शान्तिका दूत भगवान वुद्धको पावन जन्मभूमी, नेपाल । तथ्य मात्र हैन, ध्रुवसत्य हो यो । तर, यदाकदा भारतका अतिवादीहरु बुद्धको जन्मभूमीलाई लिएर जे पायो त्यही बोल्छन् र वितण्डा मच्चाउने दुस्साहस गर्छन् । त्यसपछि के चाहियो र ?, नेपालमा पनि सुरु हुन्छ त्यसको क्रिया प्रतिक्रिया । शायद, त्यसको छनक पाएर हुनसक्छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको सार्वभौमसत्ता सम्पन्न संविधानसभामै भनी दिए, वुद्ध जन्मभूमी नेपाल । योभन्दा मोदी माहेरभन्दा ठूलो लालमोहर त अब के होला र ?
लु जा अब चाँहि हाइसञ्चो भयो है ।
अब परदेशमा कुनै पनि प्रकारको बुद्ध व्यापार या वुद्ध खेती नचल्ने भो । एकपटक मात्र हो र पाँच पाँचपटक पो भनेछन्, नेपाल वुद्धभूमी भनेर आफ्नो सम्वोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । यो परदेशको महंगो समय साह्रै धेरै खेर गएको थियो, कहिले अन्तर्राष्ट्यि सञ्जाल निर्माण, कहिले विरोधपत्र, कहिले लाखौंको हस्ताक्षर संकलन र हस्तान्तरण अनि कहिले चलचित्र निर्माण । अझ भित्र भित्र के के हो के ? हुन त के बेर खेती गर्न पल्केकाहरुले मोदीले बुद्धभूमी त भने तर बुद्ध वाज बर्न इन नेपाल त अझै भनेका छैनन् कि भनेर फेरि अत्तो थाप्न सुरु पो गर्ने हुन् कि ? लु है साथी हो, परदेशमा गर्नुपर्ने र गर्न सकिने थुप्रै काम छ अब चाँहि कामतिर लागौं कि ?
यसपालिको अन्तर्राष्ट्यि मित्रता दिवसका दिन मेरा मित्र शैलेस श्रेष्ठले अमेरिकाबाट ह्यापी फ्रेन्डसिप डे लेखेनन्, उपर्युक्त फेसबुक स्टाटस बाँडे । तर्कभन्दा तथ्यलाई पछ्याएर हिड्ने शैलेस नेपाल छुँदै उल्टो गंगा बगाउने एक प्रतिवद्ध रंगकर्मी थिए । आफू पनि विलोममा अक्षरको फालिम लगाउने एक अक्षरकर्मी, वेभलेन्थ मिल्यो र हामी साथी भयौं । हाम्रो मित्रताको आधार थियो, एउटै रंगको झण्डा बोकेर गरिएको त्यतिबेलाको वाम राजनीति अर्थात् यथास्थितिको विरोध गर्ने मध्यमवर्गीय सोच । हामीले जे सोचेर जुन पार्टीका लागि राजनीति गर्यौं, त्यो हाम्रो बुताको विषय नै रहेनछ । त्यो बुझ्दा शैलेस अमेरिकामा थियो, म नेपालमा । अहिले उनी त्यही स्प्रिटमा न्युयोर्कको ह्वाइट हिमाल टेलिभिजनमा टसाप्ताहिक टेलिभिजन कार्यक्रम सम्प्रेषण चलाउँछन् । वागी तेवरको सम्प्रेषणलाई उनले भनेका छन्, यो समाचार हैन, सम्प्रेषण हो । अहिले यही पे अफ लाइनमा उनले पोर्टल यात्रा पनि सुरु गरेका छन्, धधध।कबmउचभकजबलगकब।अयm । अमेरिकास्थित नेपाली डायस्पोराको तेस्रो आयाम बुझ्न उनको यो नयाँ पोर्टल साधन पनि भएको छ, साध्य पनि । विहानीले दिउँसोको संकेत गर्छ भनेझैं ब्लग कम पोर्टल स्वरुपको यो साइटले गतिलै इनिसियल दिएको छ ।
प्रसंग बुद्ध वाज बर्न इन नेपालको हो । एक वर्ष अघि एउटा अभियान चलाइयो, बुद्ध वाज बर्न इन नेपाल । अमेरिका प्रवासमा रहेका केही नेपालीले चलाएको यही अभियानअन्तर्गत कुनैबेलाका सञ्चारकर्मी रवि लामिछानेले म्याराथन टक शो चलाए र गिनिज बुक अफ वल्र्ड रेकड्र्समा आफ्नो नाम दर्ज गराए । नेपालका विज्ञापन व्यावसायी निर्मल पौडेल संयुक्त राष्ट् संघका महासचिव बान की मुनलाई लाखौंको हस्ताक्षर हस्तान्तरण गर्न युएनप्लाजा पुगे । उता पश्चिमतटस्थित क्यालिफोर्नियाका प्रेम गुरागाई यही अभियानमा चुर्लुम्म डुबेका छन् । अमेरिकाको पेन्सेल्भेनिया राज्यका लागि अवैतनिक महावाणिज्यदूत प्रमेराजा महत पनि यसको पछाडि जमेरै लागेका छन् । पुराना कलाकार रमित ढुंगानाले त निर्देशक ज्ञानेन्द्र देउजालाई न्युयोर्क बोलाएर चलचित्र बुद्ध वाज बर्न इन नेपाल नै बनाए । यता नेपालमा पनि गायक धिरज राई जमेर यस अभियानमा लागेका छन् । जे होस्, नेपालदेखि अमेरिकासम्म सानै आकारमा सही, अभियान जारी छ ।
सिक्काको दुई पाटा हुन्छन् भनेझैं एउटा पाटाका नेपाली यसमा लागे पनि अर्को पाटाका नेपालीलाई यो अभियान पटक्कै मन परेको थिएन । कोठा चोटामा मात्र हैन, सार्वजनिक समारोहहरुमै पनि उनीहरु तर्क गरिरहेका भेटिन्थे, जब बुद्ध नेपालमै जन्मेका हुन् भन्ने तथ्य छ, ध्रुव सत्यलाई तर्क गरेर तथ्यमा बदल्न आवश्यक नै छैन । यो त पृथ्वी गोलो छ भनेर फेरि अभियान चलाएजस्तै हो । यो एक किसिमको सस्तो स्टन्ट हो । यसले स्थापित सत्यलाई गिजोल्ने र गिज्याउने काम मात्र गर्छ । केही कुत्सित मन भएका भारतीयले भने भन्दैमा त्यसैको पछि लागेर बचाउ गर्न आवश्यक नै छैन । यो समयको बर्बादी र बचकनापन मात्र हो । बचाउ गर्ने पक्षसँग खासै दमदार तर्क नभए पनि नेपालको प्रतिष्ठासँग गाँसिएको यो विषयलाई विवादमा घचेट्नेसँग काउन्टर दिन चालिएको यो अभियान हो । यसले त्यस्तो सोच राख्नेविरुद्ध जबर्जस्त जनमत बन्छ र यो सत्यतिर आँखा लगाउनसमेत उनीहरुको हिम्मत हुँदैन ।
नेपालीमा एउटा भनाइ छ, कुलो र कुरोलाई जता लगे पनि हुन्छ । बुद्ध वाज बर्न इन नेपाल तथ्य हो । तर, यसलाई तर्कको विषय बनाएर तर्कका लागि तर्क मात्र गर्ने हो भने जसरी पनि गरे हुन्छ, तर्क । पछिल्लो समय भएको पनि त्यही हो । यो अभियान आवश्यक थियो या थिएन, त्यसमा आआफ्नो मत होला । जे भए पनि यो चर्चा विषय भएको थियो सकारात्मक अनि नकारात्मक दुबै कोणबाट ।
यतिकैमा झण्डै तीन महिनाअघि भारतमा तुफानी प्रधानमन्त्री आए, नरेन्द्र मोदी । १२ वर्षमा त खोलो पनि फर्कन्छ भन्थे । तर, भारतका प्रधानमन्त्रीलाई दशगजा नाध्न १७ वर्ष लाग्यो । उनी यस वर्षको अन्तराष्ट्यि मित्रता दिवसकै दिन पारेर नेपाल आए । उनले नेपाल र भारतबीच रहेका शंका र अविश्वासलाई हटाउनमै आफ्नो भ्रमणलाई केन्द्रित गरे ।
मोदीले यसरी पटक पटक बुद्धको प्रसंग उप्काउँदै भने,
– यो त्यो भूमी हो जसले विश्वलाई अचम्मित पार्ने भगवान बुद्धलाई जन्म दियो । यस्तो एक सांसकृतिक विरासतको धनी ।
– …. युद्धपछिको शान्तिको खोजीको निस्कनुभएका सम्राट अशोक युद्ध छोडेर वुद्धको शरमा जानुभएको थियो । …. जसले बुलेट छोडेर ब्यालेटको बाटोमा जाने संकल्प गर्नुभयो । ….. म उहाँहरु सबैलाई अभिनन्दन गर्छु युद्धबाट वुद्धमा जानुभयो । यो सदनले वुद्धतर्फको यात्रालाई अनुमोदन गर्छ ।
– नेपालमा जन्मेका वुद्धले मनको अध्यारो हटाएका थिए, विचारको प्रकाश ल्याएका थिए । को शरणमा जानु भएको थियो । त्यो एउटा स्वर्णिम पृष्ठ लेखियो ।
– सवा करोड जनसंख्या तपाईको छिमेकमा छ । कुनै न कुनै बेला ….. भगवान वुद्धको सामुन्ने आएर शान्तिको सन्देश लिन चाहन्छन् ।
– वुद्धको भूमीमा विचारको कमी छैन, संकल्प शक्तिको कमी हुने छैन ।
भारतका कार्यकारी प्रमुख मोदीले यसरी नेपालको सार्वभौमसत्ता सम्पन्न संविधानसभामा नेपाललाई वुद्धभूमी भनिसकेपछि पनि बुद्ध वाज बर्न इन नेपाल भनेर अलाप लिनु वेमौसमको बाजा जस्तै हो । त्यसैले अव यो नारा पनि असान्दर्भिक भयो, औचित्य पनि सकियो । एक किसिमले यसो भनौं, यो च्याप्टर नै बन्द भयो । खाली नारा र सस्तो स्टन्टका लागि केही गर्ने हो भने त्यसका लागि अरु हजारौं विषय छन् । वुद्धजस्तो पवित्र विषयलाई अब त्यसरी जबर्जस्ती घचेट्ने काम नगर्दा नै राम्रो होला । सायद, मेरो मित्र शैलेसको आग्रह पनि यही हो ।
विट मार्नुअघि फेरि एकपटक मित्र शैलेसकै प्रसंग उप्काऔं । गत साल अमेरिकामा भेटिदा उनी भन्दै थिए, बुद्ध वाज बर्न इन नेपाल, यो पनि कुनै भनिररहनु पर्ने कुरा हो र ? मलाई पनि यस्तै लाग्थ्यो र भनें, हो साथी । यो एक किसिमको बहुलठ्ठीपन नै लाग्छ मलाई । तर के गर्ने हाम्रोमा उत्तरदायित्व बिनाको छाडातन्त्र छ, जसलाई प्रजातन्त्र भन्न थालियो । आफ्नो अधिकारको उपयोग गर्दा अर्काको अधिकार हनन हुनु हुदैन भन्ने सोचको विकास नै हाम्रोमा भउको छैन । त्यसैले कुनै अभियान चलाउँदा त्यसका असरहरुको बारेमा हामी सोच्दै सोचेनौं । यही अभियानमा पनि कतिपय वुद्धमार्गीहरुले यसमा संलग्न हिन्दूहरुले आफ्नो भावनामाथि कुठाराघात गरेको पनि भनेका थिए । हामीले यो पक्षलाई पनि किमार्थ बिर्सनु हुदैन ।
जे होस्, ढिलै भए पनि बुद्ध वाज बर्न इन नेपाल अभियान चलाउनेहरुको घैंटोमा घाम लागेको हुनुपर्छ । भारतका कार्यकारी प्रमुख मोदीले नेपालको सार्वभौम सम्पन्न संविधानसभामै आएर भने, वुद्ध जन्मभूमी नेपाल । भारतको तर्फबाट योभन्दा आधिकारिक भनाइ अर्थात् लालमोहर के हुन सक्ला र ? आशा गरौं, मित्र शैलेसले भनेजस्तै अब यसलाई काम बनाएकाहरु प्रकारान्तरमा बेकामे भएका छन् । र, काममा लाग्नुपर्ने डिलमा उभिएको हुनुपर्छ । आगे, उनीहरु नै जानुन् ।














प्रतिक्रिया