१ कार्तिक २०८३, आइतबार

ओली सिंगापुर प्रस्थान, पार्टीको जिम्मेवारी गौतमलाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-bamdev-gautam

काठमाडौँ, ६ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि मंगलबार सिंगापुर प्रस्थान गर्नुभयो ।

अध्यक्ष ओली दिउँसो १:४५ को थाई एयरको उडानबाट थाइल्यान्डको बैंकक हुँदै सिङ्गापुरका लागि प्रस्थान गर्नुभएको हो । ओलीले आफ्नो भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका संवाददाताहरूलाई कुनै प्रतिक्रिया दिनुभएन ।

एमाले केन्द्रीय सदस्य डा. राजन भट्टराईले चिकित्सकको परामर्शमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा अध्यक्ष ओलीको उपचार हुनेछ । सो अस्पतालका चिकित्सकले बुधबारका लागि समय दिएकाले हतारहतार भ्रमणको कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।

उपचारका लागि करिब एक साता लाग्ने अनुमान गरिएको छ । सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले ओली थप उपचार गराउन जानुभएको हो । डा. भट्टराईले ओलीलाई अन्य समस्या नभएको जनाउनुभयो ।

ओलीको बिदाइका लागि ऊर्जा मन्त्री राधा ज्ञवाली, उद्योग मन्त्री कर्णबहादुर थापा, नेता केशव बडाल, केन्द्रीय सदस्यहरु डा. भट्टराई, निरुपाललगायत विमानस्थल पुग्नुभएको थियो ।

ओलीका साथ उहाँका श्रीमती राधिका शाक्य र सहयोगी राजेश बज्राचार्य हुनुहुन्छ ।

गौतम कार्यबाहक अध्यक्ष

अध्यक्ष ओलीले आफ्नो कार्यभार उपाध्यक्ष वामदेव गौतमलाई सुम्पनुभएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीमा गौतम वरिष्ठतम उपाध्यक्ष हुनुभएकाले विगतको परम्पराअनुसार गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको एमाले नेता केशव बडालले बताउनुभयो ।

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको मर्यादाक्रम तोक्ने विषयमा यही साउन २५ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्णय गर्नेछ ।