काठमाडौं, १४ साउन । विद्युत प्राधिकरणले आयल निगमबाट खरिद गरेको पेट्रोलियम पदार्थमा पानी मिसिएको आरोप लगाउँदै क्षतिपूर्ति दाबी गरेपछि यी दुई सरकारी संस्थानबीच पोलापोल सुरु भएको छ।
पानी मिसिएको ‘गुणस्तरहीन’ औद्योगिक इन्धन (फर्नेस आयल) प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै प्राधिकरणले एक साताअघि १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो। निगमले भने इन्धनका कारण नभई प्राधिकरणकै गल्तीले मेसिन बिग्रिएको दाबी गरेको छ।
निगमको विराटनगर क्षेत्रीय डिपोले बिक्री गरेको औद्योगिक इन्धन हाल्दा मल्टिफ्युल जेनेरेटरलगायत उपकरणमा समस्या आएको प्राधिकरणको जिकिर छ।
निगम पनि आफ्नो स्थलगत अध्ययनका आधारमा ‘मल्टिफ्युल राम्रो अवस्थामा नराख्नुले नै समस्या आएको’ निष्कर्षमा पुगेको छ। विवाद सुरु भएलगत्तै निगमले आफ्ना प्रवक्ता मुकुन्दप्रसाद घिमिरे र निर्देशक वीरेन्द्र गोइतलाई स्थलगत अध्ययनमा खटाएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
‘अहिले सामान्य घरमा जोड्ने बायोग्यासमा पनि मोइस्चर (पानी) रोक्ने मेसिन जडान गरिएको हुन्छ, तर प्राधिकरणले मल्टिफ्युललाई राम्रो अवस्थामा राख्न नसक्दा समस्या आएको देखियो,’ निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले मंगलबार भने, ‘विराटनगरको मल्टिफ्युलमा सेपरेटर (पानी छुट्ट्ययाउने मेसिन) समेत राम्रोसँग राखेको पाइएन।’















प्रतिक्रिया