२८ आश्विन २०८३, बुधबार

एमालेमा यसो गरे कसो होला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep bhattaraiएमाले महाधिवेसन सकिए पनि चुनावले सिर्जना गरेको अंकगणितीय धंगधंगीको मैजारु भएकोे छैन । त्यसमा पनि कुरोको चुरो बनेको छ, बहुपदीय पदमा मर्यादाक्रम तोक्ने र पदाधिकारीमा पराजित तर सदस्यमा जितेर आएकालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा । मतलाई नै सार्वभौम बनाएर लोकतान्त्रिक अभ्यास गरेर आएको पार्टीले त्यसैलाई आधार मानेर मर्यादाक्रम तोके हुने हो तर पद्धतिलाई भन्दा मान्छेको अनुहार हेरेर निर्णय गर्नुपर्ने बाध्यतामा त्यसो गर्न सजिलो छैन । नवनिर्वाचित अध्यक्षको पहिलो गाँस कस्तो हुने हो, यही निर्णयले निर्धारण गर्नेछ ।


मुलुकको दोस्रो ठूलो र कम्युनिष्टहरुमा पहिलो राजनीतिक पार्टी एमाले नवौं राष्ट्यि महाधिवेसनको धंगधगेबाट अझै मुक्त हुन सकेको छैन । सिंगो पार्टी नै दुई चिरामा विभाजित भएर चुनावी अभ्यासमा होमिएको यो पार्टीका चुनावी तिक्तताका भंगालाहरु यति गहिरा छन् कि, सजिलै पुरिने खालकै छैनन् । धन्न कार्यकर्ताले विवेकसम्मत निर्णयमार्फत् दुई प्यानललाई हिसाव गरी गरी निर्वाचित गरेर अरु बढी ध्रुवीकरण हुनबाट जोगाइ दिए । अहिले त पार्टीको चुनावी अंकगणित नै यस्तो छ कि, संस्थापन पक्षले चाहेर पनि अर्को पक्षलाई किनारा लगाउनै सक्दैन । पदाधिकारीमा अध्यक्षको मत बराबर हुँदा मात्र निर्णायक हुने अर्थमा पार्टी अध्यक्ष ओली यसै पनि बहुमतमा छैनन् । अझ, वरिष्ठ नेताका हैसियतमा निवर्तमान पार्टी अध्यक्ष खनालको मत उनको विपक्षमा जाँदा त उनी प्रष्टैसँग अल्पमतमा छन् । हो, सिंगो केन्द्रीय कमिटीमा संस्थापन पक्ष बहुमतमा छ । तर, एमालेमा केन्द्रीय कमिटीलाई अनुमोदन गराउने अंगका रुपमा मात्र व्यवहार गरिदै आएको सन्दर्भमा यसै पनि १५९ सदस्यीय जम्वो केन्द्रीय कमिटीको बैठक हरहमेसा बोलाएर निर्णय लिनु पनि व्यवहारिक छैन । यसरी हेर्दा, पार्टी अध्यक्ष ओलीको चाहना भए पनि नभए पनि मिलेर जानुको विकल्प उनीसँग छैन ।

महाधिवेसन सकिएपछिको पहिलो चरणमा हारजीतको हिसाव किताव हुन्छ । अहिले एमालेमा त्यही दौर चलिरहेको छ । पहिलो त अध्यक्ष पदका निकटतम प्रतस्पर्धी नेपाललाई अहिलेसम्म पनि उनको हार जचेकै छैन । सिंगो प्यानललाई मत दिदा पनि आफूलाई मत नदिने वागी मतदाता को हुन् ? जसले उनको जीतलाई हारमा परिणत गरिदिए, अहिले पनि शायद उनी यही हिसाव किताव गरिरहेका होलान् । प्यानलमा उठेर थोरै मतले पराजीत हुने पदाधिकारी र सदस्यहरुको पनि आआफ्नै आंकलन होला ।सामान्यतः हारलाई सजिलै स्वीकार गर्ने परिपाटी नभएको हाम्रो संस्कारमा अहिले पनि हारको कारण आफूमा खोज्नेभन्दा पनि अरुमै देख्ने प्रवृति गएको छैन । यही प्रवृतिको वरिपरिबाट घात अन्तर्घातको हिसाव किताव पनि भैरहेकै होला । ेस्रो विश्वमा चुनाव जनमत लिनेभन्दा पनि बदला लिने कोणबाट बढी हेरिने र व्यवहार गर्ने गरिन्छ, पदमा रहँदा वास्ता नगरेको अर्थमा बदला लिएको पनि हुनसक्छ । यदि त्यसो हो भने हारको कारण अरु कोही नभएर आफू नै हो, त्यही कोणबाट मूल्यांकन गर्न जरुरी छ । जीत त यसै पनि खासै मूल्यांकन गरिदैन, गरिए पनि त्यसको जस अरुलाई हैन, आफैलाई भिराउने गरिन्छ । त्यस मानेमा एमाले महाधिवेसनको जीत परिणाम पनि अछुतो छैन ।

समग्रमा एमाले महाधिवेसनको परिणामलाई हेर्दा केही प्रवृति र संकेतहरु प्रष्टसँगै देखिएका छन् । पहिलो त, एमाले फेरि पनि जुझारु र विवेकशील कार्यकर्ताको पार्टी हो भन्ने पुष्टि भएको छ ।

नेताहरुले पार्टीलाई जतिसुकै चिरा पारेर प्यानल बनाए पनि त्यो सही थिएन भन्ने उनीहरुले दुबै प्यानललाई हिसाव गरी गरी जिताएबाटै प्रष्ट हुन्छ । एमालेका लागि सबैभन्दा सशक्त लिटमस टेस्ट नै यही थियो । दोस्रो, एमालेमा नेतृत्व परिवर्तनको ज्वार जबर्जस्त रहेछ भन्ने पुष्टि भयो । नेपालको पराजय र ओलीको जीतले त्यही कुराको साक्षी बोक्छ । त्यसमा पनि मतान्तर साँघुरो राखिदिएर एमालेमा कोही पनि जंगबहादुर हुन नसक्ने संकेत पनि दिए कार्यकर्ताले । अझ, प्यानलगत समीकरणलाई कायम राख्दै नेपाल पक्षका उपाध्यक्ष प्रत्यासी भीम रावललाई ओली पक्षका वामदेवभन्दा पनि बढी मत दिएर नैतिक वन्धन सिर्जना गरी दिए । यस्तै स्थिति, उपमहासचिव र सचिवमा समेत सिर्जना भएको छ । उपमहासचिवमा नेपाल पक्षमा घनश्याम भुसाललाई ओली पक्षका विष्णु पौडेलभन्दा बढी मत दिए भने सचिवमा नेपाल पक्षका गोकर्ण विष्ट पहिलो मात्र रहेनन्, महाधिवेसनकै सबैभन्दा बढी मत प्राप्त गर्ने नेता पनि बने । केही नेताहरु जो प्यानलगत अभ्यासमा चाहिनेभन्दा बढी नै लिप्त थिए, उनीहरुलाई मजैले हार पनि चखाइ दिए । पदमा रहदा कार्यकर्तालाई दोस्रो दर्जाको व्यवहार गर्ने नेतासँग पाइ पाइको हिसाव पनि गरे । अपवाद जहाँ पनि रहन्छन्, एमाले महाधिवेसनमा पनि रहे ।

जे होस्, नेपाली मूलधारका ठूला राजनीतिक दलमै सबैभन्दा बढी बहुपदीय अभ्यास, प्रष्टसँग छुट्टिने गरी प्यानलगत प्रतिस्पर्धा, मतदान र मतगणनाको म्याराथुन इनिंगलगायतका केही नयाँ कीर्तिमानका साथ एमाले महाधिवेसन सम्पन्न भएको छ । पराजितहरु त यसै पनि भूमिका खुम्च्याइएका प्राणी परे, उनीहरु स्वभावतः लगभग दृश्यबाहिर छन् । विजेताहरु भने आफ्नो दायित्व निर्वाह गर्ने क्रममा भूमिकाको खोजीमा छन् । त्यसमा पनि पार्टी अध्यक्ष ओलीको त परीक्षा नै सुरु भएको छ । उनको पहिलो परीक्षा भनेकै महाधिवेसनको म्यान्डेट अनुसार प्यानलको तुष मेटाउनु हो । त्यसका लागि उनले केही निर्मम निर्णयहरु गर्नुपर्छ जुन कार्यकर्ताको अभिमत पनि हो, महाधिवेसनको म्यान्डेट पनि हो । यस क्रममा उनको पहिलो चुनौति बनेको छ, बहुपद रहेका पदहरु जस्तै ः उपाध्यक्ष, उपमहासचिव र सचिवहरुको मर्यादाक्रम कसरी कायम गर्ने ? त्यसमा सबैभन्दा सजिलो र प्रजातान्त्रिक विधि भनेको महाधिवेसनमा हासिल गरेको मत नै हो । यसो गर्दा, उपाध्यक्षको मर्यादाक्रममा क्रमशः भीम रावल, वामदेव गौतम, विद्या भण्डारी, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहन्छन् । मतको हिसावले अगाडि रहेका रावल पार्टी जीवनमा अन्य उपाध्यक्षभन्दा सबैभन्दा कनिष्ठ हुन् । तर, मतले अगाडि रहेको अवस्थामा यसै त सुदूरपश्चिमको बलले पार्टीसँगै कतिपय कुरामा पौठेजोरी खेल्ने उनलाई बाइपास गर्न सजिलो छैन । महाधिवेसनमा नेपालका खास मान्छेका रुपमा पदाधिकारीमा पुग्ने पनि उनी एक्लो वृहस्पति हुन् । यस अर्थमा पनि उनलाई मर्यादाक्रममा पछि पारिए अर्को पक्षमाथि अन्याय गरेको दोष अध्यक्ष ओलीलाई लाग्छ । तर, ओलीलाई रावलका लागि त्यति प्रजातान्त्रिक र उदार बन्ने छुट देखिदैन । ४४ मतको हारजितमा किंगमेकर मानिएका वामदेव उपाध्यक्षको मतमा दोस्रो भए पनि पार्टीका अग्रज नेता हुन् । यसअघि उपाध्यक्ष रहिसकेका उनी रावलभन्दा पछिको मर्यादामा रहन मान्लान् जस्तो लाग्दैन । त्यसमा पनि वामदेवको आफ्नै खाले ठोकठाक चरित्र छ । शायद, यही हिसाव किताव गरेर आफ्नै उपस्थितिमा ओलीले आफ्ना खास मान्छे शंकर पोखरेल, डा. राजन भट्टराई र छविलाल विश्वकर्मालाई वामदेवमार्फत् केन्द्रीय सदस्यको सपथ ग्रहण गराएर मतले बरिष्ठता नहुने छनक दिसकेका छन् । यो आकस्मिकभन्दा पनि रणनीतिक थियो भनेर भन्नेहरु पनि कम छैनन् । ओलीको स्वास्थ्यलाई केन्द्रमा राख्दा पनि नम्बर १ उपाध्यक्ष को हुने भन्ने कुराले अहम् महत्व राख्छ ।

लोकतान्त्रिक कुरा गर्दा मतको हिसावले पछि परेका गौतमसँग वरिष्ठ हुने नैतिक धरातल छैन, त्यसैले उनी साम, दाम, दण्ड भेदको रणनीतिमा लाग्नेछन् । मर्यादाक्रममा आफू अघि पर्ने स्वार्थमा ओली हुन् या नेपाल दुबै खेमाका अरु उपाध्यक्षले पनि गौतमलाई यसमा सघाउन सक्छन् । तर, लोकप्रिय मतमा अघि रहेका र यही कारण नैतिक धरातल बनाएका रावलले त्यति सजिलै वरिष्ठ उपाध्यक्ष पद छोड्लान् भन्न सकिन्न । यो विवाद बढ्दै गए, केन्द्रीय समितिमा पुग्ने र त्यहाँको बहुमतको बलले वामदेव नम्बर १ उपाध्यक्ष भैछाड्ने स्थिति सिर्जना हुन सक्छ । यही प्रक्रिया उपमहासचिव र सचिवमा पनि अपनाउन सकिन्छ । यदि त्यसो गरियो भने एमालेमा विद्यमान दुईचिरे भड्खालो पुरिनेभन्दा पनि अरु बढी गहिरिने सम्भावना बढ्छ ।

यस्तै, पोलिट ब्युरो र स्थायी समितिमा को जान्ने भनेर पनि विवाद सिर्जना हुनसक्छ । यस क्रममा पदाधिकारीमा पराजित भएर पनि केन्द्रीय समितिमा विजयीहरुको फेस सेभिंग गर्ने उपायको खोजी हुन सक्छ । त्यसका लागि अध्यक्षमा पराजीत नेपाल, महासचिवमा पराजीत सुरेन्द्र पाण्डे, उपाध्यक्षमा पारजति प्रदीप नेपाल, राजेन्द्र पाण्डे, लालबाबु पण्डित, किरण गुरुंग, उपमहासचिवमा पराजीत रघुजी पन्त, शंकर पोखेल र सचिवमा पराजीत पर्शुराम मेघी गुरुंग, विष्णु रिमाल, वेदुराम भुसालमध्ये कतिपयलाई माथि उकाल्नुपर्ने बाध्यता आउन सक्छ । तर, महाधिवेसनको म्यान्डेट त्यस्तो छैन, उनीहरुलाई केन्द्रीय समितिमै बसेर पार्टीको सेवा गर्ने भन्ने देखिन्छ । तर, पदका लागि जे पनि गर्ने सोचबाट ग्रस्त यी नेताहरुले फेरि पनि माथिल्लो पदमा पुग्ने लालसा नपाल्लान् भन्न सकिन्न । राम्रो लोकतान्त्रिक अभ्यास त के हुन्थ्यो भने नेपाललगायतका पदाधिकारीमा पराजीत यी नेताहरु केन्द्रीय समितिमै बसेर आफ्नो भूमिका निर्वाह गर्ने र केन्द्रीय समितिको गरिमा बढाउँदै आफ्नो छविलाई पनि लोकतान्त्रिक बनाउने । तर,अहिलेले नै एमालेका यी नेताहरुबाट त्यति धेरै लोकतान्त्रिक व्यवहारको अपेक्षा गरिनु शायदै युक्तिसंगत होला । गरे त राम्रो हुने हो, आगे उनीहरु नै जानुन् ।