२८ आश्विन २०८३, बुधबार

नयाँ पुस्ता, नयाँ नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shambhu-shresthaएमालेको नवौं महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । महाधिवेशनको मत परिणमामबाट सबैभन्दा बढी खुशी एमाले कार्यकर्ताहरू भएका छन् । मत परिणामले एमालेलाई एकताको सूत्रमा बाँधेको छ । लोकतान्त्रिक विधिबाट निर्वाचित नयाँ नेतृत्वले एमालेलाई मात्र होइन, सिंगो देश र जनतालाई दिशानिर्देश गर्नुपर्ने बेला आएको छ । दलगत स्वार्थभन्दा माथि उठेर नयाँ नेतृत्वले राष्ट्र र जनताको हितमा आफ्नो शक्ति खर्चिने हो भने नेकपा एमाले देशकै पहिलो र निर्णायक शक्ति बन्ने छ । यसका लागि विगतका त्रुटि, कमजोरीलाई अहिलेदेखि सच्याउँदै जानु पर्छ ।

दोस्रो संविधानसभाको निर्वाचनले एमालेलाई दोस्रो शक्तिका रुपमा स्थापित गरेको छ । अब एमालेको प्राथमिकता संगठन सुदृढका साथसाथै संविधान निर्माण हुनुपर्छ । विगतमा पनि एमालेका दुई दुई जना प्रधानमन्त्री भए, तर त्यो परिणामविहीन बन्यो । सिंहदरबारमा फोटो झुन्ड्याउनेबाहेक तिनीहरूले संविधान निर्माणमा सहमतिको वातावरण जुटाउन सकेनन् ।

अहिले पनि त्यो भन्दा फरक अवस्था छैन । पहिलो संविधानसभा जुन विवादमा अल्झिएर विघटन भयो, त्यो मुद्दा नेपाली जनताले दोस्रो संविधानसभामार्फत् अस्वीकार गरिदिएका छन् ।

माओवादी र मधेसवादी दलहरू फेरि त्यही मुद्दा उठाएर संविधानसभालाई पंगु बनाउन एकजुट भएका छन् । यो षड्यन्त्रलाई चिरेर देशलाई निकास दिनका लागि पनि एमालेमा एकता पहिलो शर्त हो ।

नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व नेपालको राजनीतिमा खारिएको पुस्ता हो । २०२८ सालको झापा विद्रोहदेखि ०६२/६३ सालको गणतान्त्रिक आन्दोलनसम्मको अनुभव यो नेतृत्वसँग छ । के गर्दा देशलाई राम्रो हुन्छ, के गर्दा देशलाई नराम्रो हुन्छ भन्ने कुरा यो नेतृत्वले अनुभव गरिसकेको छ । त्यसैले के गर्दा देशलाई राम्रो हुन्छ भन्ने कुरालाई मात्र ख्याल गरेर बडो संयमताका साथ अगाडि बढ्नु अहिलेको चुनौती हो । त्यसका लागि भाषण गरेर मात्र पुग्दैन । बोलेका कुरा पूरा गरेरै देखाउनु पर्छ ।

धेरैलाई लागेको थियो, अब एमाले फुट्छ । ओली र नेपाल प्यानलनै बनाएर निर्वाचनमा भिडेपछि जित्नेले नेतृत्वमा पुग्ने, हार्नेले भविष्यको खोजी गर्दै पार्टी फोड्नेसम्मका हल्ला भृकुटीमण्डपभित्र र बाहिर नचलेको होइन । तर, एमालेको टाउको विभाजन भए पनि हात खुट्टा विभाजन भएको छैन भन्ने कुरा प्रतिनिधिहरूले मैदानमा प्रमाणित गरिदिए ।

एमाले भनेको पार्टी टाउकोले टेकेर होइन, खुट्टाले टेकेर हिंड्छ भन्ने कुराको ज्वलन्त उदाहरण त्यसको मत परिणाम हो । एमाले पार्टीको जग भनेकै त्यसका इमान्दार कार्यकर्ताहरू हुन् । जसमा नेतृत्वको भन्दा धेरै नै दूरदृष्टि रहेको छ भन्ने कुरा पार्टीलाई हरेक संकटबाट जोगाएबाटै स्पष्ट हुन्छ । नेताहरू फुट्दा कार्यकर्ताहरू जुटेर जोगाएको पार्टी नेकपा एमाले भएको हुँदा कार्यकर्ता पंक्तिले जहिले पनि नेतृत्वलाई खबरदारी गरिरहनु पर्छ । ता कि लोकतान्त्रिक विधिबाट कार्यकर्ताले चुनेर पठाएका नेता कुर्चीमा पुगेपछि विष्णुको अवतार नबनून् ।

हुन त धेरैको चाहना एमालेमा सर्वसम्मत नेतृत्वकै थियो । टोपी नमिल्दा त्यो चाहना पूरा हुन सकेन । यसमा कार्यकर्ताको केही दोष छैन । तै पनि देश संक्रमणकालबाट गुज्रिरहेको, उग्रवामपन्थी, उग्रदक्षिणपन्थीले टाउको ठाडो पार्न खोजिरहेको र विखण्डनकारीले जातीय, क्षेत्रीय र धार्मिक मुद्दा उठाएर दास्रो संविधानसभालाई पनि असफल पार्न खोजिरहेको अवस्थामा एमालेले सर्वसम्मत नेतृत्व दिन सकेको भए, त्यो सिंगो देशकै लागि उदाहरण बन्न सक्थ्यो ।

तर, दुर्भाग्य पहिलो पुस्ताका नेताहरूले एमालेको जीवनमा त्यो संस्कार बसाल्न सकेनन् । यसबाट पाठ सिक्दै एमालेलाई अझ मजबुत, संगठित र सशक्त बनाउन नयाँ पुस्ता अघि सर्नु पर्छ । यसै महाधिवेशनबाट पुस्ता हस्तान्तरणको प्रक्रिया पनि सुरु भएकोले पार्टीमा लामो समय योगदान दिँदै आएका पुस्ता बढी जिम्मेवार बन्नु पर्छ । पहिलो पुस्ताको अभिभारा लोकतान्त्रिक गणतन्त्रको स्थापना थियो र जीवन पनि त्यसैमा बित्यो । अब गणतन्त्रलाई संस्थागत गर्दै नयाँ नेपाल निर्माणको अभिभारा नयाँ पुस्तामा आएको छ । नयाँ पुस्तासामु पार्टीको मात्रै होइन, सिंगो देशकै नेतृत्व गर्ने चुनौती र अवसर आएकोले नयाँ पुस्ता बढी जिम्मेवार बन्नु पर्छ ।