काठमाडौँ, १७ साउन । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट आन्तरिक गुटबन्दी अन्त्य भएको बताउनुभएको छ ।
एमाले पाल्पा–काठमाडौँ सम्पर्क मञ्चले राजधानीमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले नयाँ कार्यसमिति चयनका लागि प्राविधिक रुपमा गुट उपगुट भए पनि महाधिवेशनसँगै गुटबन्दी सम्पन्न भएको बताउनुभयो । उपमहासचिव भुसालले भन्नुभयो, “गुटबन्दी पार्टीको नवौँ महाधिवेशनबाट अन्त्य भएको छ, दशौँ महाधिवेशनमा राष्ट्रिय पुँजीको विकासका लागि योगदान पु¥याउने व्यक्तिबाहेक अरुले चुनाव जित्न मुस्किल छ ।”
मन्त्री तथा पार्टीका नेताहरु राष्ट्रिय पुँजीको विकास गर्न लाग्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक क्रान्तिको बाटातर्फ लागेका छिमेकी चीन र भारतसँगै नेपाल पनि आर्थिक क्रान्तिको बाटामा हिँड्नाको विकल्प छैन भन्नुभयो ।
पार्टीले ६५ वर्ष लगाएर मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरी राजनीतिक क्रान्ति पूरा गरेको बताउँदै उपमहासचिव भुसालले पार्टीको नवौँ महाधिवेशनबाट मुलुक समाजवादको बाटातिर लागेको र त्यहाँसम्म पुग्न ४० /५० वर्षको समय लाग्ने पार्टीको अनुमान रहेको बताउनुभयो ।
भूमिसुधार तथा व्यवस्थामन्त्री तथा एमाले केन्द्रीय सदस्य दलबहादुर रानाले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक ७२ जिल्लामा यही साउन २५ गतेसम्म सुकुम्बासीका समस्या समाधान गरिने आश्वासन दिनुभयो ।
कार्यक्रममा पाल्पा क्याम्पसमा पढेर राजनीतिक यात्रा सुरु गरेर नवौँ महाधिवेशनबाट उपमहासचिवमा विजयी हुनुभएका भुसाललाई मञ्चका अध्यक्ष सुन्दरकुमार घिमिरेले तथा सदस्यमा विजयी हुनुभएका राना, ठाकुर गैरे र विजय गुरुङलाई उपमहासचिव भुसालले सम्मान गर्नुभएको थियो ।
यसैबीच एमाले दोलखा–काठमाडौँ सम्पर्क मञ्चले २०७० सालमा प्रवेशिका परीक्षा उत्तीर्ण २५० विद्यार्थीलाई सम्मान गरेको छ । एमालेका केन्द्रीय सदस्य पशुपति चौलागाईंले ती विद्यार्थीलाई सम्मान गर्दै मुलुकको विकास गर्न शिक्षित र दक्ष युवापुस्ताको आवश्यकता भएको बताउनुभयो ।















प्रतिक्रिया