काठमाडौं, १८ साउन । सिन्धुपाल्चोकको जुरेस्थित सुनकोसी नदी थुनिएको ठाउँबाट शनिबार साँझदेखि सामान्य गतिमा पानी बग्न थालेपछि सर्वसाधारणले यतिखेर राहतको अनुभूति गर्न थालेका छन् ।
सप्तकोसीको सहायक नदीका रुपमा रहेको सुनकोसीको थुनिएको पानीले एक्कासि ढिस्कोलाई फोड्दै तीव्र गतिमा सप्तकोसीमा मिसिएर प्रवाह भएको खण्डमा ठूलो जनधनको क्षति हुनसक्ने डरले पूर्वाञ्चलका सात जिल्लाका ५१ गाविसका बासिन्दा त्रसित अवस्थामा थिए ।
पूर्वाञ्चलका सप्तरी, सुनसरी, उदयपुर, भोजपुर, ओखलढुङ्गा, खोटाङ र धनकुटा जिल्लाका नदीआसपासका करिब ६०० जनालाई सुरक्षित स्थानमा सारिएको र यस कार्यका लागि तीन हजार सुरक्षाकर्मी परिचालन भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले खतरा अझै टरेको छैन तर सामान्य गतिमा थुनिएको पानी बग्न थालेपछि तत्कालका लागि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम स्थगित गरिएको बताउनुभयो ।
सुरक्षाकर्मी सतर्क अवस्थामा प्रभावित क्षेत्रमा कार्यरत रहेको र अवस्था बिग्रने सङ्केत पाउना साथ मानिसहरुलाई सार्ने काम सुरु गरिने उहाँले जानकारी गराउनुभयो ।
















प्रतिक्रिया