभान्वित हँुदै आफ्नो विशिष्ट प्रकारको नेपाली मौलिक सभ्यताको विकास गर्न सफल रह्यो । पशुपतिनाथ, स्वयम्भुनाथ, गौतम बुद्ध, अरनिको, सीता र भृकुटी जस्ता अनेकौं ऐतिहासिक सन्दर्भसंग जोडिएको हाम्रो समाज निश्चय नै निरिपेक्ष रुपमा कुनै एकतिर ढल्किन र विलिन हुन सक्दैन । नेपालको स्व नै दुई सभ्यताका बीचको सेतुको रुपमा खडा भएर आफ्नो स्वतन्त्र अस्तित्व र पहिचान कायम गर्नु हो । आधुनिक नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहले भने झंै दुई ढुंगा बीचको तरुल भनौं वा पछिल्लो समयमा माओवादी नेताहरूले भन्ने गरेझंै दुई ढुंगा बीचको डाइनामाइट जे भने पनि नेपाल आदीकाल देखिनै दुइ सभ्यताको संगम वा सेतुका रुपमा रहेको यथार्थता नै नेपालको प्रमुख विशेषता हो । यतिवेला नेपाल भारत सम्वन्धको नयाँ आयामको खोजी गरिरहँदा हामीले यस कुरालाई कहिलै विर्सनु हुँदैन ।

संयुक्त राष्ट्रसंघको जन्म हुनुभन्दा पहिले राष्ट्रहरूको शक्ति सम्वन्धका आधारमा निर्धारण हुन्थ्यो । स्वभाविक रुपमा त्यो समयमा आफ्नो शक्तिको आधारमा छिमेकी राज्यहरू संगको सम्वन्ध निर्धारण हुने गर्दथ्यो । सैन्य शक्ति र युद्ध कला नै त्यतिबेलाको वर्चश्वका आधार हुन्थे । नेपालको जटिल भूगोल र यहाँका जनताको लडाकु चरित्रका कारणले नेपाल भन्दा बलिया छिमेकीले पनि युद्धबाट नेपाललाई जित्ने र त्यसलाई लामो समयसम्म आफ्नो अधिनमा राख्ने कुरा सोचेनन् । विभिन्न बेलामा भएका युद्धहरू पनि कुनै न कुनै प्रकारको सम्झौतामा नै गएर टुंगिने गरे । यसै परिप्रेक्ष्यले नै जस्तो सुकै परिस्थितिमा पनि नेपालले आफ्नो स्वतन्त्रता र स्वाधीनतालाई पूर्ण रुपमा गुमाउनु परेन । यद्यपी उक्त स्थिति कायम राख्नका लागि पनि विभिन्न कालखण्डमा नेपालले निकै ठूलो मुल्य समेत चुकाउनु परेको यथार्थ हाम्रा सामु छ ।

ब्रिटिश इण्डियासंगको नेपालको सन् १८१६ को सुगौली सन्धि र स्वतन्त्र भारतसंगको सन् १९५० शान्ति तथा मैत्री सन्धि त्यसकै परिणाम थिए । नेपाल भारत सम्वन्धलाई आजको सन्दर्भमा नयाँ मोडमा अघि बढाउने हो सन् १९५० को शान्ति तथा मैत्री सन्धिको ठूलो दाजुको विरासतबाट बाहिर आउन सक्नु पर्दछ । भारतीय परराष्ट्रमन्त्री सुषमा स्वराजको पछिल्लो नेपाल भ्रमणका समयमा भएका पुराना सन्धि सम्झौताहरूको पुनरावलोकन गर्न भएको सहमती यस परिप्रेक्ष्यको निकै नै महत्वपूर्ण कदम हो । मोदीको भ्रमणले त्यस दिशामा अझै ज्यादा जोड र महत्व पाएको ठान्न सकिन्छ । तर यस विषयलाई नेपाली जनताको संवेदनशीलतालाई ध्यानमा राखेर विश्वास जित्ने अवसरका रुपमा मात्रै उपयोग गरिने त होइन भन्ने कुरामा भने सचेत हुनै पर्दछ ।

नेपाल र भारत बीचको सम्वन्धमा नेपालका लागि आवश्यकता र बाध्यताका दुबै पक्ष उत्तिकै प्रवल हुने गरेका छन् भने भारतका लागि भने त्यस प्रकारको स्थिति देखिँदैन । यसरी दुई राष्ट्र बीचको फरक फरक मनोविज्ञानका कारणले पनि सम्वन्धहरू पारस्पारिक हित र लाभमा आधारित भएर अघि बढाउन सकिएको छैन । नेहरूका पालादेखिनै भारतको चाहना ठूलो दाजुका रुपमा नेपालसंग व्यवहार गर्ने र नेपाललाई आफ्नो प्रभावमा रहेको एक आश्रित राष्ट्र बनाउने किसिमको रह्यो ।भारतीय सुरक्षा छाताभित्र नेपाललाई राख्ने कोशिस अविछिन्न रह्यो । तर नेपाल भने आफ्नो आवश्यकता र बाध्यताका कारणले कतिपय अवस्थामा उसका कुरा मान्नु परे पनि एक स्वतन्त्र र सार्वभौम राज्यका पक्षमा दृढतापूर्वक उभिँदै आयो । यसरी दुई पक्ष बीचको भिन्न मनोविज्ञानका कारणले नेपाल र भारतका बीचको सम्वन्ध निरन्तर र अविच्छिन्न रहँदा रहँदै पनि त्यो कहिल्यै पनि शंसय र समस्याबाट मुक्त रहेन । आई के गुजराल भारतीय प्रधानमन्त्री भएका समयमा उनले आफ्ना छिमेकीहरूसंगको सम्वन्धका बारेमा केही नयाँ कुरा ल्याउने संकेत देखाएका थिए । त्यतिबेला उनको त्यो धारणा गुजराल डक्ट्रिनका नाममा चर्चित पनि भयो । तर छोटो समय मै उनी सत्ताबाट बाहिरिए संगै उक्त डक्ट्रिनको अवसान भएको थियो ।

केही नयाँ गर्ने महत्वाकांक्षा बोकेको नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएपछि नेपाल भारत सम्वन्धमा त्यस्तै केही नयाँ कुराको अपेक्षा राखिनु स्वभाविक थियो । भ्रमणका क्रममा मोदीले त्यो मनोविज्ञानलाई वुझेर राम्ररी नै सम्वोधन गर्ने काम गरे । तर पानी र जवानी पहाडमा अड्न नसक्ने प्रसंग अघि सारेर घुमाउरो भाषामा उनले भारतसंगको जलश्रोत सम्झौताका लागि तयार हुन नेपाली पक्षलाई आग्रह पनि गरे । मोदीले मित्रताका हात अघि वढाएर आफ्ना हितहरूको पूर्ति गर्न चाहन्छन् भन्ने कुरा पनि राम्ररी नै देखाए ।तर उनी आफ्ना हितका लागि नेपालका हितको रक्षा गर्न कतिसम्म उदार होलान् भन्ने कुरा भोलीका दिनमा देखिने कुरा हो । विशेष गरी आगामी दिनमा नेपाल र भारतका तर्फवाट सहमतिका लागि अघि सारिने प्रस्ताव र त्यस प्रतिको भारतीय पक्षको दृष्टिकोण प्रकट हुने छ । जसका वारेमा अहिले नै सकारात्मक वा नकारात्मक टिप्पणी गर्नु हतार हुनेछ ।

नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाली जनताको मन जसरी जित्न राम्ररी नै सफल रहे यसले नेपाल भारत सम्वन्धका लागि नयाँ अवसर संगै चुनौती पनि उत्पन्न गरिदिएको छ । नेहरू विरासतलाई तोडेर केन्द्रीय सत्तामा आफ्नो वलवुतामा पुगेका कारणले मोदी त्यसबाट बाहिर आउन चाहन्छन् भन्ने कुरा स्पष्ट भएको छ । नेपाल भ्रमणका क्रममा उनले त्यसको संकेत भने राम्रै संग दिन पुगे । त्यसका क्रममा उनले नेपालको सार्वभौमसत्ताको उच्च स्वरमै सम्मान गरे । वुद्धभूमिका रुपमा नेपालको पटक पटक चर्चा गरे ।नेपाली जाती र गोर्खाहरूको खुलेर प्रसंसा गरे । संघिय लोकतान्त्रिक गणतन्त्रका पक्षमा आफ्नो सम्मान र समर्थन व्यक्त गरे । समयमै संविधान निर्माणमा जोड दिए । युद्धवाट वुद्ध तर्फको यात्रामा अघि वढेको भनेर नेपालको शान्ति प्रकृयाको प्रसंसा गरे । त्यस क्रममा आर्थिक मुद्दामा केन्द्रित उनका विचारहरूवाट उनले नेपाल भारत सम्वन्धको जडतालाई तोड्ने आफ्नो संकल्प पनि प्रकट गरे । यसरी सपनाको सौदागारका रुपमा परिचित नरेन्द्र मोदीले वास्तवमै नेपाली जनता सामु मित्रताको नया भाव छोडेर गए । तर यी सवै कुराहरू भावनात्मक विषय नै हुन् । वास्तविक कुरा त आजको परिप्रेक्षमा सम्वोधन गर्नु पर्ने मुद्दाहरू हुन् । त्यसमा भने कुनै ठोस प्रगति हुन सकेन । ती हिजो जस्ता थिए अहिले पनि त्यस्तै छन् । मात्र अविश्वासवाट विश्वास तर्फको याया सुरु हुने हो कि भने आशा थपिएको छ ।

सम्वन्ध भनेको एकपक्षिय हुदैन । त्यो दोहरो नै हुन्छ । के दिने भन्ने कुरासंग के पाउने भन्ने कुरा पनि जोडिएको हुन्छ । मोदीलेमित्रताको हात अघि वढाउने क्रममा राखेको अपेक्षाहरूजो भ्रमणका क्रममा खासै वाहिर आएनन् त्यो भविष्यका दिनमा वार्ताको टेवलमा प्रकट हुनेछन् । त्यतिवेला नै नरेन्द्र मोदीको उदारता र मित्रताको सही मानेमा परख हुनेछ ।मोदीको पहिलो भ्रमणको क्रममा तयार भएको सकारात्मक मनोविज्ञान सार्क सम्मेलनका क्रममा हुने उनको दोस्रो भ्रमणका समयमा कायम रहनु जरुरीछ । त्यतिवेलाको सम्वन्ध भावनात्मक भन्दा वस्तु परक हुनेछ । ठोस सहमती र सम्झौतामा आधारित हुनेछ । अनित्यतिवेला भन्न सकिने छ मोदीको नीति वास्तवमै कति फरक छ र छिमेकीहरूसंगको सम्वन्ध विकास गर्ने कुरामा केन्द्रीत छ । साँच्चै भाषणमा झै सहमती र सम्झौतामा पनि मोदी उदार देखिन भने भन्नै पर्ने हुन्छ नेपाल भारत सम्वन्ध नयाँ युगमा प्रवेश गऱ्यो । त्यतिन्जेलसम्मका लागि नेपालले राम्रो गृहकार्यका साथ उनको दोस्रो भ्रमणको प्रतिक्षा गर्नु वुद्धिमानी हुनेछ ।