२९ आश्विन २०८३, बिहिबार

पहिरोमा बेपत्ता संख्या डेढ सय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunkosiसिन्धुपाल्चोक, १९ साउन । कान्ले पहिरोमा परिवार र घरबास गुमाएकाहरु स्थानीय प्रहरी–प्रशासनको सम्पर्कमा आउन थालेका छन्। राजधानीलगायत स्थानमा बस्ने आफन्त रुवाबासी गर्दै बेपत्ता परिवार खोज्न सुरक्षाकर्मीसँगै जुटिरहेका छन्।

स्थानीय प्रशासनले अनुमान गरेभन्दा बढी व्यक्ति पहिरोमा बेपत्ता भएका छन्। आइतबार साँझसम्म बेपत्ता हुनेको संख्या १ सय ५१ पुगेको छ। ६१ घर बगेका छन्। यसअघि स्थानीय प्रशासनले ५० घर बगेको र सयजना बेपत्ता भएको अनुमान गरेको थियो।

जिविसमार्फत गाविस सचिव र स्थानीय जानकारको मद्दतमा हराएका र बेपत्ताको संख्या यकिन गरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए। ‘दुवै संख्या अझै बढ्न सक्छ,’ उनले भने। पहिरोले मांखा कागुनेका २४, इटिनीका १५, ड्यामका १९ र टेकानपुरको दाबीगाउँका १५ घर बगाएको छ। ड्यामनजिक राम्चे गाविसको तीन घर बगेका छन्।

पहिरोले इटिनीको १० घर बगाएकोमा आइतबार बाँकी पाँच घर पनि बगायो। एकबाहेक सबै घरका भागेर बाँच्न सफल भए। एकै परिवारको आठ जनासम्म बगेका छन्। परिवारै गुमाएर अन्यत्र भएकाले बाँच्नेको संख्या पनि केही देखिएको प्रहरीले जनाएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

सुरक्षाकर्मी, स्थानीय र पीडित परिवारले आइतबार दिनभर पहिरोमा बेपत्ताको खोजी गरे। खोजीबाट थप एक बालिकाको शव फेला परेको डिएसपी भरत बोहराले बताए। मांखा–१, ड्यामकी सात वर्षीया सुआना श्रेष्ठ मृत फेला परेकी हुन्। यो समेत मर्नेको संख्या नौ पुगेको छ।

शनिबार आठ शव फेला परेको थियो। सबै शव जिल्ला अस्पताल चौतारामा राखिएको छ। सम्भावित संकटका कारण शव सदरमुकाम ल्याइएको स्थानीय प्रशासनले जनाएको छ। तीन शवको अझै सनाखत हुन सकेको छैन। यीमध्ये एक व्यक्तिको हात मात्र फेला परेको छ।