उदयपुर, १९ साउन । दुई दिनअघि सिन्धुपाल्चोकको माङ्खा र राम्चेबीचको जुरेमा पहिरो गएर सुनकोसी नदी थुनिएपछि जिल्लाको १९ गाविसका कोसी किनारका जनता अहिले कोसीको खतरा कम हुने संकेतपछि विस्तारै घर फर्कन थालेका छन् ।
सिन्धुपाल्चोकको जुरेमा कोसी थुनिएर फुट्ने खतरा बढेपछि उदयपुरका १९ गाविसका कोसी किनार क्षेत्रका सात हजारभन्दा बढी जनता अन्यत्र सुरक्षित स्थानतर्फ गएका थिए भने जिल्लाको कोसी क्षेत्रमा व्यापक त्रासदी फैलिएको थियो ।
अहिले कोसीको खतरा कम हुँदै आएको कारण उनीहरू विस्तारै घर फर्कन थालेको उदयपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताउनुभयो ।
प्रजिअ थपलियाले भन्नुभयो–“पहिलो सिन्धुपाल्चोकमा सुनकोसी थुनिएको खबर पाउने बित्तिकै आफूहरूले जिल्लाको सुनकोसी क्षेत्रका जनतालाई घर छाडेर सुरक्षित स्थानतर्फ जान सतर्क गराएका हौँ, अहिले खतरा कम हुन थालेपछि उनीहरू घर फर्कन थालेका छन् ।”
सिन्धुपाल्चोकमा सुनकोसी थुनिएको खबर पाउने बित्तिकै उदयपुरमा कोसी किनार क्षेत्रका १९ गाविसका जनतालाई सुरक्षित स्थानमा जान गाविससचिव तथा प्रहरी र स्थानीय सञ्चारमाध्यममार्फत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताउनुभयो ।
अहिले जिल्लाको अवस्था सामान्य रहे पनि सुनकोसी किनार क्षेत्रको मुख्य भागमा प्रहरी परिचालन गरिएको उदयपुरका प्रहरी उपरीक्षक अजय भट्टराईले बताउनुभयो ।
जिल्लाको सुनकोसी क्षेत्रको घुर्मी, बाँसबोटे, रामपुर ठोक्सिला, तपेस्वरी, मैनामैनी लगायतका मुख्य क्षेत्रमा प्रहरी निरीक्षक तथा प्रहरी नायब निरीक्षकको नेतृत्वमा झन्डै सयजना प्रहरी परिचालन गरिएको जानकारी उहाँले दिनुभयो ।
अहिले पनि जिल्लाको सुनकोसी किनारका सबै जनता घर फर्किनसकेको र केही फर्कंदै गरेको तथा केही फर्कने क्रममा रहेको सम्बन्धित क्षेत्रका गाविस सचिवले बताएका छन् ।
यता, विहारभा भने अहिले कोसीमा बाढी आउन सक्ने भन्दा उच्च सतर्कता अपनाइएको छ ।
















प्रतिक्रिया