काठमाडौँ, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे नेपाल भ्रमणका क्रममा आइतवार नेकपा–माओवादीले गर्ने भनेको विरोधका कार्यक्रम फिर्ता लिएको छ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले मोदीको भ्रमणका क्रममा भारत र नेपालबीच ऊर्जा विकास सम्झौता (पिडिए) र ऊर्जा व्यापार सम्झौता (पिपिए), सीमा नक्सा सम्झौतालगायतका सम्झौता नहुने भएकाले आफूहरुको आन्दोलन फिर्ता लिएको जानकारी दिनुभएको हो ।
उहाँले सरकारका प्रतिनिधिहरुले आफूहरुसँग भारतसँग पिडिए, पिपिएलगायतका सम्झौता नहुने जानकारी गराए पछि पूर्व घोषित विरोधका कार्यक्रम फिर्ता लिइएको स्पष्ट पार्नुभयो ।
भ्रमणका क्रममा आफूहरुको मोदीसँग भेटघाटको कार्यक्रम नरहेको समेत उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मोदीसँग भेट गर्नेबारे कुनै छलफल भएको छैन, परराष्ट्र मन्त्रालयले मोदी सहभागी भोजमा सहभागिताका लागि आग्रह गरेको थियो, उहाँहरुलाई हाम्रो पार्टीको बैठक भएकाले उपस्थित हुन नसक्ने जानकारी गरायौँ ।’
उहाँले आफ्नो पार्टीले मोदीको भ्रमणको विरोध गरेको नभई भ्रमणका क्रममा गर्ने भनिएका असमान सन्धि, सम्झौताको मात्रै विरोध गरेको स्पष्ट पार्नुभयो ।
आफ्नो पार्टीसहित तेत्तीस दलीय मोर्चा, देशभक्त नेपालीको तीव्र विरोधका कारण नेपाल सरकारको लगानी बोर्ड र भारतीय कम्पनी जिएमआरको बीचमा माथिल्लो कर्णाली परियोजनाको ऊर्जा विकास सम्झौता (पिडिए) गर्नेलगायतका राष्ट्रहित विपरीतका सन्धि हुन नसकेको अध्यक्ष वैद्यको दाबी थियो ।














प्रतिक्रिया