काठमाडौं, १७ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणका क्रममा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले दुईवटा अस्पतालमा विशेष तयारी गरेको छ ।
परराष्ट्रमन्त्रालयले स्वास्थ्य मन्त्रालयमार्फत चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरासिस सेन्टर र नर्भिक अस्पतालमा विशेष तयारी गरेको हो ।
त्यसबाहेक अतिरिक्त र ‘मल्टि सुपरस्पेसियालिटी’ सेवाका लागि टिचिङ अस्पताललाई ‘व्याकअप’ राखिएको छ । एक साताअघि भारतबाट आएको विशेषज्ञ चिकित्सक एवं भारतीय स्वस्थ्य मन्त्रालयको टोलीले राजधानीका विभिन्न अस्पताल भ्रमण गरेर अध्ययन गरेको थियो ।
त्यसै आधारमा भारतीय दूतावासले परराष्ट्रमार्फत ती दुई अस्पतालमा आवश्यक उपचारका लागि समन्वय गरिदिन पत्राचार गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय सरकारले भिभिआइपीको उपचारका लागि आधारभूत पूर्वाधार जाँच गरेर यी दुई अस्पताल छानेको छ ।
खासगरी बहुविशेषज्ञ सेवा र ‘सेप्रेट सिसियु’ सेवामा भारतीय पक्षले विशेष ध्यान दिएको थियो ।
दुवै अस्पतालले विशेषज्ञ र नर्सको टिम तयारी अवस्थामा राखेका छन् । मोदी भ्रमण टोली जता जाँदा पनि नेपाली सेनाको एम्बुलेन्ससँगै हुनेछ भन्ने समाचार आजको नागरिक दैनिकले छापेको छ ।















प्रतिक्रिया