काठमाडौँ, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभा व्यवस्थापिका–संसदमा गर्नुभएको सम्बोधनलाई राजनीतिक दलका नेताहरूले सकारात्मक भन्दै नेपाल–भारतबीचको सम्बन्ध थप उचाईमा पुग्ने बिश्वास व्यक्त गर्नुभएको छ ।
सदनमा मोदीको सम्बोधनपछि संविधानसभा भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै उहाँहरूले दुई मुलुकको सम्बन्धलाई नयाँ उचाईमा उठाउन आगामी दिन सहायक सिद्ध हुन्छ भन्नु भयो ।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई देशबीचको मैत्री सम्बन्ध सहि दिशामा अगाडि बढाउने आधार प्रधानमन्त्री मोदीको सम्बोधनले तय गरेको बताउनुभयो ।
उहाँले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध राजनीतिक तहमा अझै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधान लेखनलाई सहयोग पु¥याउने भारतीय प्रतिवद्धता सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।
‘भारतीय प्रम मोदीको सम्बोधनले नयाँ आयामको सुरुवात भएको छ,यसलाई आपसी विश्वासका आधारमा अगाडि बढाउनुपर्छ ।’ अध्यक्ष दाहालले भन्नुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले १७ वर्षपछि भारतीय शीर्ष तहबाट भएको सम्बोधन र आपसी हितका विषयमा आएको महत्वपूर्ण अभिव्यक्ति आफैमा महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।
उहाँले नेपालको समृद्धि नै भारतको समृद्धि हुने भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति नै महत्वपुर्ण र उल्लेखनिय रहेको प्रतिक्रिया दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ,नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्रीको सम्बोधन उत्साहजनक र सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।
मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नेपाल भारत सम्बन्धलाई अझ सुदृढ गर्न सम्बोधन महत्वपूर्ण छ भन्नु भयो ।
मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुग्ने र आपसी विश्वास र हितका विषयमा अझै निकटको सम्बन्ध स्थापित हुने अभिव्यक्ति दिनुभयो ।
















प्रतिक्रिया