२९ आश्विन २०८३, बिहिबार

१७ वर्षपछि पनि ट्रमा सेन्टर चलेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bir Ko Trma Centerकाठमाडौं, १५ साउन । सत्र वर्षअघि नेपाल भ्रमणमा आउँदा तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले गम्भीर दुर्घटनाका बिरामीलाई सबै किसिमका आपतकालीन सेवा दिन ‘ट्रमा सेन्टर’ शिलान्यास गरेका थिए।

त्यतिबेला गौरवपूर्ण आयोजनाका रूपमा सुरु भएको यो अस्पताल १७ वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पनि सञ्चालन हुने छाँटकाँट छैन।

तत्कालीन समयमा दक्षिण एसियामै पहिलो भनिएको यो ट्रमा सेन्टर नेपालको ढिलासुस्ती र भारतीय बेवास्ताका कारण सञ्चालनमा आउन नसकेको हो। यसपालि मोदीको भ्रमण क्रममा पनि अस्पताल सञ्चालन प्राथमिकता सूचीमा परेको छैन भन्दै आजको नागरिक दैनिकले समाचार लेखेको छ ।

वीर अस्पतालछेउको यो अस्पतालमा भव्य भवनसहित महत्वपूर्ण भौतिक संरचना तयार भएको महिनौं बितिसक्यो। तर, यसको सञ्चालनका लागि चाहिने विशेषज्ञ जनशक्ति नेपालले व्यवस्था गर्न सकेको छैन। यही बहानामा भारतीय पक्षले अत्यावश्यकीय उपकरण जडानलगायत भित्री पूर्वाधार निर्माण गर्न ध्यान नदिएको सरोकारवाला अधिकारीहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालयले मोदी भ्रमणकै मौकामा ट्रमा सेन्टर हस्तान्तरणका लागि भारतीय पक्षसँग आग्रह गरेको थियो। भारतीय अधिकारीहरूले भने ‘तत्काल चलाउनसक्ने आधार दिन नसकेको’ भन्दै औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गर्न नमानेको स्वास्थ्य मन्त्रालय उच्च स्रोतले बतायो।

‘प्रधानमन्त्रीकै हातबाट हस्तान्तरण गराएपछि भोलिपल्टैदेखि सेवा सुरु हुने वातावरण बन्नुपर्छ, अन्यथा राम्रो सन्देश जाँदैन भन्दै उनीहरू (भारतीय पक्ष) ले औपचारिक हस्तान्तरण गर्न मानेनन्,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले नागरिकसँग भने, ‘बरु सक्नुहुन्छ भने जति सकिन्छ चलाउँदै जाऔं, अहिले तामझाम गर्नुपर्दैन भन्ने भारतको आसय रह्यो।’

स्वास्थ्य मन्त्रालयका निमित्तसचिव डा। तीर्थराज बुर्लाकोटीले ट्रमा हस्तान्तरणको औपचारिक कार्यक्रम आफ्नो जानकारीमा नआएको बताए। भारतीय पक्षले उपकरण जडान गर्दै जाने र नेपाली पक्षले जति सकिन्छ चलाउँदै जाने सहमति भएको उनले जानकारी दिए।