काठमाडौं, १४ साउन । संसदीय दलको निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र नयाँ समीकरण बन्न लागेको छ। पार्टीका निर्वतमान अध्यक्ष सूर्यबहादुर थापालाई संसदीय दलको नेता बनाउने आन्तरिक सहमति तोडेर अध्यक्ष पशुपतिशमशेर राणाले महामन्त्री दीपक बोहरालाई बनाएपछि थापा पक्ष राणासँग असन्तुष्ट बनेको छ।
थापाले जोखिम मोल्दै राणालाई अध्यक्ष बनाएको तर राणाले धोका दिएको आरोप थापा पक्षले लगाएको छ। स्रोतका अनुसार दलको निर्वाचनपछि थापा पक्षले अध्यक्षमण्डलका सदस्य डा। प्रकाशचन्द्र लोहनीलाई साथमा लिएर राणाविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ।
थापा पक्षका केही केन्द्रीय सदस्यले सोमबार नेता लोकेन्द्रबहादुर चन्द र मंगलबार लोहनीसँग भेट गरी नयाँ सहमतिबारे छलफल गरेका छन्।
पार्टीमा विवाद चर्कंदै गएपछि थापा पक्षका केन्द्रीय सदस्यले एकताका लागि विभिन्न सुझाव दिएका छन्। उनीहरूले हस्ताक्षर अभियानको समेत तयारी गरेका छन्।
उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य परशुराम खापुङले पार्टीलाई एकताबद्ध बनाउने विषयमा विभिन्न चरणमा छलफल भइरहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ ।















प्रतिक्रिया