संखुवासभा, १९ साउन । गएराति संखुवासभाको स्याबुन–३ मा गएको पहिरोले एकजनाको मृत्यु हुनाका साथै तीन परिवारका सबै सदस्य बेपत्ता भएका छन् ।
पहिरोमा परी आठ वर्षीय प्रज्वाल कोइरालाको लास भेटिएको छ भने मृतकका हजुरबुबा इन्द्रबहादुर, बुबा पूर्ण, आमा सम्झना र भाइ रोशन कोइराला बेपत्ता भएका छन् ।
त्यस्तै मेहरमान कोइराला र उनकी श्रीमती कुमारी पनि हराइरहेका छन् । यसैगरी अर्का परिवारका कृतिमान कोइराला, देवीमाया कोइराला र तुलसा कोइराला पनि बेपत्ता रहेका छन् ।
पहिरोबाट १४ परिवार विस्थापित भएका छन् । विस्थापितमध्ये चार घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कमल थापाले बताउनुभयो ।
घटनास्थलमा प्रहरी, सशस्त्र, सेना तथा स्थानीयवासी उद्धार कार्यमा खटिसकेका छन् । हालसम्म के कति धनजन तथा पशुचौपायको क्षति भएको यकिन जानकारी भइनसकेको नेपाली काँग्रेस जिल्ला सचिव थिरबहादुर राईले बताउनुभयो । उहाँका अनुसार स्याबुनको कुसुवामा समेत पहिरो गई आठ घर उच्च जोखिममा रहेका छन् ।
















प्रतिक्रिया