काठमाडौँ, १४ साउन । रानीवनस्थित स्यारभन गुम्बामा १४औँ दिवङ्गत धर्मगुरु रिम्पोछेको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन सर्वसाधारणका लागि बुधवार खुला गरिएको छ ।
उहाँको ६२ वर्षको उमेरमा गत जेठ २८ गते जर्मनीमा हृदयघातका कारण मृत्यु भएपछि शवलाई मङ्गलबार मात्र सो स्थानमा ल्याइएको थियो ।
स्वदेशी तथा विभिन्न देशबाट आएका भक्तजन तथा सर्वसाधारणले रिम्पोछेको पार्थिव शरीरको दर्शन गर्न ठूलो घुइँचो लागेको छ । गुम्बा परिसरमा सम्बन्धित धर्मगुरुले विधि विधानपूर्वक ‘मोलाम’ पूजा गरेका छन् । सो पूजाअन्तर्गत प्राणिधान अथवा सम्बन्धित देवी देवतासँग संसारका सम्पूर्ण जीव जीवात्माको सुख शान्तिको कामना गरिएको छ ।
बुधवार रातिसम्म दर्शनको व्यवस्था मिलाइएको र बिहीबार गुम्बा परिसरमा उहाँको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको गुम्बाका सदस्य दावा साङ्वो ह्युलमोपाले बताउनुभयो । रिम्पोछेलाई धर्मावलम्बीले अमिताभ बुद्धको अवतारका रूपमा विश्वास गरेका छन् ।
रिम्पोछेले नेपाल, भारत र भुटानलाई विशेष कर्मथलो बनाई विश्वका विभिन्न मुलुकमा ९०० बौद्ध अध्ययन केन्द्रको स्थापना गर्नुभएको भए पनि सो गुम्बा प्रमुख केन्द्रका रुपमा विकास गरिएको छ ।














प्रतिक्रिया