२९ आश्विन २०८३, बिहिबार

काठमाडौं सारिए बिपीका सरजाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BP Koirala Ko Kitabविराटनगर, ९ साउन । विराटनगरको दुईतले कोइराला निवासको तल्लो तलामा एउटा कोठा यस्तो छ, जहाँ पुराना सामान धुलो जमेर बसेको छ।

कति किताब छन्, कीराले पत्रपत्र खाइसकेका। कति पुराना बाकस छन्, ठाउँठाउँमा धमिरा लाग्दै गरेका। अनि कति हस्तलिखित डायरी छन्, जहाँ अभिव्यक्त विचार मसीको रंगसँगै उड्दैगएका।

नेपालको प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका अनेक गाँठा फुकाउन सक्ने विराटनगरस्थित कोइराला निवासको छिँडीबाट काठमाडौंस्थित सुन्दरीजलस्थित बिपी संग्रहालयमा राखिँने समाचार आजको नागरिक दैनिकले छापेको छ ।

एक सय १४ वर्षसम्म पुराना सामानलाई किराले खाइसक्नुअघि धमिराले खोक्रो पार्नुअघि र मसीको रंग उडिनसक्दै सुरक्षित राख्ने बिँडो उठाएका छन्, बिपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेलले।

नयाँ पुस्ताका लागि अध्ययन सामग्री बन्न सक्ने बिपीका पुराना सामान खोज्न पोखरेल बिहीबार बिहानै कोइराला निवास आइपुगे, तल्लो तलाको कोठामा छिरे र पुराना सामान खोतलखातल पार्न थाले।

‘२०१७ सालको पार्टीको विधान भेट्टाएँ,’ पुराना सामानको थुप्रोमा फेला परेको नेपाली कांग्रेसको विधान आफ्नो इस्टकोटको भित्री गोजीमा राख्दै पोखरेलले भने, ‘कांग्रेससित यो थिएन, गज्जब हुने भो।’

बिपी र उनका पिता कृष्णप्रसाद कोइरालाले प्रयोग गर्ने सामग्री खोज्न विराटनगरस्थित कोइराला निवास आइपुगेका पोखरेलले सुन्दरीजल संग्रहालयमा राख्न थुपै्र पुराना सामान भेट्टाएका छन्। त्यसैमध्ये कांग्रेस विधान २०१७ वैशाख २५ को हो। पार्टीको सातौं महाधिवेशनमा प्रस्तुत हुँदा यही विधानमा बिपीले फरक मत राखेका थिए।

पुराना सामानको थुप्रो हेरेर बिपीका भतिजा कांग्रेस नेता शेखर कोइराला पनि अच्चम्भित थिए। ‘मलाई नै धेरै सामानबारे थाहा छैन,’ शेखरले भने, ‘उमा शर्मा दिदीलाई बढी थाहा होला।’

बिपीकै पालादेखि कोइराला निवासको हेरचाह गरिरहेकी शर्माले माथिल्लो तलाको बार्दलीबाट नेलकटर फ्याँक्दै भनिन्, ‘यो पनि लिऊ, यो नेलकटर बिपीकी छोरी चेतनाको हो।’
कोइराला निवासमा दाबाबन्दी (कोल्हु) बाट बिपीका लागि ल्याइने घिउ राख्ने भाँडो, काठ र टिनको पेटी (बक्सा), चामल–दाल राख्ने सानो तर अग्लो ड्रम, दहीचिउरा खाने कचौरा, पित्तलको चम्चा, काँटा, छालाको ब्रिफकेस, खुकुरी र सयभन्दा बढी पुराना पुस्तक फेला परेका छन्।