![]()
काठमाडौं, १९ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीच १९५० को शान्ति तथा मैत्री सन्धिमा नेपालले चाहेको परिवर्तनप्रति आफू सकारात्मक रहेको बताएका छन्।
प्रधानमन्त्री सुशील कोइरालाद्वारा सोल्टी होटेलमा दिइएको रात्रिभोजमा कोइरालाको भाषणको प्रत्युत्तरमा उनले भने, ‘तपाईंहरू मिलेर कस्तो परिवर्तन चाहानुहुन्छ, म खुला दिमागले त्यसलाई हेर्नेछु। नेपालमा तीव्र परिवर्तनको चाहना छ र प्रगति तथा विकासको प्रचुर सम्भावना छ। राम्रो भयो, म आफ्नो कार्यकालको प्रारम्भमै यहाँ आएँ, मेरो कार्यकालको बाँकी समय नेपालसँग विकास र प्रगतिको सहकार्यमा अगाडि बढ्नेछु।’
सन् १९५० को सन्धिलाई लिएर अनेक शंका र उपशंका आवश्यक नभएको बताउँदै उनले भने, ‘हामो साझा यात्रामा कुनै कुरा बाधा बन्नु हुँदैन।’ मोदीले नेपाल र भारतबीच यदाकदा अविश्वास, शंका, उपशंका उठ्ने गरेको प्रसंग निकाल्दै भने, ‘भारत नेपालको एकदमै नजिक र विश्वसनीय मित्र हो, हजारौं वर्षको इतिहासमा उसले कहिल्यै धोका दिएको छैन र दिँदैन पनि।’
मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री सुशील कोइरालाले नेपालका महत्त्वपूर्ण राजनीतिक आन्दोलनहरूमा भारतले विशेष सहयोग पुर्याउँदै आएको बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । उनले भने, ‘अगाडिका दिनमा भारतले अन्तर्राष्ट्रिय समुदायमा अझ बढी महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने नेपालको चाहना छ।’ आउने दिनमा भारत र नेपाल आर्थिक विकास र दिगो समृद्धिको मार्गमा साथसाथ अघि बढून् भन्ने नेपालको चाहना रहेको पनि उनले बताए।















प्रतिक्रिया