काठमाडौँ, १० साउन । नेपालको औपचारिक भ्रमणमा रहनुभएकी भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग शनिार बिहान मधेसवादी दलका विभिन्न नेताले हुलाकी सडक निर्माण, सीमा समस्या समाधान, चुरे क्षेत्र संरक्षण, रेलमार्गलगायत भौतिक पूर्वाधार विकासमा सघाउन आग्रह गरेका छन् ।
विदेशमन्त्री स्वराजसँग भएको भेटवार्तामा सहभागी सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी समुदायका समस्याबारे मुख्य रूपमा छलफल भएको जनाउँदै आफूहरूले उठाएका विषयमा भारत सकारात्मक रहेको बताउनुभयो । हुलाकी सडक निर्माणलाई द्रुत गतिमा अघि बढाउन मधेसी नेताहरूले आग्रह गर्नुभएको जानकारी पनि उहाँले दिनुभयो ।
विदेशमन्त्री स्वराजले आफ्नो सरकारले नेपाललाई उच्च प्राथमिकतामा राखेकाले यहाँका विषयवस्तुबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई अवगत गराउने बाचा आफूहरूसँग गरेको अध्यक्ष झाले उल्लेख गर्नुभयो ।
“मोदी सरकार विकासका मुद्दा लिएर आएको हो । नेपालको विकास हुँदा भारतको पनि विकास हुन्छ, यहाँको सामाजिक–आर्थिक उन्नयनमा आवश्यक सहयोग गर्न भारत तयार छ”, भारतीय विदेश मन्त्रीको भनाइ उद्धृत गर्दै श्री झाले भन्नुभयो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भारतको चाहना नेपालको स्थायित्व, विकास र शान्ति रहेको पाइएको बताउनुभयो । उहाँले द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको उल्लेख गर्नु भयो ।
नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले भारतले नेपालको जलसम्पदाको उपयोग आफ्नो स्वार्थ अनुकूल गर्न खोजेको भन्ने सञ्चार माध्यममा आएका विवरणहरूको खण्डन गर्दै नेपालमा उत्पादन हुने बिजुली पहिले नेपालमा नै खपत हुने र बाँकी विद्युत् भारतलाई बेच्न सक्ने अवधारणा भारतीय विदेशमन्त्रीले स्पष्ट रूपमा उल्लेख गर्नुभएको जानकारी दिनुभयो ।
त्यस अवसरमा स्वराजले आफ्नो मुलुकमा संसद् चालु रहेका बेला नेपाललाई प्राथमिकता दिएर शपथ ग्रहण गरेको दुई महिनापछि यहाँ आएको बताउनुभएको थियो ।
भेटमा ठाकुर, झा र सिंहका साथै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले) का शत्रुघनकुमार महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष शरत्सिंह भण्डारी, तराई मधेस जागरण अभियानका जयप्रकाशप्रसाद गुप्ता, एमाओवादीका प्रभु साह, तराई मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र यादव पनि सहभागी हुनुहुन्थ्यो ।
















प्रतिक्रिया