
‘घण्टा हान्ने देश ’ । यी शब्दको गलत अर्थ नलागोस् पाठकहरुमाझ । यी शब्दहरु अमेरिकामा रहेका नेपालीहरुले प्रायः प्रयोग गर्छन् जसलाई घण्टाको हिसाबमा पैसा दिइन्छ । अमेरिकामा करियर शुरु गर्ने प्रायः जो कोहिले पनि यही ‘घण्टा हान्ने’ कामबाट नै आफ्नो कमाईको शुरुवात गरेका हुन्छन् । चाहे त्यो नेपाली होस्, चिनिया होस् या अमेरिकी नै किन नहोस् ।
यो देशमा वैधानिक रुपमा वा अवैधानिक रुपमा कयौं मानिसहरु थुप्रिएका छन् । सबैभन्दा रमाइलो कुरा त के भनें यहां कति राज्यमा त अंग्रेजी बोल्न आउन नै पर्दैन, काम मज्जाले हुन्छ । जस्तै अमेरिकाकै आर्थिक नगरी भनेर चिनिने न्युयोर्ककै कुरा गरौं, त्यहाँको फ्लसिङ भन्ने ठाउँ जानुपर्छ त्यहाँ जाँदा लाग्छ कि यो अमेरिका होइन, चीन हो । उता न्युयोर्ककै ज्याकसन हाइट भन्ने ठाउँ जानुपर्छ, त्यहाँ देखिने अनुहार भारतिय, बंगाली, पाकिस्तानी र नेपाली छन् । त्यहाँ त हिन्दी बोल्न आउनुपर्छ, कुनै काम गर्न र गराउन अप्ठ्यारो नै पर्दैन । संसारभरिका मानिसहरु यहीँ थुप्रिएका छन् । ट्रेनमा चढ्नुपर्छ त्यहाँ विश्वभरिका मानिसहरु देखिन्छन् । अंग्रेजी कम बोलिन्छ भने अरु भाषाका बढी मानिसहरु बढी देखिन्छन् । यस्तै छ न्युयोर्कमा ।

प्रसंग फेरि पनि घण्टाकै । हाम्रो देशमा जसलाई जति पैसामा काम लगाएपनि कानुनले केहि भनेको देखिन्न । तर यहाँ कुनै पनि व्यक्तिलाई त्यस राज्यको कानुन अनुसार कति न्युनतम पारिश्रमिक तोकेको छ, त्यो भन्दा घटीमा लगाउन पाइदैंन । यदि कसैले त्यो भन्दा घटीमा लगायो भने उ सिधैं जेल पुग्छ । अमेरिकी सरकारले देशैभर घण्टामा न्युनतम पारिश्रमिक ७.२५ डलर तोकेको छ अर्थात त्यो भन्दा मुनि रकममा कसैले काम लगाउन पाउंदैन । तर, हरेक राज्यमा यो दर समान वा बढी (कम चाहिं हुँदैंन) हुने गर्छ । जस्तैः सबैभन्दा बढी राजधानी वासिंङटनमा छ । त्यहाँ घण्टाको न्युनतम पारिश्रमिक ९. ३२ डलर तोकिएको छ । उता, अमेरिकाको न्युयोर्कमा भने घण्टाको न्युनतम ८ डलर तोकिएको छ । त्यस्तै यहाँ बुझ्नु पर्ने कुरा के पनि छ भने एक हप्तामा ४० घण्टा काम गर्दा यो लागु हुन्छ तर ४० घण्टा कट्ने बित्तिकै डेढी दिनुपर्छ । यसलाई सरल भाषामा भन्नुपर्दा यो उदाहरण प्रस्तुत छ । जस्तै, रामलाई कुनै पनि कम्पनीमा घण्टाको १० डलर दिइएको छ भने उसले हप्ताको ४० घण्टा काम गर्दा ४०० डलर कमाउँछ । तर, उ अझ धेरै काम गर्न चाहन्छ र उसले कम्पनीले चाहेजति ‘घण्टा’ दियो भने उसले अब घण्टाको १५ डलर कमाउँछ । रामले एक हप्तामा ६० घण्टा काम ग¥यो भने उसले ४० घण्टाको ४०० र थप २० घण्टाको ३०० रुपैंया कमाउँछ । भनेपछि उसको कमाइ हप्ताको ७०० डलर भयो । ( उक्त रकम भुक्तानी गर्दा कर कट्टा भने गरिन्छ)

यस्ता घण्टाको आधारमा रकम भुक्तानी गरिने र अलि शारिरिक श्रम बढी गरिने कामलाई Blue-collar job भनिन्छ । अमेरिकामा प्रायः सबैले आफ्नो करियरको शुरुवात यस्तै कामबाट गर्नुपर्छ । पछि त्यहीँको शिक्षा लिइसकेपछि भने White-collar job अर्थात शारिरीक श्रम कम लाग्ने काम गरिन्छ, जहाँ कमाइ पनि राम्रो हुन्छ ।

‘घण्टा हान्ने कामले’ मानिसलाई समयको महत्व भने मज्जाले सिकाउँछ । Time is money भन्ने कुरा ‘घण्टा हान्नेलाई’ थाहा हुन्छ । त्यही भएर यहाँ एक नेपालीले अर्काे नेपालीलाई प्रायः सोधिने प्रश्न कत्ति कमाउँछौं हुदैन, बरु कति घण्टा हान्छौं भन्ने हुन्छ । एक हप्ता काम गर्यो र काम सकिने बित्तिकै हातमा डलर पर्दा साँच्चैं मन रोमाञ्चित हुने बताउँछन् न्युयोर्ककै एक स्टोरमा काम गर्ने एक नेपाली । सर्लाही घर भएका ती नेपाली सन् २००८ मा डिभी परेर अमेरिका आएका हुन् । आएको एक हप्तामै ‘घण्टा हान्ने काम’ गरेका उनले २ वर्ष सातै दिन काम गरेको बताए । किन यति धेरै काम गरेको भनी प्रश्न गर्दा उनले भने – ‘जब काम गरेपछि हरेक हप्ता मेरो हातमा डलर प¥थ्यो, त्यतिखेर त्यो डलरलाई म नेपाली पैसामा दांज्थे र त्योे त कति धेरै हुन आउँथ्यो त्यही डलरले मलाई बाँध्यो ।’ उनले थप मुस्कुराउँदै भने – ‘तपाईँ पत्याउनु हुन्न होला कुनै बेला मैले हप्ताको १०५ घण्टासम्म पनि काम गरेको छु ।’ अहिलेसम्म कमाएको पैसाले आफ्ना दुई भाइलाई भारतको टप युनिभर्सिटीमा इन्जिनियर पढाएको र काठमाडौंमा घडेरी जोड्न आफ्नो बाबुलाई सहयोग गरेको उनी गर्वका साथ बताउँछन् । अहिलेसम्म कति पैसा कमाउनु भयो त भनी प्रश्न गर्न उनी मुस्कुराउँदै भन्छन् – ‘ मैले गर्ने कामबाट तपाईँ अनुमान लगाउन सक्नुहुन्छ कि मैले यो ६ वर्षमा कति कमाएँ ।’

उनी त एक प्रतिनिधि पात्र मात्रै हुन् । यहाँ धेरैले यस्तै काम गरेर पैसा कमाएका छन् । तर स्मरण गर्नुपर्ने कुरा के छ भने लगालग उभिएर यसरी काम गर्न चाहि सजिलो छैन है । अमेरिकामा तपाईँले कोहि व्यक्तिले बसेर काम गरेको देख्न गाह्रै पर्छ । शारिरिक श्रम बढी लाग्ने काम सबै उभिएरै गरिन्छ ।

‘घण्टा हान्ने काम’ ले मानिसलाई समयको महत्व मज्जाले नै सिकाउँछ किनभने जति बढी काम ग¥यो त्यति बढी डलर । ललितपुर टिकाथली बस्ने अर्का एक नेपालीको अनुभवमा अमेरिका आएपछि मानिस काममा जाँगरिलो बन्छ । विगत २८ महिनादेखि श्रीमती र एक छोरा र एक छोरीसँग यहि बसेर ‘घण्टा हानिरहेका’ ती नेपाली भन्छन् – ‘नेपालमा मेरो राम्रै जागिर थियो, कमाइ पनि महिनाको ३० हजार जति हुन्थ्यो तर त्यहाँ काम गरेको जस्तो लाग्दैनथ्यो । यहाँ त ‘घण्टा हान्न’ थालेदेखि काम र समय दुबै चिनिएको छ ।’ आफ्नो मुलुकमा काम कम– गफ बढी गर्ने बानी आफुमा पनि रहेको तर यहाँ आएपछि ठिक उल्टो भएको उनी स्वीकार्छन् । ‘जति घण्टा हान्यो त्यति दाम जो पाइन्छ’ उनी ठट्टा गर्छन् ।
श्रमलाई सम्मान गर्ने मुलुक भएरै होला यहाँ सबैलाई एकै किसिमले सम्मान गरिन्छ । चाहे त्यो व्यक्ति कुनै स्टोरमा भाँडा माँझ्ने काम गरोस् वा कुनै बैंकको म्यानेजर होस्, सबैलाई ‘सर वा मिस’ भनी सम्बोधन गरिन्छ । कामको आधारमा कसैलाई पनि होच्याएर बोलिन्न, अझ रोचक कुरा त यहाँ कसैलाई पनि कहाँ काम गर्छस् भनेर सोध्ने चलन पनि छैन ।
कतिले अमेरिका बारे लेखहरु लेख्दा यहाँ सजिलो छैन निकै गाह्रो छ भनी लेखहरु लेखेको भेटिन्छ जुन् आंशिक साँचो हो । बुझ्नुपर्ने कुरा के छ भने यो गाह्रो नेपालीलाई मात्र होइन, यहाँ बस्ने सबैलाई हो, चाहें त्यो अमेरिकी नै किन नहोस् । तर यहीँको शिक्षा र केही शीप सिकेपछि यहाँ धेरैले राम्रो गरेका छन् । यहाँ धेरै नेपालीको आफ्नै व्यवसाय छ, आफ्नै ल फर्म छ, कलेज, युनिभर्सिटीमा प्रोफेसर भएका छन् । तर सबैमा प्रायः समानता के छ भने उनीहरुले पनि आफ्नो करियरको शुरुवात यही ‘घण्टा हान्ने काम’ बाट गरेका हुन् ।
फोटोः दीपिका श्रेष्ठ













प्रतिक्रिया