काठमाडौं, १५ साउन । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा जलबायु तथा मौसम परिवर्तनले ठूलो महत्व राख्ने भएको छ ।
त्यो महत्व कुनै सम्झौताको लागि नभएर मोदीको काठमाडौं बाहिर जाने वा नजाने भन्ने विषयमा केन्द्रित भएर हो । आइतबार विहान विशेष विमानमा दुई दिनको लागि राजधानी आइपुग्ने मोदीले नेपाल भ्रमणको क्रममा जनकपुर र लुम्विनीको भ्रमण गर्ने इच्छा ब्यक्त गरेका थिए ।
विमानस्थल, भौतिक पूर्वाधार, सुरक्षा लगायतका विविध कारणले मोदी जनकपुर नजाने निश्चित भएको छ । उनको लुम्विनी भ्रमणको सम्भावना भने अझै टरेको छैन् ।
लुम्विनी र जनकपुर मध्ये एक स्थानमा उनलाई लैजान नेपाल सरकारको पनि चाहना रहेकोले मौसमले साथ दिए मोदी सोमबार अपरान्ह लुम्विनी जाने छन् भन्ने समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।
सबै दृष्टिकोणबाट भ्रमणको तिव्र तयारी भैरहेको अवस्थामा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संवाददाताहरुसँग भने, ‘उहाँको लुम्विनी भ्रमणको सम्भावना अझै टरेको छैन् । सोमबार मौसमले साथ दिए उहाँ लुम्विनी जानुहुनेछ । मौसम विधहरुसँग त्यो दिनको मौसमबारे छलफल भइरहेको छ ।’
१७ बर्ष पछि भारतको तर्फबाट हुन लागेको यो स्तरको भ्रमणमा उनले चाहना गरेको स्थानमा लैजान नेपाल सरकारले भरपुर प्रयत्न गर्ने पाण्डेले स्पष्ट पारे ।
मोदीको अन्य कार्यक्रमहरुको तयारी भइरहेको अवस्थामा उनको त्यो भ्रमणको पनि तयारी अघि बढेको र लुम्विनीको सुरक्षा अवस्थाबारेमा जानकारी भइरहेको र मौसमले साथ दिए उनले भारतबाटै ल्याएको चोपर विमानमा लुम्विनी जानेछन् ।















प्रतिक्रिया