सोलुखुम्बु, ७ साउन । बिनास्वार्थ, एकोहोरो काम गरिरहे के हुँदैन
सोलुखुम्बु, काँकुका पासाङ शेर्पाको मिहिनेत र समर्पणपूर्ण जीवनसँग यसको सहज उत्तर छ– जे पनि सम्भव छ। हुन पनि, सिंगो जीवन बाटो निर्माणमा समर्पित गरेका उनी पर्यटकीय क्षेत्र खुम्बुमा ५६ वर्षदेखि अहोरात्र यही काममा खटिइरहेका छन्।
यो अभियानमा लाग्दा उनी २० वर्षका मात्र थिए। ५६ वर्ष लामो समय एकोहोरो बाटो बनाइरहेका उनी अझै थाकेका छैनन्। यसबीच उनले ३५ किलोमिटरभन्दा लामो पदमार्ग निर्माण गरिसकेका छन्।
जिल्लामा उनको परिचय अब व्यक्तिमा सीमित छैन। ‘उनलाई अहिले खुम्बुका अधिकांश नागरिकले पासाङ भनेर होइन, खुम्बुको सरकार भनेर चिन्छन्,’ नाम्चेका अगुवा लामाकाजी शेर्पा भन्छन्, ‘विकासमा उहाँ पासाङको देन अतुलनीय छ।’
पासाङले २०१५ सालमा नाम्चेबाट सगरमाथा आधारशिविरसम्म पदमार्ग निर्माण अभियान थालेका थिए। यो अभियानले साढे पाँच दशक टेक्दासम्म फेरिचेको शिरबाट सुरु पदमार्ग अब नाम्चे जोडिनै लागेको छ।
‘१५ सालतिर दुईजना विदेशी पर्यटक लिएर यहाँ आएको थिएँ, बाटोको अवस्था अत्यन्तै नाजुक लागेकाले त्यही दिनदेखि ट्रेकिङ छाडेर बाटो निर्माणमा लागेँ,’ पासाङले भने, ‘मैले व्यक्तिगत पहलबाटै चन्दा उठाएर बाटो खनेको हुँ।’
आफूले अहिलेसम्म विदेशी र स्वदेशी संघसंस्थाबाट ४ अर्ब १७ करोड १८ लाख रुपैयाँ चन्दा संकलन गरेको उनले बताए। बाटो निर्माणस्थलमै ‘डोनेसन बक्सु राखेर चन्दा उठाउने गरेका उनले भने, ‘चन्दाकै रकमले कामदार लाएर बाटो खनिरहेको छु, अहिलेसम्म राज्यका तर्फबाट ४ हजार रुपैयाँ मात्र सहयोग पाएको छु, सबै सहयोग विदेशी पाहुना र संघसंस्थाले गरेका हुन्।’ नागरिक दैनिकबाट















प्रतिक्रिया