२९ आश्विन २०८३, बिहिबार

रोइदिने पनि बाँकी रहेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchokसिन्धुपाल्चोक, २० साउन । सीमा नाका तातोपानीमा बसेर खासा व्यापारीको सहयोगीको काम गर्दै आएका बुद्ध तामाङ (कालु) हरेक शुक्रबार घर आउँथे।

दुई रात परिवारसँग बिताएर फर्कन्थे। दस वर्ष यसैगरी बित्यो।

त्यो शुक्रबार भने उनी घर फर्कन पाएनन्।

‘गाडी पाइएन, आज घर आउन नसक्ने भएँ,’ कालुले बेलुकी श्रीमती कान्छीलाई फोन गरेर भने।

‘कोदो रोप्नु छ, भोलि (शनिबार) बिहानसम्म त जसरी भए पनि आउनू,’ कान्छीले आग्रह गरिन्।
‘ल ल हुन्छ, आउँला,’ कालुले आश्वासन दिए।

शनिबारको घाम नउदाउँदै कालु जन्मेहुर्केको आँगनमा यस्तो प्राकृतिक विपत्ति आयो, सारा परिवारलाई एकसाथ चुँडेर लग्यो। ४१ वर्षीय कालु एक्ला भए। त्यही फोनवार्ता नै कालु र उनकी श्रीमती कान्छीको अन्तिम कुराकानी हुन पुग्यो।

कालुको जिन्दगीको घाम कहिल्यै नउदाउने गरी अस्तायो।

छेवैको कान्ले खोलाले घर बगाएर एक किलोमिटर तल सुनकोसी नदीमा मिलाइदिँदा कालुका बाबुआमा, चार छोराछोरी, श्रीमती र सानैदेखि सँगै बस्दै आएका भान्जासहित ८ सदस्य पहिरोमा बेपत्ता भएका छन् भन्दै आजको नागरिक दैनिकले समाचार छापेको छ ।

मान्छे जिन्दगीभर बाँच्नकै लागि संघर्ष गर्छ, तर कहिलेकाहीँ जिन्दगी मृत्युभन्दा भयंकर हुँदो रहेछ। गाडी नपाएर आफू बाँचेकोमा रौं बराबर चैन छैन कालुलाई। बरु सबै गुमाएर एक्लै बाँच्नु पर्दा पश्चाताप छ, ग्लानी छ। भयानक वेदनाले छाती पोलेको छ।

‘एक्लै बाँच्न लेखेको रहेछ,’ तीन दिनदेखिको रुवाइले सुन्निएका आँखाको डिल पुछ्दै उनले सोमबार भने, ‘सम्हालिएर बाँच्ने पो कसरीर’

त्यस दिन श्रीमतीको बचन राख्न तातोपानीबाट बाह्रबिसे आइनपुग्दै उनले सुनकोसी थुनिएको सुनेका थिए। आफ्नो जीवनमा यति ठूलो पहिरो आउला भन्नेचाहिँ सोचेकै थिएनन्।

‘सुनकोसीले बर्खामा कुनै न कुनै समस्या ल्याउने भएकाले सामान्य सोचेको थिएँ। यति ठूलो विपतको कल्पना गरेको थिइनँ,’ सुनकोसीमा आफन्त खोजिरहेका कालुले भक्कानिँदै भने।

३६ वर्षीया कान्छी केटाकेटीको लालनपालन, वृद्ध सासू–ससुराको स्याहार गरेर घरव्यवहार चलाउँथिन्। कालु तातोपानीमा मजदुरी गरी कमाइ गरेर घर पठाउँथे।

उनका १० देखि १४ वर्षका तीन छोरा अजय, विजय र मिलन सुनकोसी ड्यामस्थित बनसाँघु माविको कक्षा ५ मा पढ्थे। १६ वर्षीया जेठी छोरी लालमाया ५ कक्षापछि पढाइ छाडेर घरको काम सघाउँदै थिइन्।